एउटै परिवारका ६ बहिनी सरकारी जागिरे

विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ  छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् ।  पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् ।

भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा दिएनन् । ‘छोरीहरूले देशसेवा गरिरहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने चाहन्थेँ,’ विदुर भन्छन् । उनले सोचेजस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै हुन् । एक जना प्राइभेट बैंकमा कार्यरत छन् । घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा छलफल हुन्छ । चाडबाडमा छोरीज्वाइँ घरमा आउँछन् ।

सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ । बिदामा घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छ । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् ।

छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँटिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छ । छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् । ‘एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा गर्व लाग्छ,’ भट्टराई दम्पती भन्छ । विदुरको चाहना छ, छोरीज्वाइँले आफ्नो कामको दायित्वअनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून् । कुनै आर्थिक प्रलोभनमा नपरी देशको सेवा गरून् । उनी भन्छन्, ‘सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलोभनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटोछरितो सेवा दिऊन् मेरो इच्छा यति नै हो ।’

सरकारी जागिरे छोरीहरू

विष्णुकुमारी भट्टराई (जेठी)

प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक

उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन् । उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सुरु भएको हो । अहिले उनी नयाँ संरचनाअनुसार बनेको नगरपालिका प्रमुख बनेकी छिन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल यातायात व्यवस्था विभाग, काठमाडौँका निर्देशक हुन् ।

उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा प्रमुख बनेर काम सम्हालिसकेकी छिन् ।

विन्दा आचार्य (माइली)

उपसचिव, पर्यटन मन्त्रालय

२०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम सुरु गरेकी थिइन्, विन्दाले । उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य रक्षा मन्त्रालयमा उपसचिवमा कार्यरत छन् ।

रमा भट्टराई (साइँली) :

उपसचिव, वैदेशिक रोजगार विभाग

खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले । उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी उनी अहिले वैदेशिक रोजगार विभागमा कार्यरत छिन् । उनका श्रीमान् कोषहरि निरौला गृह मन्त्रालयमा उपसचिव रहेका छन् ।

रेनु भट्टराई (काइँली)

शाखा अधिकृत, करदाता सेवा कार्यालय

रेनुले सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवबाट जागिर सुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी करदाता सेवा कार्यालय न्यूरोडमा कर अधिकृतको रूपमा कार्यरत छन् । उनका श्रीमान् चिरञ्जीवी तिम्सिना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपसचिव छन् ।

अनु भट्टराई (राइँली)

लेखा, नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्समा अकाउन्टेन्ट पदमा कार्यरत छिन्, अनु । दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदीबहिनीको प्रेरणाले एक वर्षअघि सरकारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।

जुनु भट्टराई (कान्छी):

सुब्बा, सामान्य प्रशासन मन्त्रालय

सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छिन्, जुनु । उनका श्रीमान् मिलन कार्की राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत छन् ।

परिवारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार