साइकलमा तरकारी बेच्ने ६९ वर्षीया आमै

 विमल खतिवडा
साइकल सहरको उपाधि पाएको चितवनलाई अहिले त्यो साख जोगाउनै मुस्किल परेको छ, सहरी क्षेत्रमा ठूला सवारी साधनको चापले गर्दा । यद्यपि, भित्री गाउँहरुमा भने अटुट साधनका रुपमा साइकल नै प्रयोग भइरहेको छ । गाउँघरको मुख्य साधन साइकल नै हो । नेपाल साप्ताहिकले दसैँ अंकमा साइकलसँग मानव जीवनको सम्बन्धबारे सामग्री तयार गर्ने भएछ । यसमा चितवन अछूतो रहने कुरै भएन । यही मौका छोपेर चितवनका सहरसँगै भित्री गाउँ घुमियो ।कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले साउन महिनातिर एक वृद्ध आमाले साइकलमा तरकारी बोकेर घरघर पुगेको फोटो फेसबुकमा राखेका थिए । मैले त्यो फोटोलाई आफ्नो मोबाइलमा ‘सेभ’ गरेको थिएँ । ताकि, ती आमालाई भेटेर स्टोरी गरौँ । उनको ठेगाना पत्ता लगाउन निकै सकस पर्‍यो । निकै खोजेँ । उनले तरकारी बिक्री गर्ने पसल–होटल चहारेँ । उनको घर पत्ता लगाउन दुई दिन लाग्यो ।

उनी रहिछन्, भरतपुर महानगरपालिका–१० की ललिता सापकोटा, ६९ । घर पुग्दा उनी भर्खर तरकारी बेचेर फर्किएकी थिइन् । उनले पटक–पटक साइकलको वर्णन गरिन् । अचम्मको कुरा, उनलाई साइकल चलाउनै आउँदो रहेनछ । डोर्‍याउन सिक्न मात्र दुई दिन लागेछ । “पहिला थाप्लोमै बोकेर बिक्री गर्न लैजान्थें, टाउकाले निकै सास्ती खेपेको थियो,” उनले भनिन्, “अहिले यही साइकलको भरमा बाँचेकी छु ।”

हुन पनि उनी बिहान ४ बज्न नपाउँदै उठ्छिन् । नुहाइधुवाइ गरेर पूजापाठ सक्छिन् । त्यसपछि साइकलमा सानो डोको अड्याएर उनी नारायणगढको मण्डीबाट तरकारी उठाएर भरतपुरका होटल र घर चाहर्छिन् । यही उनको दैनिकी हो ।

उनीसँग दुई घन्टा गफिने मौका मिल्यो । भोलिपल्ट तरकारी बिक्री गरिरहेको उनको फोटो खिच्नु थियो । त्यसका लागि हाकिमचोकमा बोलाइन् । मैले फोटो खिचेँ । आमाको मिहिनेत देखेर मलाई पनि तरकारी किनेर सहयोग गर्न मन लाग्यो । निगुरो समातेँ । तर, पैसा दिन खोज्दा उनले लिन मानिनन् । उल्टै ‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’ भन्दै कड्किन थालिन् ।‘

तपार्इं मेरो छोरोजस्तो, आमाले दिएको तरकारी सम्झेर खानू’ भन्दै उनी हातमा निगुरो थम्याएर साइकल डोर्‍याएर अघि बढिन् । मन भारी भयो । ५० रुपियाँको निगुरो हातमा थम्याइदिँदा एक हजार रूपियाँ नै राखिदिएजस्तो भयो ।

नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार