ऊँ शिवशक्तिले उचाल्यो, होलेसुङ–जनकराज राई मार्ग गोल्डकप

सयन्द्र राई

दुर्छिम (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम भन्ज्याङमा रहेको मोतीप्रसाद– कृष्णराम राई रंगशालामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकप दोस्रो संस्करणको उपाधि ऊँ शिवशक्ति युवा समूह हलेसीले उचालेको छ ।

हलेसी–तुवाचुङ स्पोर्टस् क्लब हलेसीसँग भएको फाइनल स्पर्धामा शून्यको विरुद्ध ३ गोलले अग्रता लिँदै ऊँ शिवशक्ति युवा समूहले उपाधि उचालेको थियोे । समूहले ४ लाख ५० हजार रुपैयाँ मूल्यबराबरको गोल्डकपसँगै नगद ५० हजारसमेत हात पारेको हो ।

उपविजेता हलेसी–तुवाचुङ स्पोर्टस् क्लब हलेसीले नगद २५ हजार र सत्यश्वर बुक्टो गुफा युवा क्लव मंगलटार र साइनो युवा क्लव राटमाटेले नगद १०/१० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, कोच, छोटो समयको गोलकर्ता र प्रतियोगिताभरिकै उत्कृष्ट गोलकर्तालाई अमृता–अदिलसेर राई मुइमा लाम बेस्ट अवार्डस्वरूप नगद २/२ हजारसहित प्रमाणपत्र दिइएको थियो ।

पहिलो संस्करणको उपाधि चुम्ने जनज्योति क्लब भने यस वर्ष क्वटरफाइनलबाटै बाहिरिएको थियो ।

ऊँ शिवशक्ति युवा समाज हलेसीका सुजन गुरुङले खेलका उत्कृष्ट गोलकिपर र समाजकै समीर खड्काले सर्वाधिक गोलकर्ताको उपाधि चुमेका थिए । यसैगरी, गोपाल लिम्बू डिफेन्डर साइनो युवा क्लब, सोही क्लबकै सञ्जय तामाङ मिडफिल्डर र साइनो युवा क्लबकै प्रवेश राईले स्ट्राईकरको उपाधि हात पारेका थिए ।

यसैगरी, हलेसी–तुवाचुङ स्पोर्टस् क्लब, सोही टिमका छोटो समयका गोलकर्ता प्रवेश राई र ओम शिवशक्ति युवा समाज हलेसीका नरेश श्रेष्ठ उत्कृष्ट कोच ठहरिएका थिए । उत्कृष्ट सबै खेलाडीले जनही २/२ हजार, मेडल र प्रमाणपत्रसहित ‘अमृता–अदिलसेर राई मुइमा लाम बेस्ट’ अवार्डबाट विभूषित भएका थिए ।

हलेसी–तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राई, ५ नम्बर वडाध्यक्ष रमेश तिवारी र होलेसुङ–जनकराज राई मार्ग गोल्डकप प्रायोजक जनकराज राईले विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई बधाइसहित पुरस्कार वितरण गरेका थिए ।
गत असोज २० बाट सुरु गोल्डकमा २१ टिमले सहभागिता जनाएको आयोजक तथा साकेला सिली फुटबल क्लब अध्यक्ष कमल चाम्लिङले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार