टाइगरहिल पहिलोपटक गाडी पुर्याउने नेपाली दलबहादुर गुरुङ

दीपेन्द्र राई

हु वान्ट्स टु गो ?

हमजाएगा ।

अंग्रेजी भाषामा सोधिएको रवाफिलो प्रश्नको उत्तर प्रश्नकर्ताले हिन्दी भाषामा पाएका छन् । प्रश्नकर्ताले सोधेकै भाषामा नपाए पनि उत्तर सकारात्मक आएको छ । सकारात्मक उत्तर पाउँदा प्रश्नकर्ता पुलकित छन् ।

प्रश्नकर्ता टाइगरहिल जान चाहन्थे । टाइगरिहल दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल मानिन्छ । जहाँबाट सूर्याेदयको दृश्य नजिक र धेरै समयसम्म देख्न सकिन्छ । त्यसताका टाइगरहिलसम्म पुग्न अहिलेको जस्तो सडक सुविधा थिएन । सडक त थिए तर जोखिम मोल्नुपर्नेखालको । तसर्थ, सवारी चालक त्यहाँसम्म जान मान्दैनथे । तर, प्रश्नकर्ताले त्यहाँसम्म जाने सवारी चालक भेट्टाए ।

प्रश्नकर्ता टाइगरहिल जाने सवारी चालक पाएकोमा पुलकित छन् भने सवारी चालक यात्रु भेट्टाएकोमा । सवारी चालकले सिरानमा उल्लिखित प्रश्नकर्तालाई टाइगरहिल लैजाँदै छन् । प्रश्नकर्ताका साथमा उनकी दम्पतीसमेत छन् । अब टाइगरहिलको यात्रामा यात्रारत छन्, प्रश्नकर्ता दम्पती र चालकसहित तीनजना । त्यसताका चालकले प्रश्नकर्ता दम्पतीलाई सकुशल टाइगरहिल पु्र्याइ दार्जिलिङ ल्याएका थिए । भनिन्छ, ‘टाइगरहिल गाडी पुर्याउने उनी पहिलो सवारी चालक हुन् ।’ त्यसताका उनी ओपेल कार लिएर त्यहाँ पुगेका थिए ।

प्रश्नकर्तालाई टाइगरहिल पुर्याएर पुनः दार्जिलिङ ल्याउने चालकको नाम हो– दलबहादुर गुरुङ । गुरुङको पुख्र्याैली थातथलो माक्लुवा, पाँचथर हो । उनका हजुरबुवा सन् १८१४ मा पाँचथर छाडेर मारेबुङ टि स्टेट चुङथुङ दार्जिलिङ पुगे ।

पुख्र्याैली थातथलो छाडेर दार्जिलिङ पुगे पनि दलबहादुरको हजुरबुवाको आर्थिक अवस्था उकासिएन । उनीहरूको गुजारा मुस्किलले चलेको थियो । त्यसैले उनका लागि विद्यालयसम्म जाने ढोका सधैंका लागि ढप्कियो । विद्यालय जान नपाएका उनी कलकत्ता हान्निए । उनले त्यहाँ पनि संघर्षको पापड बेल्न छाडेनन् । त्यहाँ रहने–बस्नेक्रममा लाहुर जाने सपना देख्न थाले । अनि सामेल भए लाहुरे बन्ने लाममा लागे । तर, उनको योग्यता पुगेन । लाहुर जानका लागि अंग्रेजी भाषा अनिवार्य जान्नुपथ्र्याे । विद्यालयको मुखै नदेखेका उनको लाहुरे बन्ने सपना अल्पिएर गयो ।

सपना अल्पिए पनि लाहुरे बन्ने अठोट जिउँदोजाग्दोे थियो । संयोगवश उनले कलकत्तामा एक अंग्रेजका साथ पाए । अंग्रेजलाई आफू लाहुरे बन्ने चाहना सुनाए । दयालु अंग्रेजले बालीगन्ज इन्जिनियरिङ कलेजमा वर्ष दिन अध्ययन गर्ने प्रबन्ध मिलाइदिए । वर्ष दिनको अध्ययनपछि उनले लाहुरे बन्ने गेटपास पाए ।

स्केच : विवेक मुकारुङ

अध्ययन गर्न नपाएका झोेंकमा कलकत्ता पुगेका उनी लाहुरे बने । संघर्षै–संघर्षका एउटा पिरामिड उनै लाहुरे सन् १९४८ मा अवकाश पाएर दार्जिलिङ फर्के । रहरलाग्दा जोवन उतै बन्धकी राखेर फर्केका उनले मादक पदार्थ खाने लतचाहिँ सँगै लिएर फर्केका थिए । लाहुरे बने पनि मादक पदार्थ खाने लतले उनलाई जीवनभरि अभावका गीत गाउन बाध्य बनायो । सात छोरी र तीन छोराका बाबु लाहुरबाट अवकाश पाएपछि सवारी चालक भएर जीविकोपार्जन गर्न थाले ।

जीवनका आखिरीमा सवारी चालक हुँदा उनै लाहुरेलाई सिरानमा उल्लिखित प्रश्न गरेका थिए– अंगे्रज दम्पतीले । रवाफिलो शैलीमा टाइगरहिल जाने हो भन्दै सोधेपछि प्रतिउत्तरमा उनै लाहुरेले ‘हमजाएगा’ अर्थात् म जान्छु भन्ने उत्तर दिएपछि अन्ततः उनको नाम नै हमजाएगा रहन पुग्यो । उनको न्वारानको नाम दलबहादुर गुरुङ हो भनेर धेरैलाई थाहा छैन । तर, हमजाएगा भनेपछि धेरैले चिन्छन् । उनको जन्म सन् १९२१ मा चुङथुङ, दार्जिलिङमा भएको हो ।

नेपालको पूर्वाञ्चल र भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, आसाम, मणिपुरमा गुरुङ बेजोड हास्यव्यंग्यकारका रूपमा परिचित छन् । उनले समाजमा रहेका विविध विकृति र विद्यमान विसंगतिलाई हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्थे । चलचित्र निर्देशक तुलसी घिमिरे भन्छन्, ‘हमजाएगा कमेडी विथ इमोसनल एक्टर हुन् ।’

हमजाएगाले चलचित्र कुसुमेरुमालमा अभिनय गरेका छन् । सन् १९८० मा निर्मित सो चलचित्रमा उनले हमजाएगाकै भूमिकामा अभिनय गरेका हुन् । निर्देशक घिमिरेले भने, ‘म सानै छँदा हमजाएगाको नाम सुनेको थिएँ । उनलाई चलचित्रमा अभिनय गराउन पाए कस्तो हुन्थ्यो भन्ने लागेको थियो । कुसुमेरुमाल छायांकनका लागि दार्जिलिङ पुग्दा उनीसँग भेट भएपछि हमजाएगालाई चलचित्रमा अभिनय गराउन पाएँ ।’ सो चलचित्रमा अभिनय गर्दा उनी ७० वर्षका थिए । तर पनि उनले फुर्तिलो र छरितोपारामा अभिनय गरेका छन् ।

हमजाएगाद्वारा सिर्जित ‘जोक्स’ समेटेर तीन किताब प्रकाशित छन् । सो पुस्तकमा समेटिएका ‘जोक्स’ फेद न टुप्पाको भएको स्वयम् हमजाएगाले स्वीकार्थे । उनका पुस्तकमा हिन्दी फिल्मको ‘जोक्स’ समेत जोडिएको पाइन्छ ।

आफैंद्वारा सिर्जित हास्यव्यंग्यजस्तै उनी सधैं हँसिमजाकका पात्र बनाइए । उनको निधन सन् १९९२ मा भएको थियो । उनको निधन भएको यत्तिका वर्ष बिते पनि हिजोआजसमेत उनलाई राम्रा नराम्रा प्रसंगसँग जोडेर उडाउने गरिन्छ ।

चलचित्र निर्देशक घिमिरेका अनुसार उनी सामान्य स्वभावका असामान्य मानिस हुन् । उनले भने, ‘उनी दुस्मन नभएका मानिस हुन् ।’ अंग्रेजका अगाडि नेपालीले जुत्ता लगाएर हिँड्न पाउँदैनथे तर हमजाएगाले तिनै क्रूर अंग्रेजलाई रिझाएका थिए । त्यसैले अंग्रेजले पछिसम्म उनको खोजी गरेका थिए । घिमिरे सम्झन्छन्, ‘हमजाएगा लेखनक्षमता भएको मानिस थिए । उनको निधनसँगै ती सम्भावना खत्तम भयो ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार