प्रिय तिमी जून बन्न सक्दिनौ, चन्द्रमामा बुसले आची गरिसकेका छन्

दीपेन्द्र राई

प्रिय तिमी जून बन्न सक्दिनौ,
किनकि चन्द्रमामा बुसले आची गरिसकेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा अध्यापनक्रममा अध्यापक विनोद मञ्जनले उल्लिखित अभिव्यक्ति सुनाएका थिए । यस्तै चोटिला अभिव्यक्तिसहितको सिर्जना पूर्वी पहाडको गाउँगाउँमा पाइने बाँसमा खोपिएका हुन्छन् ।

पंक्तिकार रिपोर्टिङक्रममा सोलुखुम्बु पुगेका थिए । स्थानीय सिर्जनशीलले आफूले लेखेको सिर्जना वर्षाैंदेखि बाँसमा कोरेर सार्वजनिक गर्दारहेछन् । समाचारपत्रमात्र होइन, साहित्यिक पत्रिकासम्म प्रकाशित नहुने जिल्लामा उनीहरूका लागि मधुपर्क, गरिमा, कलम, वेदना र अभिव्यक्तिजस्ता साहित्यिक पत्रिका भनेकै बाँस हो । जहाँ उनीहरूको साहित्यिक सिर्जना सार्वजनिक हुन्छन् । उनीहरूले आफ्ना साहित्यिक सिर्जना तयार हुनासाथ ढुंगाको चुच्चाले बाँसमा कोरिहाल्छन् ।

वर्षाैंदेखि नियमित रूपमा बाँसमा केही न केही लेख्दै आएका जिल्लाका कतिपयका साहित्यिक संग्रह सार्वजनिक भइसकेको छ भने कतिपयले साहित्यिक पत्रिका सम्पादन गर्दै आएका छन् । त्यसमध्ये सोताङ–४ सोलुखुम्बुका गजलकार भद्रगोल किराती भन्छन्, ‘बाँसमा लेखेर नै धेरैले साहित्यिक लेखनमा सुधार गरेका छन् । मेरो साहित्यलेखनको पाठशाला पनि बाँस नै होे ।’ किरातीको आँसुको चोमोलोङ्मा गजलसंग्रह सार्वजनिक भएको छ भने उनले एकताका चिमालनामक साहित्यिक पत्रिका सम्पादन गर्थे । हिजोआज गाउँले मासिक प्रकाशन गर्दै आएका छन् । आफूलाई यो अवस्थामा बाँसले ल्याइपुर्याएको उनको भनाइ छ ।

जिल्लाका विद्यार्थी आफू पढिरहेको कक्षा उत्तीर्ण गर्न पाठ्यक्रमको पाठ्यपुस्तक पढ्छन् भने साउँअक्षर छिचोलेका (सदरमुकामबाहेक जिल्लाका साबिक ३४ वटै गाविसका बासिन्दा) ले चाउचाउ, सलाई, साबुन र बिस्कुटको खोलमा लेखिएका अक्षरभन्दा अरू केही पढ्न पाउँदैनन् । पाउँछन् त केवल बाँसमा कोरिएका साहित्यिक अभिव्यक्ति ।

पर्खिबसें चौतारीमा तिमी आउने आसमा
डुबिजान्छ जिन्दगी यो घामजस्तै साँझमा
–बुइपाली, रुद्र खालिङ, पावै–८ सोलुखुम्बु ।

बाँसमा कोरिएका अधिकांश सिर्जना मायापिरतीमा केन्द्रित छन् । आफ्नो मान्छेलाई प्रत्यक्ष भेटेर भन्न नसकिएको कुरा उनीहरूले बाँसमै लेखेर अभिव्यक्त गर्छन् । बाँसमै लेखेर कतिपयले घरजमसमेत गरेका छन् । बाँस मायापिरती गाँस्न उपयुक्त माध्यम बनेको छ । त्यतिमात्रै होइन, रिस उठेको मानिसलाई गाली गर्ने साधन पनि बाँस बनेको छ । बेनामी नामका एकजनाले बाँसमा लेखेका छन्–
मेरो अस्मितामाथि खेलवाड गर्ने
मायाको नाटकीय रूप देखाएर जाल रच्ने तिमी धोकेबाज हौ ।

बाँसमा मायापिरतीका भावनामात्रै कोरिन्न । यसका अलावा सामाजिक सन्देश प्रवाह गर्न बाँस नै प्रयोग गरिएका छन् । जिल्लाको काँकुमा रहेको बाँसमा लेखिएको छ, ‘यस मेसज्याम्दे सामुदायिक वनमा चौपाया चरिचरनका लागि रोक लगाइएको छ, नियम पालन गर्नाका लागि सबैमा अनुरोध गरिन्छ ।’ त्यस्तै केही वर्षअघि सम्पन्न नेचा महोत्सवको सूचना प्रवाह गर्दै बाँसमै लेखिएको छ, ‘नेचा महोत्सव–२०६४ मा सहभागी बनौं, स्थानीय संस्कृतिको संरक्षण गरौं ।

पत्रमित्रता गर्ने चाहनेका लागि बाँस उपयुक्त माध्यम बनेको छ । बाँसमा नाम, ठेगाना र रुचि कोरेपछि त्यही नाम, ठेगाना र रुचि पढेपछि मित्रता गाँस्न खोज्ने बटुवाले चिट्ठी लेख्ने गरेको पावै–९ की कल्पना नाछिरिङले सुनाइन् । भनिन्, ‘बाँसमा नाम, ठेगाना र रुचि उल्लेख गरेकी थिएँ, थुप्रैले मित्रताका लागि चिट्ठी लेखे । त्यसमध्ये कतिपयसँग अहिले पनि मित्रता कायम छ ।’ विभिन्न किसिमले उपयुक्त मानिएको तिनै बाँस कतिपयका लागि मुटु बिझाउने शूल बनेको छ । बाँसमा कोरिएको सिर्जनाबाट अंकुराएको मायापिरतीले फुल्न नपाएपछि काँकु, सोलुखुम्बुकी रविना खालिङले बाँसमा यसरी पीडा व्यक्त गरेकी छन्–
आँसुको सागरमा डुबे पनि बिहानीको फूलसँगै हाँसेकी छु
मुटुमा सहन नसक्ने घाउ, चोट भए पनि तिमीलाई जीवनसाथी मानी बाँचेकी छु ।

विज्ञानको चमत्कारले संसार एउटा गाउँजस्तै बनेको छ । तर, सोलुखुम्बुका सिर्जनशीलले आफ्ना अभिव्यक्ति बाँसमा कोरेर मनको वह पोख्न बाध्य छन् ।

तस्बिर सबै : दीपेन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार