जुन मिडियामा काम गरे पनि श्रमजीवी पत्रकारलाई बाँच्न धौ–धौ

दीपक खनाल

नेपाली पत्रकारिताको अहिलेसम्मको जग ‘भन्नुभयो’ नै हो । फलानो नेताले यसो भन्यो, उसो भन्यो, यसो गर्यो उसो गर्यो भन्नु नै अहिलेसम्मको नेपाली पत्रकारिताको विशेषता हो । विषयवस्तु पनि यही नै हो ।

हाम्रो पत्रकारिता घटनामुखी छ, खोजमूलक छैन । भएको कुरा लेखिन्छ, हुने कुरा कहिल्यै पनि लेखिँदैन । ठूला लगानीका मिडियाले कहिल्यै पनि जनताका पक्षमा पत्रकारिता गर्न चाहँदैनन्, आफ्नै पक्षमा मात्र पत्रकारिता गर्न चाहन्छन् । आफ्नै व्यापार व्यवसायको श्रीवृद्धिबारे लेख्नु नै उनीहरूको धर्म हो । उनीहरू हुनेखाने वर्गकै सेवा गर्छन् तर हुँदाखाने वर्गको सेवा गर्दैैनन् ।

उनीहरू हुनेखाने वर्गका मानिसको नाकबाट पातलो सिँगान आएको विषयलाई गज्जबको समाचार ठान्छन् तर टुकुचा र विष्णुमतीपुलमा बस्दा–बस्दा दयनीय जिन्दगी बिताएर कुपोषणले मर्नेको समाचारलाई कुनै समाचार नै ठान्दैनन् । ग्रामीण किसानका दुःख, पीडा, आवश्यकता, प्रगति आदि विषयवस्तु हाम्रा मिडियाका सामग्री नै बन्दैनन् । उनीहरूले गाउँमै बसेर खेतीकिसानी, पशुपालन, फलफूल तथा तरकारी खेती आदिबाट राम्रो आर्थिक उन्नति गरेका हुन सक्छन् । उनीहरूसँग देश हाँक्न सक्ने राम्रो र युगान्तकारी ‘भिजन’ पनि हुन सक्छ तर हामीलाई उनीहरूका कुराले कहिल्यै छुँदैन । अर्थात् त्यस्ता विषय पनि केन्द्रीय मिडियाका सामग्री बन्लान् र ? जस्तो लाग्छ हामीलाई ।

यतिमात्र होइन, गाउँमै विभिन्न क्षेत्रमा नयाँ पुराना प्रतिभा हुन सक्छन् । ती प्रतिभालाई कहिल्यै उठाउन चाहँदैनौं हामीहरू किनभने त्यस्ता प्रतिभालाई त राष्ट्रिय मिडियामा ल्याउनै हुँदैन, ती राष्ट्रिय मिडियाका स्कुप सामग्री बन्दैबन्दैन भन्ने चिन्तनले घर गरेको छ हामीमा । जुनसुकै क्षेत्रको पत्रकारिता गरौं, खालि उही फलानो नेताले यसो भने, उही मन्त्रीले यसो भने । उही राजेश हमाल, उही अमिताभ बच्चन, उही करिश्मा मानन्धर, उही ऐश्वर्य राय, जुनसुकै क्षेत्रमा पनि इनेगिनेका पुरानै अनुहारले ठाउँ पाउँछन्, नयाँले त ठाउँ नै पाउँदैनन् । बस यही नै हो हामीले जानेको पत्रकारिता ।

तथापि यसका विभिन्न कारण छन् । नेपालमा व्यापारी र उच्चवर्गका मान्छेले नै मिडियामा लगानी गरेकाले यस्तो भएको हो । साना मिडियाको पहुँच कम छ, त्यसले गर्दा उनीहरू चाहेजस्तो पत्रकारिता गर्न सक्दैनन् । उनीहरूमा लगानी र जनशक्ति अभाव भएकाले यस्तो भएको हो । त्यसैले उनीहरू ‘भन्नुभयो पत्रकारिता’ गर्न बाध्य छन् ।

तर, जुन मिडियामा काम गरे पनि श्रमजीवी पत्रकारलाई आर्थिक हिसाबले बाँच्न धौ–धौ नै छ । त्यसैले उनीहरू चाहेर पनि खोजी पत्रकारिता गर्न सक्दैनन् । त्यसैले उनीहरू पनि ‘जागिरे (अल्छे) पत्रकार’ हुन बाध्य छन् । उनीहरू पनि खोजीभन्दा घटनामुखी पत्रकारिता गर्न नै विवश छन् ।

सरकारी मिडियामा चर्काे लगानी छ तर राज्यले उनीहरूलाई खोजमूलक पत्रकारितामा लगाउन सकेको छैन । उनीहरू झन् पक्का जागिरे नै हुन् । कर्मचारी पत्रकार नै हुन् । उनीहरू झन् भन्नुभयो पत्रकारिता गर्नमै व्यस्त छन् । यदि राज्यले उनीहरूलाई प्रयोग गर्ने हो भनेचाहिँ घटनामुखीभन्दा खोजीमुखी पत्रकारितामा लगाउन सक्छ तर हाम्रो राज्यसँग पत्रकारिता जगत्लाई हेर्ने कुनै स्पष्ट दृष्टिकोण छैन । ऊसँग यस्तो इच्छाशक्ति नै छैन ।

जुन मिडियामा काम गरे पनि श्रमजीवी पत्रकारलाई आर्थिक हिसाबले बाँच्न धौ–धौ

अहिलेसम्मको हाम्रो पत्रकारिता चाकडीतन्त्रमा टिकेको छ । चाहे राजनीतिको कुरा गरौं या अन्य क्षेत्रको, यहाँ कसैको गुलामी नगरी सूचना पाउन वा विज्ञापन उठाउन नै गाह्रो छ । स्वस्थ ढंगबाट लेख्नेभन्दा पनि कसैको चाकडी गर्नैपर्ने बाध्यता छ । यसो नगरे कुनै सूचना वा विज्ञापन नै आउँदैन ।

नेपाली पत्रकारितामा पनि एक सही र अर्काे गलत प्रकारका मान्छे छन् । सही प्रकारका मान्छे यो क्षेत्रलाई साँच्चै मर्यादित र गम्भीर बनाउन चाहन्छन् तर उनीहरू आर्थिक अभावका कारण निरुत्साहित हुँदै छन् । यो क्षेत्रमा गलत तत्वको बोलवाला छ । कतै नबिकेका, विभिन्न क्षेत्रबाट बदनाम भएर फालिएका मान्छेलाई माफिया तस्कर ग्याङले समातेको छ । त्यसैले यही गिरोहले पत्रकारितालाई कमाइखाने भाँडो ठानेको छ । उसैले ठगीखाने खेतीलाई तीव्र बनाएको छ ।

अर्काेतिर नेपाली पत्रकारिता गम्भीर भन्दा पनि ‘ग्ल्यामर’ जस्तो बन्दै गएको छ । बढी हुनेखाने वर्गका मान्छेका लागि सोख वा ग्ल्यामरको विषय बन्दै छ यो पत्रकारिता । त्यसैले उनीहरू कम पैसामा पनि केवल आफ्नो ‘करिअर’ बनाउनका लागि पत्रकारिता क्षेत्रमा लाग्ने गरेका छन् । तर सधैं दसौं, बीसौं वर्षदेखि कलम घोट्दै आएको पत्रकारको जीवनको कुनै सुरक्षा नै छैन । आफूले काम गरेको मिडियाको मालिकले आफ्नो स्वार्थपूर्ति भएन वा हितअनुकूल काम भएन भने कुन बेला फालिदिन्छ भन्ने कुनै ठेगान नै छैन । त्यसैले श्रमजीवी पत्रकारलाई अहिले पनि आफ्नो बाँकी जिन्दगीकै चिन्ता छ । तर, यतातिर राज्यको ध्यान कत्तिको गएको छ, त्यो पनि चासोकै विषय हो ।

अर्काे ख्याल गर्नुपर्ने कुरा, बोल्दा होस् या लेख्दा, शब्दको निकै महत्व रहन्छ । जस्तो कसैलाई मिथ्यामा ‘चोर’ भनियो वा चोर भनेर लेखियो भने यसले अनावश्यक द्वन्द्व बढाउँछ । सम्बन्धित पक्षमाथि चोट पनि पर्छ । उसलाई तनाव हुन्छ । कुनै मिडियाले विनातथ्य, प्रमाण सनक वा आवेशमा आएर वा कुनै बदला लिन कसैलाई चोर, फटाहा, अपराधी वा भ्रष्टाचारी भनेर लेख, समाचार प्रकाशन–प्रसारण गर्यो भने उसको चरित्रहत्या हुन्छ । ऊ विनाकारण अन्यायमा पर्छ ।

प्रकाशित वा प्रसारित लेख, समाचारको विषयमा जतिपटक खण्डन छापिए पनि पाठकको नजरमा उसप्रति नकारात्मक धारणा बनिसकेको हुन्छ । यही कारण समाजमा पनि अन्य द्वन्द्व बढ्दै जान्छन् । यसले मानसिक, व्यक्तिगत वा सामाजिक हिंसा समेत निम्त्याउँछ । केही वर्षअघि आफ्नो नांगो तस्बिरसहितको समाचार छापिएका कारण नै नायिक श्रीषा कार्कीले आत्महत्या गरेको घटनालाई यसको एउटा ज्वलन्त उदाहरण मान्न सकिन्छ । अतः समाचार सम्प्रेषण गर्दा तथ्य, सत्य, विश्वसनीयता, सन्तुलन, प्रस्तुति आदिमा ख्याल पुर्याइनु अत्यावश्यक छ ।

हुनेखानेका नाकबाट पातलो सिँगान आउँदा पनि गज्जबको समाचार

तर, नेपाली मिडियाले यस्ता कुरामा ध्यान दिएको पाइँदैन । हाम्रा मिडियाले उचित स्रोत, तथ्य, सत्य, विश्वसनीयता, सन्तुलन नै नभए पनि सनकको भरमा वा आर्थिक ब्ल्याकमेलिङमा कुरा नमिलेपछि जथाभावी समाचार सम्प्रेषण गर्ने गरेको देखिन्छ । कतिपय अवस्थामा एकपक्षीय समाचार सम्प्रेषण गरेर एकपक्षमाथि प्रहार गरेको पाइन्छ । यसरी लेखेको÷बोलेको कुराको पुष्टि गर्ने कुनै आधार हुँदैन । तर, यसरी लेखेपछि सम्बन्धित पक्षमाथि अघात परिसकेको हुन्छ । यसो गर्नु मानसिक हिंसा नै हो । पत्रकारिताकै भाषामा भन्दा यो ‘जर्नालिस्टिक क्राइम’ नै हो ।

अर्काेतिर मिडियाको काम द्वन्द्व बढाउने होइन न त न्यायाधीश नै बनेर समाचारमा आफ्नो निर्णय पस्कनु हो । मिडियाको काम त जनउत्तरदायी र जिम्मेवार बन्नु हो । द्वन्द्व न्यूनीकरण गर्नमा मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । तर, नेपाली मिडिया त्यति जिम्मेवार भएको देखिँदैन । उनीहरू आफू नै न्यायाधीश वा आलोचक वा विश्लेषकजस्तो बनेर न्युजमा भ्युज घुसाएको पाइन्छ ।

नेपाली मिडियाले समाजमा भए÷गरेका समाचार–सामग्रीलाई जस्ताको तस्तै पस्कनुभन्दा पनि तिनीहरूलाई अनावश्यक रूपमा उछालेर द्वन्द्व बढाएको देखिन्छ ।

त्यस्तै केही मिडिया त राज्यबाटै पैसा खाएर र नेपाली विज्ञापन छापेर नेपाली राष्ट्रितामाथि नै आघात पुग्नेगरी विदेशी शासकको चाटुकारिता गर्छन् । यहाँ कोही भारतको त कोही पाकिस्तानको दलाली गरेर राष्ट्रिय द्वन्द्व बढाउने पत्रपत्रिका पनि छन् । तर, तिनलाई सधैं छुट दिइरहेकै पाइन्छ ।

राज्यकोषबाट बर्सेनि करोडौं रकम खाएर यसरी गैरजिम्मेवार र अमर्यादित पत्रकारिता गर्नु कहाँसम्मको व्यावसायिकता हो ? यो कुरा अब सबैले बुझ्न जरुरी छ । यो कुरालाई मिडियाका समाचार प्रमुखले पनि कम आँक्नुहुँदैन । लामो संघर्ष र अनुभवबाट मिडियाको समाचार प्रमुख भएकालाई नेपाली पत्रकारिताबारे लामै अनुभव छ होला । राज्यको चौथो अंग मानिने मिडियालाई उनीहरूले पक्कै पनि कम आँकेका छैनन् होला । त्यसैले उनीहरू स्वयम् पनि इमानदार र जनउत्तरदायी बन्न सक्नुपर्छ ।

पत्रकारितामा सुझबुझ नभएका मानिसको बाहुल्य

हुन त हाम्रो मिडियाको चरित्र अहिले पनि सामन्ती नै छ । कार्यशैली पनि त्यस्तै छ । सामन्ती पृष्ठभूमिमा हुर्केका अधिकांश मिडिया र मिडियाकर्मीको मन, वचन र कर्ममा सामन्तवादी र पुँजीवादी व्यवहारले डेरा जमाएको छ । गणतान्त्रिक युगको पत्रकारिता पनि राणाकाल, पञ्चायतकाल र बहुदलीय प्रजातान्त्रिककालमा झंै विभिन्न विकृति–विसंगतिले भरिएको छ ।
हाम्रो राज्यसँग पत्रकार किन जन्माउने, कस्तो नागरिकलाई पत्रकार बनाउने भन्ने कुनै दृष्टिकोण नै छैन । त्यसले गर्दा जो पनि पत्रकार हुन पाउँछ । इन्जिनियरिङ, चिकित्सा, कानुन, व्यवस्थापन आदि क्षेत्रमा जस्तो यो क्षेत्रमा लाग्न कुनै मापदण्ड छैन । कुनै मापदण्ड नभएकाले नै बढी गलत तत्व पत्रकारिता क्षेत्रमा छिर्न पाएका छन्, जसकारण यो क्षेत्र दिनानुदिन अमर्यादित र गैरजिम्मेवार तथा गैरजनउत्तरदायी बन्दै गएको छ ।

‘पत्रकारिता’ अध्ययनका लागि थुप्रै सरकारी तथा निजी विश्वविद्यालय र विद्यालय खोलिसकिएका भए पनि त्यहाँबाट उत्पादित जनशक्तिलाई कसरी परिचालन गर्ने भन्ने कुनै योजना छैन राज्यसँग । सरकारी मिडिया र अन्य कार्यालयमा पनि पत्रकारिता र आमसञ्चार नै नपढेका सत्ताका नजिक र सोर्सफोर्स पुगेका मान्छे लगिन्छन् । यसले गर्दा पत्रकारिता र आमसञ्चार पढेका विद्यार्थी घरको न घाटका बन्दै छन् । निकट भविष्यमा उनीहरू आन्दोलनमा उत्रे भने पनि त्यसलाई आश्चर्य मान्न सकिँदैन ।

पत्रकारितामा सुझबुझ नभएका मानिसको बाहुल्य बढेकाले नै यहाँ जे लेखे पनि, जे देखाए पनि र जे बोले पनि हुन्छ भन्ने मानसिकता विकास हुँदै गएको छ । कसैको चरित्रहत्या हुनेगरी विनातथ्य, सत्य र विश्वसनीयतापूर्ण समाचार लेखे पनि कसैलाई मतलब छैन । यसले गर्दा नै कुविचार बोकेका झन् प्रोत्साहित हुँदै गएका छन् ।

अतः नेपाली पत्रकारितालाई साँच्चै नै मर्यादित, जिम्मेवार तथा राष्ट्र र जनउत्तरदायी बनाउने हो भने सर्वप्रथम कस्तो नागरिकलाई किन पत्रकार बनाउने भन्ने राष्ट्रिय नीति आउनु आवश्यक छ । त्यस्तै ‘मिडिया लाइसेन्स’ दिँदा, सरकारी रातो पास वितरण गर्दा, नेपाल पत्रकार महासंघको नयाँ सदस्यता दिँदा वा पुरानो सदस्यता नवीकरण गर्दा निकै कडाइ गर्नुपर्छ । त्यस्तै राज्यले सूचना दिँदा सबैलाई समान रूपमा दिनुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार