तौल घटाउन दाल/पनिर मिसाएर खानु उत्तम


काठमाडौं । जानी नजानी मानिस स्वास्थ्यप्रति सचेत हुन्छन् । सचेत बन्दाबन्दै कतिपय अवस्थामा भ्रमको सिकार बन्नुपर्छ । स्वास्थ्यसँग जोडिएका केही भ्रमको मिथक तथा तथ्य यस्ता छन् ।

मिथक : गर्भवती महिलाका लागि मेवा खानु हानिकारक हुन्छ ।

वास्तविकता : मेवाले गर्भपतन हुन्छ भनेर गर्भवती महिलालाई मेवा नखान सल्लाह दिइन्छ । काँचो मेवामा पाइने तत्वले गर्भाशय खुम्चन सक्छ । तर, पाकेको मेवामा भिटामिन तथा मिनरल्सको मात्रा पर्याप्त हुन्छ, जसले छाती पोल्ने समस्या तथा कब्जियत हुनबाट रोक्छ । त्यसो त गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मेवालाई आफ्नो डाइटमा समावेश गर्न सक्छन् ।

मिथक : खानापछि फल खानु राम्रो हुन्छ ।

वास्तविकता : खानापछि फल खाए डाइजेसन, ग्यास तथा एसिडिटीको समस्या हुन सक्छ । त्यसैले हेभी खाना खाएको कम्तीमा पनि एक घन्टापछि मात्र फल खानु बेस हुन्छ ।

मिथक : बोसोरहित खानामा जिरो क्यालोरी हुन्छ ।

वास्तविकता : बजारमा पाइने प्याक्ड खानामा फ्याट फ्रि लेखे पनि यसमा जिरो क्यालोरी भने हुँदैन । यसमा कम्तीमा पनि तीन ग्राम फ्याट हुन्छ । फ्याट फ्रि लेबल ग्राहकलाई आकर्षित गर्न लगाइएको हुन्छ । त्यसैले फ्याट फ्रि र जिरो क्यालोरीको लेबल लगाएको खाद्य पदार्थलाई संरक्षण गर्नका लागि ट्रान्स फ्याट प्रयोग गर्नुपर्छ । यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मिथक : मुटुका लागि टोम्याटो केचप फाइदाजनक हुन्छ ।

वास्तविकता : गोलभेडामा भएको लाइकोपनले मुटु रोगको खतरा कम गर्छ । घरमै बनाएको केचप मुटुका लागि लाभदायी भए पनि बजारमा बनाएको केचपमा सोडियम तथा चिनीको मात्रा धेरै हुन्छ, जसले मुटुमा नोक्सान पुर्याउन सक्छ ।

मिथक : बदाम, ओखर, काजु, पेस्ता तथा किसमिसले मोटोपन बढाउँछ ।

वास्तविकता : यस्ता खानामा राम्रो गुणस्तरको चिल्लो हुन्छ । यो स्वास्थ्यका लागि जरुरी हुन्छ तर यसको सेवन आवश्यकताभन्दा बढी गरे तौल बढ्छ । किनभने यिनमा प्रतिग्राम सुगर क्यालोरी तथा कार्बोहाइड्रेडको मात्रा धेरै हुन्छ । त्यसैले फिट तथा स्वस्थ रहनका लागि खानामा नियमित तर थोरै–थोरै ड्राइफ्रुट्स समावेश गर्नुपर्छ ।

मिथक : दाल तथा पनिर सँगै खाएमा मोटोपन बढ्छ ।

वास्तविकता : दाल तथा पनिर प्रोटिनको राम्रो स्रोत हुन् । यसले मांसपेशी बलियो बनाउनुका साथै तौल घटाउन पनि सहयोग पुर्याउँछ । विशेषज्ञका अनुसार तौल घटाउनका लागि २५ प्रतिशत क्यालोरी प्रोटिनको स्रोत मिल्नु जरुरी हुन्छ । यसका लागि दाल तथा पनिर मिसाएर खानु उत्तम हुन्छ ।

मिथक : अंगुर, कागती तथा सुन्तला खाए शल्यक्रियाको घाउ छिटो निको हुँदैन ।

वास्तविकता : अमिलो फलमा पाइने भिटामिन ‘सी’ ले टाँका छिटो सुकाउन मद्दत गर्छ । तर, सोडा, केरा आदिमा पाइने कार्बोनिक एसिडले टाँका कमजोर बनाउने भएकाले घाउ ठीक हुन समय लाग्छ । त्यसो त सर्जरी, खासगरी नाक, कान, घाँटीको सर्जरीको तुरुन्तै पछि अमिलो फल नखानु बेस हुन्छ ।

मिथक : रातमा नरिवल पानी पिए एसिडिटी हुन्छ ।

वास्तविकता : नरिवल पानीले शरीरलाई शीतल बनाउँछ । साथै एसिडिटी तथा छाती पोलेमा पनि नरिवल पानी पिउने सल्लाह दिइन्छ । यसले पेटको पीएच ब्यालेन्स बनाइराख्छ । नरिवल पानीले डिहाइड्रेसनबाट बचाउनुका साथै पाचनमा पनि मद्दत गर्छ ।

मिथक : चक्लेट खाएमा एक्नेको समस्या हुन्छ ।

वास्तविकता : कुनै पनि कुरा आवश्यकताभन्दा धेरै खानु फाइदाजनक हुँदैन । यसैगरी, चक्लेट पनि धेरै खाए एक्नेको समस्या हुन सक्छ तर थोरै मात्रामा चक्लेट खाँदा भने खासै फरक पर्दैन ।

मिथक : कार्बोहाइड्रेड खराब हुन्छ ।

वास्तविकता : शरीरमा ऊर्जाका लागि ग्लुकोजको आवश्यकता पर्छ । ग्लुको कम्प्लेक्स कार्बोहाइड्रेड, ब्राउन राइस तथा कार्बोहाइड्रेडयुक्त खानेकुराले शरीरमा ऊर्जा कायम राख्छ । तौल कम गर्न ह्वाइट ब्रेड, चिनी, मैदा, भात आदि हाइली रिफाइन्ड कार्बोहाइड्रेड खानुहुँदैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार