घरबेटीलाई खुलापत्र : डेरामा बस्नेसँग भाडाको नातोमात्र हुँदैन

दिनेश बस्नेत

आदरणीय घरबेटी आमैमा नमस्कार ।

कोठा छाडेपछि एउटा पत्र तपार्इंको नाममा लेख्न मन लाग्यो । यो गनगन पढेर तपाईंको कि त चित्त दुख्ला कि त चित्त बुझ्ला भन्ने विश्वास लिएको छु । आफू कलम चालकमध्येको महामूर्ख र मध्यम तहलको निरीह प्राणी भएर होला यसै पत्रमार्फत मनको बह घटाउने विधि अपनाएको छु । हुन सक्छ केही शब्दहरू पूर्वाग्रहबाट प्रभावित र आक्रोशबाट ग्रसित । तर पनि मलाई विश्वास छ, तपाईंले माइन्ड नगरी पढ्नुहुनेछ । वा पढेपछि माइन्ड गर्नुहुने छैन । यदि त्यसो नभए प्राप्त हुने टेन्सनको जिम्मेवारी आमै आफैंले लिनुपर्नेछ ।

हुन सक्छ, यो पत्र मैले लेख्दै गर्दा मेरो कुरा थपथाप गरी भूपू छिमेकीसँग मुख मिठ्याउँदै गर्दै हुनुहोला या कतै मनको कुनामा कट्कटिएको सञ्चित रिसइबी साँध्न कुभलो जप्दै हुनुहोला । जे सोच्नोस् मेरोबारेमा तपाईंको व्यक्तिगत स्वतन्त्रता । त्यस्तो व्यवहारले मेरो समयमा अपसकुनको भूमिकासम्म खेल्ने छैन । तर, अर्काको कुभलो गर्ने र सोच्ने समय आफ्नो भलो अनुकूल प्रयोग गर्दा साह्रै राम्रो हुन्छ भन्छन् अनुभवी बूढापाकाहरू । मलाई पनि उक्त भनाइ वास्तविकताले गाँजेको छ जस्तो लाग्छ । तपाईंलाई त्यस्तो नलाग्नुको पछाडि सहरमा हुर्के बढेको विचार र विवेकमा सहरियापनभन्दा पाखण्डीपन बढी पाइनु स्वाभाविक हो ।

घरबेटी आमै, अहिले पनि झलक्क याद आउँछ, जब म कोठा खोज्दै तपाईंको घरसम्म आएको थिएँ । साँच्चै त्यसबेला नेपालमा जागिर खोज्ने युवकभन्दा धेरै थाकेको थिएँ । कोठा पाउनु पनि चानचुने कुरा रहेनछ भन्ने महसुस भएको थियो, त्यतिबेला ।

मैले बेल स्वीच दबाएको केही क्षणपछि ‘कसलाई खोज्नुभयो ?’ भन्दै ढोकामा उभिनुभएको थियो, तपाईं । अनि मैले हतारिएर सोधेको थिएँ– कोठा खाली होला ?

बिहे भएको छ कि छैन ? तपाईंको प्रतिप्रश्न मलाई फलामको चिउरा चपाउनुजत्तिकै साह्रो थियो । म अलमलिएँ । किनकि कोठा खोज्नेक्रममा घरबेटीले सोध्ने प्रथम प्रश्नको उत्तर आफैंमा शङ्कालाग्दो थियो । कतै बिहे भएको छ भन्दा बच्चाले फोहोर गर्छ भन्दै खाली कोठा बोलीले भर्थे । कतै बिहे भएको छैन भन्दा छोरी बुहारीतर्फ सल्किने एवम् पल्किने उन्नत तर्क गुप्त रूपमा अगाडि सार्थे । र, कोठा नभएको वा जहानलाई सोध्नुपर्छ वा घरसल्लाह गर्नुपर्छ, भोलि सम्पर्क गर्नुहोला भन्थे, प्याच्च मुख फोर्न असजिलो भएर । तर, के गर्नु त्यही प्रश्नको उत्तरमा कोठा पाउन सक्ने योग्यताको प्रमाण थियो । कोठा दिन मिल्ने अन्तर्वार्ता पनि ।

‘छैन, पढ्दै छु कहाँ बिहे गर्ने ?’ मैले मलिन स्वरमा भनेको थिएँ त्यतिबेला ।

त्यसपछि नै अन्य सम्बन्धित कुराकानी भएका थिए । तपाईंको घरमा मेरा दिनहरू बित्दै गए । तपाईंको सोझो व्यवहार मप्रति वक्र बन्दै गयो । अर्थात् मैले स्वस्थ र स्वच्छ सम्बन्ध कायम गराउन खोज्दाखोज्दै पनि विश्वासमा सङ्कट पैदा भो, तल्लोस्तरको चरित्र ममाथि प्रदर्शित भयो । सधैंजसो अनाहकमा सुन्नुपर्ने कुखुरीको फुल पारेपछिको जस्तो बेलगाम कचकच सुन्नु विकल्परहित बाध्यता बन्यो होला मेरालागि । त्यसबखत मलाई लाग्थ्यो– बुढेसकालमा मुख साह्रै चिलाउँदोरहेछ ।

तर एकचोटि आँखा चिम्लेर सोच्नोस् त, अनि छातीमाथि हात राखेर भन्नोस् त, तपाईंले गर्ने व्यवहार यदि मैले तपाईंमाथि गरेको सहनशीलतासँग समझदारी गर्न सक्नुहुन्थ्यो ?

सत्य कुरा सुन्नोस्, समस्या र सङ्कटको जाडोले मेरो समय र नाक छुने ठाडो बन्दा पनि कुनै दिन तपार्इंको कानमा अभाव चुहाइनँ । जे–जस्तो परिस्थिथि र वस्तुस्थितिको बुहार्तन थेग्न पर्दा पनि कोठाको भाडा महिना मर्नु दुई÷चार दिनअघि नै दिन्थें । तपाईंको खाना ग्यास चुल्होमाथि पाक्छ मेरो स्टोभमाथि । तपाईंको भान्छामा दाल पाक्दा मेरोमा गुन्द्रुक उम्लन सक्छ । तपाईंको कुकरमा मासु पाक्दा मेरो कराइमा मस्यौरा पाक्न सक्छ आदि–इत्यादि आर्थिक असमानतामा आधारित प्रक्रियालाई आधार बनाएर डेरामा बस्नेलाई तल्लो थरको र सुकुम्बासीस्तरको देख्ने र हेप्ने गर्नुहुन्छ । अझ त्यही जीवनशैलीमा जिउनुको सार्थकता ठान्नुहुन्छ भने त मेरो भन्नु केही छैन ।

नत्र भने मेरो भन्नु डेरामा बस्नेसँग भाडाको नातोमात्र हुँदैन, मानवताको नातो पनि हुन्छ । डेरामा बस्नेको पनि अस्तित्व र इज्जतको महत्व हुन्छ । त्यसैले तपाईंले पालन गर्नु सल्लाह दिन्छु । हुन त छिप्पिएको बानी छुटाउने कार्य आफैंमा साहसी कार्य हुन्छ । सुरुमा मेरो सल्लाह बुढ्यौली खोपडीले दुई कौडी मूल्यबराबर मान्यता दिन सक्छ । तर पनि मलाई आशाभन्दा बढी भरोसा छ, दृष्टिदोष नशा नहुने हुँदा मर्म बुझे मन कर्मतिर लैजानुहुनेछ । यसो गर्दा नै पापकट्टी हुँदै धर्मपट्टि वृद्धि थपिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार