टुरिस्टको टर्निङप्वाइन्ट : डुप्लिकेट चाँबीबाट दैनिक १२ सय

दीपेन्द्र राई

turist raiलाखौं रुपैयाँ खर्चेर खाडी मुलुक पुगेका नेपालीले दैनिक कति कमाउलान् ? यसै भन्न सकिँदैन । तर, ८० हजार लगानी गरेर काठमाडौंमा आफैँले व्यवसाय थालेका दुर्छिम–४ गणेशटार, खोटाङका टुरिस्ट राईले दैनिक १ हजार २ सय कमाउँछन् । काठमाडौंको महाराजगन्जमा ‘चाम्लिङ साँचो पसल’ खोलेका राईलाई दैनिक १ हजार २ सय रुपैयाँ कमाउन खाडी मुलुकमा जस्तो न भेडा, बाख्रा, ऊँट चराउनुपर्छ, न त बेल्चा चलाउनुपर्छ, न ज्यानलाई हत्केलामा राखेर ग्यासप्लान्टमा पसिना बगाउनुपर्छ ।

राईले १ हजार २ सय कमाउन दैनिक १०/१२ घन्टा मिहिनेत गर्नुपर्छ । उनी प्रत्येक घन्टा सय रुपैयाँ कमाउँछन् । त्यो पनि बसीबसी । बसीबसी दैनिक १ हजार २ सय कसरी कमाइन्छ ? सुन्दा तपाईंलाई १ हजार २ सय कमाउन लोभ लाग्यो होला हगि ? २७ वर्षीय रहरलाग्दो उमेरमा दैनिक १ हजार २ सय कमाउन उनी आफू डेरा गरी बसेको काठमाडौंको सरस्वतीनगरबाट बिहान आठ बजे महाराजगन्ज पुगिसक्छन् । जहाँ उनको साँचो पसल छ । पसलको साहुजी, कारिन्दा जे भने पनि उनी आफैँ हुन् ।

संवत् २०६९ जेठबाट थालेको साँचो पसलले राम्रै ‘मार्केट’ लिएको छ । ‘मार्केट’ आफैँ बनेको हो । उनले साँचो पसल चलाउन एक रुपैयाँ पनि ‘मार्केटिङ’ मा खर्च गरेका छैनन् । एक ग्राहक आउँछन्, उनले अर्काेलाई, अर्काले अर्काेलाई गरेर ‘मार्केट’ बनेको हो । चाम्लिङ साँचो पसलमा डुप्लिकेट साँचो बनाइन्छ । जहाँ कोही मोटरसाइकलको डुप्लिकेट साँचो बनाउँछन् त कोही कोठाको चाभी हराएर ताल्चा बोकेरै त्यहाँ पुग्छन् । कसैको दराजलगायत घरको ताल्चा हराएर सम्बन्धित ग्राहकले टुरिस्टलाई लिएर घरै लैजान्छन् । होम सर्भिसको शुल्क अलि महँगो छ । कति महँगो ? टुरिस्ट भन्छन्, ‘पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको छु ।’ दैनिकजसो एकपटक होम सर्भिसमा निक्लनैपर्ने उनले सुनाए ।

turist_raiउनले साँचो पसल खोलेको तीन वर्ष भयो । आफन्त, शुभचिन्तकसँग सरसापट र कतिपयसँग सयकडा पाँच रुपैयाँले रिन लिएर थालेको व्यवसायले लगानी फिर्तामात्रै गरेको छैन, यही व्यवसायले भाइ शुभलाल राईलाई स्नातक तहको अध्ययन
खर्च जुटाएका छन् । भाइ र आफू पालिएका छन् । पसिनाको गीत गाएर खानुको मज्जा लिइरहेका उनले आफू बसेको डेरा भाडा र पसल थापेको कोठाभाडा ७ हजार २ सय ५० बुझाउन घरभेटीले भन्नुअघि नै बुझाइसक्छन् । एसएलसीसम्मको पढाइ छिचोलेका उनले आफू पनि पढ्ने सुर कस्दै छन् । ‘पढेर जागिर नै खानुपर्छ भन्ने छैन,’ पहिले चाहेर पनि पढ्न नसकेका उनको ठम्याइ छ, ‘शिक्षित बन्नका लागि पनि पढ्नैपर्यो ।’

काठमाडौंमा विभिन्न व्यवसाय गर्नेहरू छन् । तर, टुरिस्टले यही व्यवसाय कसरी थाले ? काठमाडौं पस्नसाथ दुई महिना ज्यामी काम गरेका र पछि लामो समय ‘वाल पेन्टिङ’ गरेका राईले सुनाए, ‘मैले दुई वर्ष साँचो पसलमै काम गरेको अनुभव थियो । सिक्नुपर्ने जति सबै काम सिकेपछि आफैँले पसल खोलें ।’ आफैँले पसल नखोलेको भए अहिले उनको मासिक तलब महिनाको १ हजार ५ सयबाट बढेर २ हजार २५ सय पुग्थ्यो होला । तर, उनी अहिले दैनिक १ हजार २ सय कमाउने भएका छन् । हिजो अरूको पसलमा काम गर्दा खाजा खान दैनिक ३० र गाडीभाडा ५० रुपैयाँ पाउने उनले अहिले त्यो आस गरिरहनु पर्दैन । उनी सफल व्यवसायी बन्दै गएका छन् ।

संवत् ०६३ मा काठमाडौं पस्दाताका उनले दुःखका थुप्रै पापड बेले । ज्यामी कामजस्तो ‘हार्ड लेबर’ गरे । पेट पाल्न जोखिमपूर्ण ‘वाल पेन्टिङ’ गरे । उनीसँगै काठमाडौं पसेका सँगाती हिजोआज पनि बेरोजगारी जीवन बिताइरहेका छन् । उनको पसलमा तिनै साथीहरू दैनिकजसो आउँछन् । भन्छन्, ‘कति त गाडीभाडा माग्नमात्रै पनि आउँछन् । कतिपय भेटघाटका लागि । आएका साथीभाइलाई चिसो, तातो खुवाउनैपर्यो । अनि खाजा पनि ।’ हिजो आफूले दुःख पाएको सम्झेर टुरिस्ट राईले चौडा छाती पारेर अप्ठ्यारोमा परेका साथीभाइलाई सरसहयोग गर्छन् । आफू भलो त जगत् भलो भन्ने भनाइ रहे पनि उनीचाहिँ साथीको भलो नै आफ्नो भलो हुने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार