गोपाल किरातीलाई तेस्रो राष्ट्रपति बनाउन माग

राजुविक्रम चाम्लिङ

काठमाडौं । माओवादी केन्द्र सचिवालय सदस्य गोपाल किरातीलाई मुलुकको तेस्रो राष्ट्रपति बनाउन माग गरिएको छ । किरात राष्ट्रिय मुक्ति मोर्चाले विज्ञप्ति जारी गर्दै किरातीलाई गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित गर्न गरेको हो ।

मोर्चाको संस्थापक अध्यक्षसमेत रहेका उनले माओवादी जनयुद्धकालमा पूर्वीय भौगोलिक क्षेत्रमा जातीय उत्पीडन, वर्गीय उत्पीडन तथा सर्वहारावर्गको नेतृत्व गरेका थिए । उनले गणतन्त्र नेपाल स्थापनार्थ अमूल्य योगदान पुर्याएका छन् ।

पटक–पटक मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका उनले वर्गीय उत्पीडनविरुद्ध उत्पीडित समुदायको हितनिम्ति खुलेर लागिपरेका छन् । उनले उत्पीडित समुदायको अधिकार स्थापित गराउन पहिचानसहितको संघीयता अनिवार्य हुनुपर्ने माओवादी केन्द्रसमक्ष जिकिर गर्दै आएका छन् ।

मोर्चा अध्यक्ष राजन किरातीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसकारण उत्पीडित समुदायको अधिकारका लागि आजीवन लडिरहेका गोपाल किरातीलाई तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित गराउन आवश्यक छ ।’

मोर्चाले पार्टी केन्द्रीय कार्यालय मुख्यसचिव प्रह्लाद बुढाथोकीलाई दुईबुँदे ज्ञापनपत्रमार्फत यस्तो माग गरेको हो ।

नेपालको इतिहासमा भौगोलिक रूपमा पूर्व तथा वर्गीय हिसाबमा सबै सर्वहारा समुदायको अधिकारका लागि लड्दै आएका गोपाल किराती खम्बुवान मुक्ति मोर्चा हुँदै, किराती राष्ट्रिय मुक्ति मोर्चा तथा सर्वहारा वर्ग हितका लागि नेकपा माओवादीसँग एकता गरेका थिए । अधिकारका लागि पहिचानलाई मियो मान्ने उनी नेकपा माओवादीसँग एकता हुँदा पनि पहिचान स्थापित गर्न पहिलो प्राथमिकतामा सम्झौता गरेकाले पार्टी एकता भएको उनले बताउँदै आएका छन् ।

वाम एकताप्रति गम्भीर असहमति राख्दै आएका उनले प्रचण्डसँगको छलफलमा प्रचण्डले माओवादी केन्द्रले पहिचान र माओवाद नछाडेको प्रस्ट पारेपछि पुनः आन्तरिक छलफलमार्फत उक्त ऐजेन्डा स्थापित गराउँदै अगाडि बढ्ने धारणा तयार गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार