दार्जिलिङे कलाकारलाई नेपालले लैजान्छ कि कालले

अनिल थापा

कुनै बेला नेपाल र भारतका विभिन्न ठाउँमा रहेका कलाकारबीच जुहारी चलेको थियो । अत्यन्त स्वस्थ रूपमा चलेको यो जुहारीकालका गीत–संगीत कालजयी बनेका छन् । यही शृंखलाकै कारण अम्बर गुरुङ, गोपाल योञ्जनलगायत कलाकार नेपाल भित्रिएका थिए ।

आजभन्दा झन्डै सात/आठ दशकअघि मास्टर मित्रसेन थापाले गोर्खालीको विषयलाई समेटेर प्रवासमा गीत गाएका थिए । उतिबेला भारतमा साहित्यकार, संगीतकार तथा कलाकारलाई मास्टर उपनाम दिइन्थ्यो । भारतकै धर्मशालामा जन्मिएका मित्रसेन सेनामा जागिरेसमेत थिए । त्यो गीत सुनेका जनकविकेशरी धर्मराज थापाले २०११ सालमा विदेश अथवा खासगरी सीमापारि गएका स्रष्टालाई लक्षित गरेर

नेपालीले माया मार्यो बरी लै बोलको गीत गाएका थिए ।

थापाको यो गीतबाट सीमावारि र पारिका स्रष्टाबीच दोहोरी चलेको थियो । थापाको गीतको प्रत्युत्तरमा अगमसिंह गिरीको शब्दमा अम्बर गुरुङले सीमापारिबाट नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली, हामीलाई प्यारो लाग्दछ हाम्रै पाखा चियाबारी भन्ने गीत गाए ।

त्यसको जवाफ फर्काए पुष्प नेपालीले ।

फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाली
बसेका छन् आज सबै चौतारी र देउराली ।

यो गीत राजा महेन्द्रको आह्वानका रूपमा आएको अम्बर गुरुङको बुझाइ छ । फर्क हे फर्क नेपाली त्यतिबेला राजा महेन्द्रको आह्वान थियो । विदेशमा गएका नेपाली स्वदेशमै फर्किनुपर्छ भन्ने राजाको आह्वान भएको हाम्रो बुझाइ थियो । त्यतिबेलै लैनसिंह वाङ्देल, सूर्यविक्रम ज्ञवाली, सर्वोच्च अदालतका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानलगायतलाई पनि राजा महेन्द्रले नेपाल आउन आह्वान गरेका थिए ।

पुष्प नेपालीलाई जवाफ फर्काउँदै दार्जिलिङबाट अगमसिंह गिरीकै शब्दमा अम्बर गुरुङले नौलाख तारा उदाए बोलको गीत गाएका थिए ।

यो गीत आफ्ना छोराहरूलाई अध्ययनका लागि भर्ना गर्न दार्जिलिङ पुगेका राजा महेन्द्रलाई खुबै मन पर्यो । गीत–संगीत अध्येता प्रकाश सायमी भन्छन्, ‘त्यसपछि राजा महेन्द्रले अम्बर गुरुङलाई नेपाल आउन आग्रह गरे ।’ दार्जिलिङमा निकै चर्चित हुन पुगेको यो गीत भारतमा प्रसारण गर्न प्रतिबन्ध लगाइयो । यो गीतले नै दार्जिलिङमा रहेका कलाकारलाई नेपाल फर्किने आधार तयार पार्यो । भारतमा नौलाखलाई शंकास्पद मानियो । ‘हाम्रो परम्परामा नौलाई उखानमा प्रयोग गरेको पाइन्छ, नौ सय खोला, नौथरी कुरा, त्यसैले नौलाखलाई पनि शंका गरियो,’ अध्येता सायमी थप्छन्, ‘गीतमा भनिएको नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको ….ले जुन पीडा देखायो यसले नेपालीको विद्रोह, क्रान्ति अन्त्य भएको छैन भन्ने संकेत गर्यो । १९५८ देखि बोकेको पीडाको इतिहास कायमै छ ।’ उनी थप्छन्, ‘आसाम, गोर्खाल्यान्ड हुँदै भारतमा नेपालीको आन्दोलन अहिलेसम्म पनि रोकिएको छैन । र, अर्को कुरा त्यतिबेलाको प्रसार विभाग प्रमुख अनुपम लाहेरीलाई त्यो गीतले गलत सन्देश दियो, त्यसैले प्रतिबन्ध लगाइयो ।’

एक हप्तामै चर्चाको शिखरमा पुगेको यो गीत नेपालमा पनि यो गीत चर्चित भएपछि नेपाली कलाकार प्रवासमा रहेका कलाकार भेट्न जान थाले भने उताका कलाकार यता आउन थाले । त्यसपछि अम्बर गुरुङले नातिकाजीको संगीतमा, नारायण गोपालले अम्बर गुरुङको संगीतमा गाउने अर्थात् संयुक्त सिर्जना गर्ने क्रम सुरु भएको थियो ।
त्यसपछि यताबाट बच्चु कैलाशले

पहाड सुकेसुकेजस्तो लाग्छ
हिमाल झुकेझुकेजस्तो लाग्छ

बोलको गीत गाए भने प्रत्युत्तरमा सीमापारिबाट गोपाल योञ्जनले पहाड सुकेको छैन है भन्ने गीत गाए । नेपालमा रातो र चन्द्र सूर्य गीत चर्चित भएपछि गोपाल योञ्जनले

देशले रगत मागे मलाई बलि चढाउनू
रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी …… बोलको गीत गाएका थिए ।

खासगरी ३० को दशक नेपाली संगीतको क्षेत्रमा स्वर्णिम युग मानिन्छ । ‘दार्जिलिङबाट अम्बर गुरुङको नौलाख तारा नउदाएको भए नेपाली संगीत स्वर्णिम युगमा प्रवेश गर्न गाह्रो पथ्र्यो,’ सायमी भन्छन् ।

यही दशकमा सीमावारि र सीमापारिका स्रष्टाबीच दोहोरी चलेको थियो । र, यसरी सिर्जित गीत–संगीत कालजयी बनेका छन् । नेपाली संगीतले उचाइ लिनुमा यो शृंखलाको उल्लेख्य योगदान रहेको छ ।

त्यहीबेला दुई सांस्कृतिक समूह जन्मिए । यी समूहले गर्दा पनि नेपाली संगीतको विकासमा महत्वपूर्ण योगदान पुग्यो । हिमालयन सांस्कृतिक परिवारमा कर्म योञ्जन, गोपाल योञ्जन, दिलमाया खातीलगायत कलाकार संलग्न थिए भने संगम ग्रुपमा शरण प्रधान, रन्जित गजमेर, अरुणा लामालगायत थिए । त्यसैको प्रभावमा नेपालमा पनि नवकलाकुञ्ज, राल्फा आन्दोलन सुरु भएको थियो ।

स्रष्टाहरू नेपाल फर्केपछि ‘दार्जिलिङका कलाकारलाई कि नेपालले लैजान्छ कि कालले’ भन्ने ठट्यौली कहावत चलेको थियो । यद्यपि, दार्जिलिङमा रहेका कलाकारहरू सुरुमा नेपाल फर्किन चाहँदैनथे । ‘हामी यहाँ आउन चाहँदैनथ्यौं, हामीलाई दार्जिलिङ पनि नेपालकै एउटा अंग हो जस्तो लाग्थ्यो । हाम्रो अस्तित्व दार्जिलिङमै खोज्नुपर्छ भन्ने लाग्थ्यो,’ वरिष्ठ संगीतकार अम्बर गुरुङले त्यतिबेला भनेका थिए, ‘पुर्खाको शव यहीँ गाडिएको छ, रगत, आँसु, पसिना यहीँ पुछिएको छ । हाम्रो लामो इतिहास यहीँ छ, त्यसैले यहीँ नै बस्नुपर्छ भन्ने लाग्थ्यो ।’ उनी अगाडि थप्छन्, ‘राजा महेन्द्रले नौलाख तारा सुनेपछि मन पराए र नेपाल आउन आग्रह गरे र उनले एकेडमीमा बस्न आग्रह गरे ।’

गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामा, रन्जित गजमेर दिव्य खालिङ, शरण प्रधानलगायत कलाकार नेपाल फर्केपछि नेपाली संगीतको नयाँ शृंखला सुरु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार