मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मानिसपिच्छे चाहना फरक–फरक हुन्छ । कसैको चाहना ‘कलरफुल’ हुन्छ भने कतिपयको ‘ब्ल्याक एन्ड ह्वाइट’ नै भए पनि राष्ट्रहितसँग जोडिएको हुन्छ । ‘नेपाल आफ्ना नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क दिन सक्ने देश बनोस्’ भन्ने चाहना राख्ने पत्रकार मोहन मैनाली कति राष्ट्रवादी हुन् ? तपाईंले नै खुट्याउनुहोला । ‘तर, नेपाललाई यस्तो बनाउन केही काम गर्ने जाँगरचाहिँ छैन, बोल्न र लेख्नबाहेक,’ पत्रकार मैनाली प्रस्ट्याउँछन्, ‘आफू यही लेखपढ गर्ने पेसामा आफ्नैस्तरको हुने कोसिस गर्दै छु । यसका लागि आफूले गरेको जुनसुकै काम पनि नठगीकन गर्न खोज्छु । आफूले सकेसम्म राम्रो बनाउने कोसिस गर्छु ।’

आजसम्म बसाइँ सरेर विदेश जान्छु भन्ने लागेको छैन । अहिले त ‘बेलायतको राजा बनाइदिन्छु, जान्छस् ?’ भनेर कसैले सोध्यो भने पनि ‘तैं जा, म जान्नँ’ भनिदिन्छु भन्ने पत्रकार मोहन मैनालीसँग दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

मेरो खाना
दालभात मलाई सबैभन्दा बढी मन पर्ने खाना हो । यहाँ दाल भन्नाले मासको कालो वा पहेँलो दालमात्र हो । रहर, मुङ र मुसुरोलाई म दाल मान्दिनँ । ती त दाल पचाउन नसक्नेगरी बिरामी भएका बेला खाने औषधि हुन् । दालभातका साथमा साग अनि एक चम्चा भए पनि दही भए काइदा हुन्छ ।

खाइनसक्नु नमीठो भएमात्रै, नभए मलाई खानेकुरा नमीठो भएजस्तो लाग्दैन । उसो त खानेकुरा मीठो भएको मलाई उति राम्रो लाग्दैन । किनभने मीठो भएपछि खानेकुरा धेरै खाइन्छ, नचाहिनेगरी मोटाइन्छ । म मीठोभन्दा पनि पौष्टिक खानेकुरा रुचाउँछु । स्न्याक्समा आलुको जुन परिकार पनि मलाई मीठो लाग्छ ।

पहिले मलाई दूध नहालेको चिया चियाजस्तो लाग्दैनथ्यो । हिजोआज दूध हालेको चिया हेर्न मन लाग्दैन । चियाका मामलामा म अलि सौखिन छु । दूध नहालेको, पानी उम्लिइसकेपछि लेकाली चिया हालेर छोपेर पकाएको, हल्का रातो रङ आएको, बास्नादार चिया सिसाको पारदर्शी कपमा हालेर खान मन पर्छ । यस्तो चियाले कानबाहेक अरू सबै इन्द्रिय (आँखा, नाक, जिब्रो र ओठको छाला) लाई उत्साहित बनाउँछ । यी इन्द्रिय उत्साहित भएपछि दिमाग यसै फुरुङ्ग पर्छ । तर, चियालाई अम्मल बनाएको छैन । कहिलेकाहीँ तीन/चार दिनसम्म चिया खान्नँ ।

पहिले मलाई कसैले चिया खान्छस् कि कफी भनेर सोध्यो भने किन सोधेको होला, जे दिए पनि भइगयो नि भन्ने लाग्थ्यो । हिजोआज कफी खाने कि कुटाइ खाने भनेर एउटा रोज्नैपर्ने अवस्था आएमा बरु कुटाइ रोजौँला, कफी रोज्दिनँ ।
सात/आठ पुस्तादेखि माछा–मासु नखाएकाले तिनको कुरा गर्न सक्दिनँ ।

धेरै मानिस कोदो, फापर, मकैको ढिँडो मीठो लाग्छ भन्छन् । स्वाद चाख्ने रहरले, वर्षमा एक/दुई छाक, दूध, दही, सागसब्जीसाथमा ठाँटसँगले खाँदा त यी मीठा परिकार होलान् । तर अरू केही नभएर, बिहान बेलुकै, सागसब्जीविना खानुपर्दा भने यी जति नमीठा खानेकुरा केही हुँदैनन् ।

खानका लागि रेष्टुरेन्ट जाने रहर छैन । घर छाडेका बेला केही दिन रेष्टुरेन्टमा खानुपर्दा मलाई वाक्क लाग्छ । खाना पकाउँछु तर रुचिले होइन, बाध्य हुँदामात्र । रुचि नभईकन गरेको कुनै पनि काम गतिलो हुँदैन । मैले कुशलतापूर्वक पकाउन जानेको एउटै मात्र चिज छ । त्यो हो– पानी ।

मेरो पोसाक

म सर्टप्यान्ट लगाउँछु । दौरासुरुवाल अरूले लगाएको देख्दा त राम्रै लाग्छ (त्यसमाथि पशुपतिशमशेरले जस्तो पेटी बाँधेको अझ राम्रो) । सुरुवाल सजिलो र देख्दा पनि राम्रो लुगा हो भन्ने लाग्छ । तर, २०४६ सालयता दौरासुरुवाल लगाएको छैन ।
लुगा जति पुरानो भयो त्यति राम्रो लाग्छ मलाई । नफाटुन्जेल लुगा फाल्दिनँ । त्यसैले लुगामा धेरै खर्च हुँदैन । मलाई हल्का रङका सर्ट अनि काला, खैरा प्यान्ट मन पर्छन् । रातो उति मन पर्दैन ।

आफ्नै नापजाँचमा सिलाएका लुगाबाट म पीडित छु । कहिले सर्टको बाहुलाको टाँक लगाउन मिल्दैन, कहिले टाँक चाँडै खुस्किन्छ । कहिले प्यान्टको खल्तीमा हात हाल्न खोज्दा जिउ तन्काएर पछाडि लैजानुपर्छ । सिलाइ चाँडै उध्रिने समस्या त जहिले पनि हुन्छ । त्यसैले म हिजोआज रेडिमेड कपडा किन्छु । कुनै पनि ब्रान्डको भक्त हुइनँ । मैले लगाउने लुगा बर्खामा जिउ नपोल्ने, नकोर्ने र हिउँदमा जाडो छेक्ने भने हुनुपर्छ ।

–हिँड्दा मेरा हरेक पाइला नयाँ ठाउँमा पर्नुपर्छ

–मलाई ढाकाटोपी लालबाबु पण्डितलाई जति पनि सुहाउँदैन

–घुमेमध्येको राम्रो ठाउँ त नेपालै लाग्यो

–पढ्न एक्लै रमाइलो, फिल्म हेर्दा समूहमा

–त्यस दिनदेखि मैले सुर्ती खाने पेसा छाडिदिएँ

पूर्वउपराष्ट्रपति परमानन्द झालाई जत्तिको ढाकाटोपी मलाई सुहाउने भए म सुत्दा पनि ढाकाटोपी लगाउने थिएँ । तर, मलाई ढाकाटोपी लालबाबु पण्डितलाई जति पनि सुहाउँदैन । तैपनि केही वर्षयता कात्तिकदेखि चैतसम्म ढाकाटोपी लगाउन थालेको छु । राष्ट्रियता जोगाउन होइन टाउकोलाई काठमाडौँको चिसोबाट जोगाउन ।

मेरो फिटनेस

मर्निङवाक गर्ने मेरो तरिका अरूको भन्दा फरक छ । मर्निङवाक नगरी हुँदैन भन्ने मलाई लाग्छ । त्यसैले बिहान ६ बजेतिर व्युँझिएपछि म मर्निङवाकमा जान तयार हुन्छु र सिरकले मुख छोपेर सुत्छु । एक घन्टाजति पछि व्युँझेपछि सोच्छु– एक घन्टाभन्दा धेरै मर्निङवाक गर्नुहुँदैन । त्यसपछि उठ्छु ।

यो मर्निङवाक गर्ने झुर तरिका हो भन्ने मलाई थाहा छ । तर पनि अर्काे तरिकाले मर्निङवाक गर्ने जाँगर मसँग छैन । ढाड दुख्ने रोग कम गर्न डाक्टरले केही अभ्यास दिएका छन् । ती पनि पो गर्न धेरैजसो बिर्सन्छु, अल्छी गर्छु ।

योगा गर्दिनँ । मेरा विचारमा ट्रेडमिल त्यस्तो यन्त्र हो, जहाँ जति हिँडे पनि कहीँ पनि पुगिँदैन । मेरो देशको, मेरो समाजको अग्रगमनतर्फको हिँडाइजस्तो । मेरो एउटा नियम छ– म हिँड्दा मेरा हरेक पाइला नयाँ ठाउँमा पर्नुपर्छ । त्यसैले ट्रेडमिल राखेर त्यसमा दौडने रहर छैन ।

मेरो यो बानीले मलाई हानि गर्छ भन्ने कुरा भलिभाँती थाहा छ । तर, मैले यो बानी फेर्न सकेको छैन । मेरो यस्तो बानी देखेर मलाई बेला–बेलामा लाग्छ– मानिस बुद्धिमान प्राणी होइन किनभने ऊ कुनै काम गर्दा/नगर्दा आफूलाई हानि हुन्छ भन्ने जान्दाजान्दै पनि त्यस्ता काम गरी/नगरिरहन्छ । मेरा दिमागमा यस्तो विचार आएका बेला म आफैँलाई सम्झाउँछु– मजस्ता मानिस संसारमा थोरैमात्र छन् । तिनका नराम्रा बानीका आधारमा मानिसलाई अबुद्धिमान प्राणी भन्न मिल्दैन ।
अल्छी दिमाग आविष्कारको मुहान हो भन्ने कुरामा म पूर्ण विश्वास गर्छु । शरीर तन्दुरुस्त राख्ने नयाँ र सजिला उपायसम्बन्धमा पनि यो कुरा लागू हुन्छ । मजस्तै कोही अल्छीले मजस्ता अल्छीका शरीरमा अनावश्यक रूपमा बोसो नलागोस् भन्नका लागि सजिलो व्यायाम आविष्कार गरेछ । अरू धेरै अल्छी हुँदै यो व्यायाम म अल्छीसम्म आइपुगेको छ । त्यो हो– टाउकोलाई दुई/तीनपटक दायाँ–बायाँ (अघि–पछि होइन है) हल्लाउने । यो व्यायाम सधैँभरि गर्नु पर्दैन । कसैले केही कुरा खान्छस् भनेर सोधेका बेलामा मात्र गरे पुग्छ । म यो व्यायाम भने अलि बाक्लै गर्छु ।

मेरो अध्ययन

म कथानक र गैरकथानक दुवैखालका पुस्तक पढ्छु । कुनै पुस्तक मानिसको कल्पनाशीलता र सुन्दर प्रस्तुतिका लागि पढ्छु । कुनै पुस्तक जानकारी पाउनका लागि पढ्छु । जानकारी पाइने पुस्तक प्रस्तुतिका दृष्टिले उति गतिला भएनन् भने पनि मलाई ठिकै लाग्छ । तिनले मेरो ज्ञानमा केही न केही कुरा थपिदिन्छन् । त्यस्तो ज्ञानले मेरो पेसामा मलाई सहयोग गर्छ ।
म एउटै किताबमा संसारका सबै कुरा पाउनुपर्छ भन्दिनँ । एउटै विषयका पनि सबै पक्ष हुनुपर्छ भन्दिनँ । लेखनमा पालना गर्नुपर्ने न्यूनतम रित पुर्याएर लेख्ने सबै लेखक मन पर्छन् । कविता नभएका कुरालाई कविता भनी लेख्ने, निबन्ध नभएका कुरालाई निबन्ध भनी दाबी गर्ने र किताबका छेकछन्द नभएका कुरा छापेर किताब लेखेँ भन्ने लेखकचाहिँ मन पर्दैनन् ।
आफ्नो रुचि भएका जति धेरै विषयमा जति धेरै बुझ्न सक्यो त्यति राम्रो हुन्छजस्तो लाग्छ । त्यसैले मलाई थरीथरीका विषयका पुस्तक पढ्न मन लाग्छ । मैले भर्खरै वनस्पति विभागले निकालेको ‘उन्यूँ र यसका नातागोता’ भन्ने किताब पढेँ । यो किताब पढेपछि मैले देखिरहेका उन्यूँ, पानी अमला र निगुरोजस्ता वनस्पति र मानिससँग तिनको सम्बन्धबारे केही कुरा थाहा पाएँ । यिनका बारेमा केही प्रश्न सोध्न सक्ने भएँ ।

दुई/तीन महिनाअघि प्रकाश र पर्वतबारे बुझ्न मन लागेर ती विषयका किताब किनेको थिएँ । तीमध्ये प्रकाशबारेको किताबलाई बढी महत्वपूर्ण ठानेको थिएँ । त्यो किताब बुझिनँ । पर्वतसम्बन्धी किताबले भने धेरै कुरा बतायो ।
अहिले गणेशमान सिंहको आत्मकथा भाग १ देखि ३ दोहोर्याएर पढ्दै छु । पहिले पढ्दा त्यसमा भएका नेपालको राजनीतिक आन्दोलनसम्बन्धी जानकारीमा ध्यान दिएको रहेछु । यसपालि नेपाली समाजसम्बन्धी जानकारीमा ध्यान दिँदै छु ।
केही पहिले ज्योति थापा र मणिले गोर्खाली सैनिकबारे लेखेको द खुकुरी ब्रेभ्स पढ्न मन लागेको थियो तर महँगो (भारु २,७९५) रहेछ भनेको थिएँ । मेरा साथी जितेन्द्र जिसीले त्यो किताब दिनुभयो । अहिले त्यो पनि पढ्दै छु ।

मुन्धुमसम्बन्धी केही पुस्तक फेलापारेको छु । ती पढ्दै छु । यस विषयमा बैरागी काइँला र अरूका सबै पुस्तक खोज्दै छु । यसक्रममा पनि एउटा ज्ञान पाएको छु– यस्ता पुस्तक फेलापार्न निकै मिहिनेत गर्नुपर्ने रहेछ । यस्ता पुस्तक पाउन पाठकले आफू यसको गम्भीर पाठक हुँ भनी परीक्षामा उत्तीर्ण हुनुपर्ने रहेछ ।

अहिले मैले पढ्न चाहेका पुस्तकको सूची बनाइरहेको छु । बिब्लियोग्राफी र मदन पुरस्कार पुस्तकालयको पुस्तक सूचीका आधारमा । यसरी छानेका पुस्तक सबै गम्भीरतापूर्वक पढ्नका लागि भने होइन । पुस्तक खाज्नेक्रममा अनौठो नामको पुस्तक भेटेँ । अराष्ट्रिय तत्व मास्ने कविता या यस्तै केही नामको । यो पुस्तक पढ्नुपर्छ कि पर्दैन थाहा छैन तर हेर्नुचाहिँ पर्छ भनेर सूचीमा राखेको छु ।

आफूलाई रुचि लाग्ने पुस्तक बजारमा पाइने रहेछन् भने किनेर पढ्छु । यसो गर्दा १,२०० जति पुस्तक भेला भएका छन् । वर्षमा २०/३० हजारजतिका किताब किन्छु होला ।

तमर नदी सप्तकोसीमा मिसिएको ठाउँ त्रिवेणीदेखि त्यसको सिरानको बस्ती घुन्सासम्म पटक–पटक हिँडेको थिएँ । कहिले किनारैकिनार । कहिले तमरको पानी ढलोको पश्चिम पाखोबाट, कहिले पूर्वी पाखोबाट । कहिले जीवनयापन गर्नेक्रममा । कहिले अध्ययन गर्नेक्रममा । यसबारे लेख्न कोसिस गर्दै छु । तर, मेलो सरेको छैन ।

मेरो घुमफिर

सबै प्राणी घुमफिर गर्न रुचाउँछन् । म पनि रुचाउँछु । नेपालका ६८ जिल्ला घुमेको छु । घुम्न बाँकी जिल्ला मैले घुमिसकेका जिल्लाभन्दा नामबाहेक अरू कुरामा फरक नहोलान् भन्ने ठानेको छु । एसिया, युरोप र अमेरिकाका १५ देश घुमेछु । घुमेमध्येको राम्रो ठाउँ त नेपालै लाग्यो । अफ्रिका पुग्न पाए आफूले अहिलेसम्म नदेखेको कुरा देख्न पाउँथे भन्ने लाग्छ ।

मेरो फुर्सद

आफूले चाह्यो भने निस्कने, चाहेन भने ननिस्कने कुरा रहेछ फुर्सद । ढंग पुर्यायो भने निस्कने, पुर्याएन भने ननिस्कने रहेछ फुर्सद । आफ्नो कामबाट कहिलेकाहीँ फुर्सद निकाल्न कोसिस त गर्छु तर ढंग पुग्दैन । फुर्सदमा घरपरिवारसँग बस्ने, कहिलेकाहीँ घुम्न जाने गर्छु । समय र रुचि मिलेमा परिवारसँग चलचित्र/नाटक हेर्न जान्छु । कहिलेकाहीँ पारिवारिक भेटघाट पनि गर्छु ।

मेरो खेलकुद

फुटबल मलाई मन पर्ने खेल हो । गल्फ मन नपर्ने खेल हो । यो खेल खेल्नेलाई त अल्छी नलाग्ला तर मलाई हेर्न भने अल्छी लाग्छ । उहिले स्कुलमा हुँदा कहिलेकाहीँ फुटबल, भलिबल खेल्ने रहर गरेँ । कुनै खेल, कुनै टिम र कुनै खेलाडीप्रति भक्तिभाव छैन ।

मेरो मोबाइल

पहिले नोकियाको फोन चलाउँथेँ । अहिले सामसुङको चलाउँछु । ३२ हजार परेको थियो । फोन, कम्प्युटरजस्ता कुरा मलाई बारम्बार फेर्न मन लाग्दैन । काम गर्दिनँ नभनुन्जेल म तिनलाई चलाइरहन्छु । काम दिँदादिँदैको मोबाइल, कम्प्युटर फेर्नु बेकारमा पैसा फाल्नु हो । यी साधन फेरिरहँदा नयाँ सामानमा अभ्यस्त हुन र आफूलाई चाहिने एप्लिकेसन राख्न बेकारमा समय खर्च गर्नुपर्छ ।

मोबाइलमा फेसबुक, ट्वीटर चलाउँछु । समाचार, लेख पढ्छु । कहिलेकाहीँ त पुस्तक पनि पढ्छु । मोबाइलमा गेमसेम खेल्ने जाँगर र लत दुवै छैनन् ।

मेरो टेलिभिजन

मैले धेरै समय टेलिभिजनका सामग्री भिडियो म्यागजिन र डकुमेन्ट्री बनाएँ । यस हिसाबले टेलिभिजन मेरो पेसा हो । पेसागत काम सकेसम्म घरमा ल्याउन उति मन लाग्दैन । त्यसमाथि केही वर्षयता बिजुलीले गर्दा आफूलाई मन लागेका बेलामा टेलिभिजन हेर्न अप्ठ्यारो परेको छ । त्यसैले, धेरै अघि किनेको सोनीको २० इन्चको टीभीले काम चलाइरहेको छु । कहिलेकाहीँ समाचार हेर्छु, तिनमा मानिस चिच्याएको देखेपछि बन्द गर्छु । मेरा विचारमा अहिलेजस्ता टेलिसिरियल बनिरहेका छन्, त्यो टेलिभिजन प्रविधिको दुरुपयोग हो । एकाध अपवादलाई छाडेर सबैजसो ‘टक सो’ चलाउने मान्छेलाई के कुरा, कसरी सोध्ने भन्ने थाहा छैन, भन्नेलाई के भन्दै छु भन्ने थाहा हुँदैन । एउटा मान्छे सातै दिन कुनै न कुनै टेलिभिजनमा बोलिरहेको हुन्छ । उसको के कुरा सुन्न बाँकी हुन्छ र म ‘टक सो’ आएका बेला टेलिभिजन सेटको अगाडि बस्नु ?

मेरो चलचित्र

मैले सबैभन्दा पछि हेरेको चलचित्र ‘कालो पोथी’ हो । पहिले, २०५८ सालमा संकटकाल लाग्नुअघि म साथीहरूसँग मिलेर फिल्म बाक्लै हेर्थें । फिल्म रिलिज भएको पहिलो दिन, पहिलो सो । त्यसपछि त्यो बानी छुट्यो ।

मलाई फिल्म हलबाहेक अन्यत्र बसेर फिल्म हेर्नुहुन्छ भन्ने लाग्दैन । ठूलो पर्दामा हेरेको फिल्म पो फिल्म । फिल्म भनेको हेर्नेमात्र होइन, सुन्ने माध्यम पनि हो । त्यसैले राम्रो साउन्ड सिष्टम भएको हलमा हेर्दामात्र फिल्मको पूरा मज्जा लिन पाइन्छ । पढ्न एक्लै रमाइलो, फिल्म समूहमा हेर्न रमाइलो ।

मेरो रोग

१६/१७ वर्ष पहिलेदेखि ढाड दुख्ने समस्याले सताएको छ । दुई वर्षमा एकपटकजस्तो हलचल गर्न नसक्ने बनाउँछ दुई÷तीन हप्ता । त्यसपछि लामो समयसम्म मन फुकाएर हिँड्न मिल्दैन । उच्च रक्तचाप त्योभन्दा अलि कान्छो हो ।
एकपटक शरीरका धेरै पार्टपुर्जा जँचाएको थिएँ । बाँकी त ठिकै छन् भनेका थिए जाँच्नेले ।

मेरो भाषणशैली

मैले भाषण धेरै गर्नु पर्दैन । परिआएका बेलामा गर्छु पनि । मैले भाषण गर्दा अरूलाई गाली गर्नु पर्दैन । आफूलाई लागेका कुरा बताउने हो ।

कुनै बेला अंग्रेजी सिक्ने रहर लागेर अमेरिकन ल्याङग्वेज इन्स्टिच्युटमा ‘पब्लिक स्पिकिङ कोर्स’ लिन गएको थिएँ । त्यो भाषण कसरी गर्ने भनेर सिकाउने कक्षा रहेछ । त्यस कक्षामा बिताएका दुई महिनामा मैले भाषण गर्ने कलाका सैद्धान्तिक र केही व्यावहारिक ज्ञान पाएँ । अरू काम गर्दा जस्तै भाषण गर्दा पनि तयारी गर्नुपर्ने रहेछ । यसो गर्दा थोरै समयमा पनि धेरै कुरा भन्न सकिने रहेछ । आफ्ना कुरालाई हल्का नबनाईकन रोचक पार्न सकिने रहेछ । अहिले आक्कलझुक्कल भाषण गर्नुपर्दा त्यहाँ सिकेका सीप उपयोग गर्छु ।

मेरो मापसे

मादक पदार्थ अहिलेसम्म खाएको छैन । बेलामौकामा अरूलाई खुवाउनु बेग्लै कुरा हो । खुवाउँदा खानेको स्वास्थ्यको ख्याल राख्नुपर्छ । त्यसैले गतिलै खुवाउने गर्छु ।

मेरो संगीत

काम गर्दा मिल्ने रहेछ भने संगीत सुन्छु । अलि अस्ति भेडेटारबाट विराटनगर आउँदा गाडीमा ड्राइभरले फाल्गुणी पाठकको ‘मेरी चुनर उड–उड जाए’ भन्ने गीत लगाए । त्यसैबेला एकजना साथीको फोन आयो । मैले उनको फोन उठाइनँ । पछि फोन गरेँ । अघि फोन किन नउठाएको भनेर साथीले स्पष्टीकरण मागे । मैले जे भएको थियो सो भनिदिएँ । उनी मरीमरी हाँसे ।
सबै गायकका सबै गीत मन पर्दैनन् । तर, राम्रा गीत गाउने सबै गायक मन पर्छन् । गीतसम्बन्धी एउटा रहर छ : गीतको राम्रो संग्रह बनाउने जसमा नेपाली, अंग्रेजी, हिन्दी र उर्दूका उत्कृष्ट शास्त्रीय संगीत होऊन्, उत्कृष्ट आधुनिक गीत होऊन्, उत्कृष्ट गजल होऊन्, उत्कृष्ट लोकगीत होऊन्, उत्कृष्ट भजन होऊन् । मलाई उत्कृष्ट लागेका मात्र होइन, पारखीलाई पनि उत्कृष्ट लागेका । र, बेलाबेलामा यो संग्रह सुनौँ ।

म झापा बसेका बेलामा मेरा घरमा दुई सेट वाद्यसामग्री थिए । म सचिव भएको अध्यक्षविनाको सांस्कृतिक क्लबका । तीमध्ये केही बाजा बजाएजस्तो गर्थें । तर, गाउन भने कहिल्यै गाइनँ । ट्वाइलेटमा गीत गाउने उमेरमा, म झापामा बस्दा घरमा ट्वाइलेट थिएन । ट्वाइलेटमा गर्ने काम गर्न जंगलमा लुकेर बस्दा गीत गाउने कुरै भएन ।

मेरो भूल

नौ वर्षको हुँदासम्म म सुर्ती खान्थेँ । तर, कडा सुर्ती खान सक्ने भएको थिइनँ । धूवाँ निल्न सक्ने भएको थिइनँ । एक दिन साथीहरूले सुर्ती खाने काममा मेरो बढुवा गराउने विचार गरे । आजदेखि तैँले हाङपाङे सुर्ती खानुपर्छ भने । हाङपाङे सुर्तीले कडा सुर्तीका रूपमा नाम कमाएको थियो । सुर्ती खाने काममा एक खुड्किलो उक्लन पाइने लोभले मैले मकैको खोसेलामा बेरेको हाङपाङे सुर्तीको एक सर्काे के तानेको थिएँ तिरिमिरि झ्याइँ देखेँ । बमिट गरेँ ।

त्यसै दिन अंग्रेजीका शिक्षक खड्ग इङ्नामले अंग्रेजी शब्दको अर्थ सोधे । मैले केही शब्दको मात्र अर्थ बताउन सकेँ । म कक्षामा पहिलो विद्यार्थी थिएँ । मेरै यो ताल देखेपछि उनी रिसाए । शब्दार्थ लेखेको कपी निकाल भने । हामी सबै विद्यार्थीको कपीमा उनी आफैँले राम्रा अक्षरमा शब्दार्थ लेखिदिएका थिए । मैले कपी निकालेँ तर त्यहाँ एउटा पनि अक्षर थिएन । हाङपाङे सुर्ती खाँदा म शब्दार्थ घोक्दै थिएँ । सुर्ती खाएपछि मैले गरेको बमिट त्यही पेजमा परेकाले खड्ग सरले लेखिदिएका सबै अक्षर मेटिइसकेका थिए ।

खड्ग सर विद्यार्थीप्रति जति मायालु थिए त्यति नै निर्दयी पनि । उनले कहाँ हो कुन्नि फलामे रड भेटेछन् । त्यसले मेरा पेटका पूर्व र पश्चिमका पर्खाल एकै ठाउँमा जोडिदिए । त्यस दिनदेखि मैले सुर्ती खाने पेसा छाडिदिएँ ।

मेरो घर

तेह्रथुममा घर बनाउँदा म आठ÷नौ वर्षको थिएँ । हिउँदका जूनेली रातमा मैले मेरा दाजुभाइ, दिदीबहिनीसँग मिलेर ढुंगामाटोको गारोमा लिउन लिपेको थिएँ । त्यसपछि झापामा काठको घर बनाउँदा पनि निकै सक्रिय थिएँ । तर, यी दुवै घरमा म लामो समय बसिनँ । काठमाडौँमा २२/२३ वर्षसम्म मैले अर्काका घरमा, कहिलेकाहीँ त बदमास साहुका घरमा बिताएँ । अहिले हाम्रो संयुक्त परिवारले काठमाडौँको हाँडीगाउँमा एउटा सामान्यखालको घर बनाएको छ । त्यसका तला बाँडेर हामी बस्छौँ । यसमा पुख्र्याैली सम्पत्ति थोरैमात्र परेको छ ।

यो घर बनाउँदा दक्षिणका घाम लाग्नेगरी, पश्चिमका घाम छेलिनेगरी अनि हावा र उज्यालो सकेसम्म आउनेगरी बनाइएको छ । वास्तुशास्त्रले के भन्छ भन्ने कुरा ख्याल गरेको छैन ।

मेरो राशी

सबैको राशी हुन्छ भन्छन् । त्यसैले मेरो पनि एउटा राशी त पक्कै छ । तर, मैले यसलाई यति बेवास्ता गरेको छु कि धेरैपटक मेरो राशी के हो भनी हेरे पनि त्यसलाई म सम्झन्नँ । आफ्नो चिनै हेर्नुपर्ने गरी बिर्सेको राशी अरूलाई के बताऊँजस्तो लाग्छ । नौ ग्रहका दशासँग मलाई उत्रो डर लाग्दैन । ग्रह र नक्षत्रका फलमा कत्ति पनि विश्वास गर्दिनँ । त्यसैले परम्परागतखालका ग्रह शान्ति गराउनेतिर लाग्दिनँ । मणि–माणिक्य, औँठी आदिमा आजसम्म विश्वास छैन ।

अरूखालका ग्रहदशा भने मान्छु । मलाई दशा लगाउन सक्ने धेरै ग्रह मेरानजिकै छन् । तिनलाई शान्त गराउन सक्ने ग्रह पनि म बसेको काठमाडौँ सहरमै छन् । मेरो देशभित्रै छन् । मान्छेको अवतारमा । त्यसैले म मलाई दशा लगाउन सक्ने ग्रह र भूतलाई मन्साउन कोसिस गर्छु । आफूलाई ती ग्रह र भूतबाट बचाइदिने ग्रहको पूजा गर्छु । तर धेरै होइन, ठिक्क । कहिले त्यसमा तल–माथि पर्दा सानातिना दशा लाग्छन् ।

मेरो सौन्दर्यचेत

केही वर्षपहिले आफूभन्दा २५ वर्षजति मात्र कान्छो मानिसले हजुरबा भनेर सम्बोधन गरेदेखि मैले कपालमा कालो लगाउने गरेको छु । तेल, जेल केही नलगाएको रिसले हो कि क्या हो कपाल निकै झरिसक्यो । फेसियल गर्नुपरेको छैन । जाडा महिना र चैत, वैशाखमा सुख्खा भएको छालालाई नरम बनाउन बेलुका सुत्ने बेलामा अनुहार र पैतालामा क्रिम लगाउँछु । मेरो शरीर सेन्ट छर्कनुपर्ने गरी गन्हाएको छ जस्तो लाग्दैन ।

मेरो प्रेम

प्रेम गर्ने ढंग पुगेन, संयोग मिलेन । त्यसैले मैले मागीबिहे गर्नुपर्यो । अन्तर्मुखी स्वभाव भएकाले यसो भएको होला भनेर कहिलेकाहीँ चित्त बुझाउँछु । तर, कहिलेकाहीँ मभन्दा लाटाले पनि लभ गरेको देख्छु ।

मेरो सपना

नेपाल आफ्ना नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क दिनसक्ने देश बनोस् भन्ने चाहना छ । तर, नेपाललाई यस्तो बनाउन केही काम गर्ने जाँगरचाहिँ छैन, बोल्न र लेख्नबाहेक ।

मेरो क्षेत्रको उत्तम हुने रहर र आँट ममा छैन । त्यस्तो रहर अरू कसैले गरोस् । त्यस्तो हुनका लागि गर्नुपर्ने राम्रा÷नराम्रा काम उसैले गरोस् । आफू यही लेखपढ गर्ने पेसामा आफ्नैस्तरको हुने कोसिस गर्दै छु । यसका लागि आफूले गरेको जुनसुकै काम पनि नठगीकन गर्न खोज्छु । आफूले सकेसम्म राम्रो बनाउने कोसिस गर्छु ।

आफ्नो जिल्ला र आफू जन्मेको गाउँठाउँलाई केही त गर्नुपर्ने हो । तर, त्यो केही भनेको के हो र त्यो कसरी गर्ने भन्ने भेउ पाएको छैन ।

आजसम्म बसाइँ सरेर विदेश जान्छु भन्ने लागेको छैन । अहिले त ‘बेलायतको राजा बनाइदिन्छु, जान्छस् ?’ भनेर कसैले सोध्यो भने पनि ‘तैं जा, म जान्नँ’ भनिदिन्छु ।

भोलि कसले देखेको छ र ? अहिलेसम्म आफूले पहिले नसोचेका धेरै काम गर्नुपर्यो । ‘भाँडा माझ्ने काम मिलाइ दे न, विदेश जानुपर्यो’ भनी अरूसँग गुहार माग्ने दिन पनि पो आउनसक्छ कि, के थाहा ?

राटोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार