केटो नहुँदा कसरी सम्हाल्नु

ललिता तामाङ

ह्याप्पी दसैं । ह्याभ अ वन्डरफुल दसैं । इन्जोय योर होलिडे । इन्जोय योर दसैं ।

दसैंअघिको अन्तिम दिन आज । एक–अर्कामा यस्तै–यस्तै शुभकामना व्यक्त गरिंदै अफिस बिदा भयो ।

सुशीला अफिसपछि घरमा चाहिने सरसामान किन्दै साँझ खुइय्य गर्दै घर पुगिन् । झन्डैझन्डै झमक्कै भइसकेको थियो । यतिविघ्न मानिसले दसैंका लागि राजधानी छोड्दा पनि बजार कति भीड, पाइला टेक्नेसम्म ठाउँ छैन ।

दिनभरि अफिसको काम अनि बजार गर्दाको थकाइ । चिया खाँदै एकैछिन थकाइ मार्ने मन भए पनि बिहानदेखिको माझ्न बाँकी भाँडा, अनि असरल्ल, लथालिंग परेको घर देख्दा थकाइ बिर्सेर पनि भान्छातिर जान करै लाग्यो । ५/६ दिनका लागि घरभरिको सम्पूर्ण काम सुशीलाकै थाप्लोमा परेको छ । किनकि सहयोगी केटो आज बिहानै दसैंका लागि घर हिँडेको थियो । पोहोर साल त बिहान बेलुकीका लागि भए पनि सघाउन एउटी दिदी भेटिएकी थिइन् । यसपालि त उनीपनि घर जान्छु आउन पाउँदिनँ भनेकी छन् ।

घटस्थापनाको एक दिन अघिदेखि नै आमाज्यूको दुईजना र नन्दको एकजना केटाकेटी मामाघर आएका छन् । अनि आफ्नो दुईजना गरी पाँचजना केटाकेटी दिनभरि उफ्रिँदा घर हेरिनसक्नु नै भएको थियो । केटो नहुँदा त कसरी पो सम्हाल्नु सुशीलाले मेसो नै पाउन सकेकी थिइनँ । श्रीमान्जीको वरको सिन्को पर सार्ने बानी छैन । बिहे गरेर आएदेखि श्रीमान्ले एउटा गिलाससम्म उठाएको देखेकी छैनन् ।

सासु दम र बाथको बिमारी । ससुरालाई प्रेसर र सुगर । तैपनि सासुले तरकारी केलाउन सघाइदिन्थिन् भने ससुरा बजारबाट तरकारी किनमेल गरिदिन्छन् । तैपनि प्रत्येक वर्षहरूझैं यो वर्ष पनि सुशीलाले परिवारको दसैं उतार्नु छ । झन् यसपालि त दुवै नन्द आमाज्यू आफ्ना घर नगई माइतीमै दसैं मनाउन आउने भएका छन् । सासुले सुशीलालाई गाह्रो नहोस् भनी निकै अगाडिदेखि नै ५/६ दिनका लागि मात्र भए पनि एउटा सघाउने मान्छे नखोजेको पनि होइन तर पाए पो ।

आज फूलपाती । आजबाट कर्मचारीको विधिवत् रूपमा दसैंको छुुट्टी सुरु । सुशीलालाई भने बिहान पाँच बजे उठेदेखि फुर्सद छैन । बिहानको चिया पकाउनेदेखि खाना, खाजा सबै तयार पार्नुपर्ने । श्रीमान् उनका साथीहरूसहित ज्वार्इं, भिनाजु नन्द, आमाज्यु, ससुरा सबैजना दुई समूह गरी तासमा जमिसकेका थिए । बिहान खानाको धन्दा सकिन नपाउँदै तास समूहबाट चियाको माग । दुई–तीनपटकको चिया बनाएर दिन नभ्याउँदै दिउँसोको खाजा तयार पार्ने बेला भइसकेको थियो ।

केटाकेटीहरू फेरि यो नखाने, ऊ नखाने उनीहरूका लागि छुट्टै तयारी । बेलुकी फेरि खानाको तयारी । त्यसैबीचमा भाँडा मोलेर पनि भ्याउनुपर्ने । बेलाबेलामा ‘तिमीलाई गाह्रो भयो है सुशीला, खै के गरिदिऊँ’ भन्दै आमाज्यु आउँथिन् तर माइती आएकी आमाज्यूलाई यो गरिदिनुस् भनेर के अह्राउनु ? आफैँ बुझेर गरिदिए पो । ‘हैन दिदी केही छैन म गरिहाल्छु नि’ भन्नैपर्यो । अझ नन्दले त त्यतिसम्म पनि सोध्ने गर्दिनन् । बरु बिरामी सासु पर्दैन भन्दा पनि माझेको भाँडाहरू मिलाइदिने, अरू सर–सामान ठाउँठाउँमा मिलाएर राखिदिने गर्थिन् । साँझको खाना खाई भान्छाको काम सकाउँदा उही ११/१२ बजिहाल्यो । एवंरीतले तीन दिन बित्यो । तर, सुशीलाले ह्यापीवाला होलिडे मनाउन पाइनन् ।

आज त झन् विजयादशमी टीकाको दिन । अरू नातेदारहरू पनि जमघट हुने दिन । जेठोबाठो सासुससुराको हातबाट टीका थाप्नेको ओइरो । कोही खाना खानेगरी त कोही टीका मात्र थाप्नेगरी । टीकामात्र थाप्नेलाई पनि तातो चिसोको व्यवस्था गर्नैपर्ने । दिनभरि भान्छा र बैठक गर्दै सुशीलाको दिन बित्यो । राति सुत्नेबेला हातखुट्टा फतक्क गलेर निदाउन पनि सकिनन् ।

एकादशीको दिन बल्ल उनले माइतीमा टीका थाप्न जान पाइन् । तैपनि बिहानको चियानास्तासहित खानाको व्यवस्था गरिवरी मात्र । यसरी नै आफन्तकहाँ टीका थाप्न जाने र घरमा आएको पाहुुनालाई सत्कारको व्यवस्था गर्दागर्दै सुशीलाले एक दिन पनि खुइय्य गरी थकाइ मार्नसमेत भ्याइनन् ।

दसैं सकिएर पनि अफिस हाजिर हुन जाने दिन आइसकेछ । अफिस पुग्नेबित्तिकै गुडमर्निङको साथसाथै दसैं कस्तो भयो ? कति हारियो, कति मारियो आ–आफ्नो अनुभव आदान प्रदान सुरु भयो । सुशीला भने केही नबोली सबैको कुरा सुनेर बसिरहिन् । एकैछिनपछि ‘हाई एभ्रिवन दसैं कस्तो भयो’ भन्दै स्वस्तिका आइपुगिन् । ‘अनि सुशीला हाउ वाज योर दसैं ? मस्ती भयो होला नि हैन,’ भन्दै सुशीलातिर फर्किन् । सुशीला मुसुक्क हाँसेर रमाइलै भयो भनेर जवाफ फर्काइन् तर मनमनै भनिन्, ‘मेरो दसैं त कस्तो भयो थाहा नै पाइनँ तर सायद मैले मनाइदिएको दसैं परिवारलाई भने अवश्य रमाइलो भयो होला ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार