साहित्यमा तिहार

नगेन्द्रराज रेग्मी

 

ए रातो माटो देउसिरे
ए चिप्लो बाटो देउसिरे
ए लड्दैमा पढ्दै देउसिरे
ए आएका हामी देउसिरे
ए भनभन भाइ हो देउसिरे
ए राम्ररी भन देउसिरे ।

भैलेनी आइन् आँगन, बढारीकुढारी राख न
ए औँसीको बार गाईतिहार भैलो ।
हामी त्यसै आएनौं
बलिराजाले पठाका
ए औंसीको दिन गाईतिहार भैलो ।

यसरी देउसी र भैलो खेल्दै मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार तपार्इं हाम्रो घरमा प्रवेश गरिसकेको छ । यो चाड कागतिहारको दिनदेखि प्रारम्भ हुने गर्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस चाडलाई वैदिककालमा भगवान् विष्णुले खुसी भई बलिराजालाई कार्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यभोग गर्न पाउने वरदान दिएकाले बलिराजाले आफ्नो राज्यभरि दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ । यसो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् तथा यमराज पनि खुसी हुन्छन् भनी भगवान् विष्णुले बलिराजालाई वरदान दिएको कथा प्रचलित छ ।

पौराणिक कथाअनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत—सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषण दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजुभाइ र दिदीबहिनीले आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वासअनुरूप हिन्दु धर्मावलम्बीले यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गर्छन् । यस्तो पावन चाड तिहार हरेक वर्ष यही समयमा हामीमाझ आउने गर्छ । यसलाई आ—आफ्ना गच्छेअनुसार सबैले मनाउने परम्परा रहिआएको छ ।

स्रष्टा, सर्जकले तिहारलाई कसरी लिने गरेका छन् । यस चाडका अवसरमा उनीहरूले के–कस्ता रचना सिर्जना गरेका छन् । त्यसका केही सन्दर्भ यहाँ उल्लेख गरिन्छ ।

“नलिनी दिदीकहाँबाट आज मलाई भाइटीकाको प्रसाद र भाग आयो । बडो स्नेहसाथ त्यसलाई मैले ग्रहण गरें । दिदीबहिनीको मायामा एउटा कोमलता हुन्छ अरू किसिमको मायामा हुने जटिलता हुँदैन, एकदम सरल । विराटनगरमा इन्दिराले मलाई सम्झिहोलिन्, नलिनी र नूतन दिदीले पनि । बुनूको अर्कै भिन्न सामाजिक वातावरण भएको छ– आजको दिन रोममा उसलाई सम्झना भयो कि भएन होला ? मैले दिदीबहिनीको ठूलो स्नेहको उष्णताको सदैव अनुभव गरेको छु । निश्चल र निष्कपट स्नेहसिक्त आशीर्वादको कुनै अदृश्य प्रभाव हुन्छ भने उनीहरूको स्नेहको कल्याण–कवचले म रक्षित छु । आज म झ्यालखानमा छु, दैत्यले घेरिएको बन्दी । मेरो वर्तमान स्थितिमा उनीहरूको मप्रतिको स्नेह हृदयमा झन् गहिरो तलबाट आज उम्लियो होला । भावनाको भौतिक क्षेत्रमा कुनै ठोस परिणाम दिने क्रियात्मक नहोला सही तर आत्मिक सन्तोष र गहिरो अनुभवमा मात्र प्राप्त हुने हार्दिक आनन्द यसको आफ्नो सामथ्र्यको कुरा हो ।”
–जेल जर्नल पृ.६०
संवत् २०१९ को भाइटीकामा बीपी कोइरालाले सुन्दरीजल जेलमा बस्दा लेखेको यो संस्मरण हो । ०२० कात्तिक ३० गते वरिष्ठ साहित्यकार कोइराला जेलभित्र बसेर तिहारको चाड सम्झँदै यसरी निराश हुन्छन् । “आज अमावस्या हो, दीपावलीको अमरात्रि । घर—घरमे दिवाली है मेरे घरमें अंधेरा भन्ने विरही गीतको बोल मनमा उठिरहन्छ ।” यही सालको भाइटीकामा उनी खिन्न हुँदै लेख्छन्–
“भाइटीकाको दिन आज । कान्छी दिदी भान्जीहरूसाथ मलाई टीका लगाउन पाइन्छ भनेर आउनुभएको थियो । पाउनुभएन । फर्केर जानुभयो । टीका र खाने सामान मकहाँ पठाइदिनुुभयो । जर्नेलले पोहोर साल टीका लगाउने दिदीबहिनीहरू भए पाइन्छ भनेर टीकाकै दिन मलाई खबर गरेर कहाँबाट दिदीबहिनीहरू आउँथे । त्यसो हुनाले यसपालि पनि पाइन्छ भनेर पहिले जर्नेललाई दसैंको दिन भनेको थिएँ कि पाउने–नपाउने सूचना समयमा नै हाम्रो घरवालाहरूकहाँ पठाउन लगाइदिनुहोला । आमाले पनि जर्नेललाई भनेको थियो र कान्छी दिदीलाई पनि पाइन्न भन्ने सूचना नपाएकाले टीका भनेर आउनुभयो । मलाई आज बडो ठूलो निरादर भएको भावना भयो । समयमा सूचना नदिनु र त्यसपछि मैले आज जर्नेललाई सोध्दा सीएनसीबाट अर्डर नआएकाले भनी उत्तर दिनू । मलाई लाग्यो हाम्राप्रति बडो निरादारको व्यवहार हो । ममा तीव्र प्रतिहिंसाको भावना जागृत भएको छ । लाग्छ– मौकामा बदला लिन पर्खनुपर्छ मैले । मदालसाले मलाई एकचोटि भनेकी थिइन् कि इख नभएको मानिसले राजनीति गर्न हुन्न । आज त्यो वाक्यलाई झल्ल सम्झें । इख नभएको मानिस, विष नभएको सर्प काम लाग्दैन भन्छन् । नारदको सर्पको सम्झना भो मलाई ।
–जेल जर्नल पृ.१५३

परदेसिएका दाजुभाइ आउन नसक्दा घरमा बसेका दिदीबहिनी अत्यन्त मर्माहत र पीडित बन्दै बिलौना गर्न पुग्छन् । यही प्रसङ्गलाई कवि श्रवण मुकारुङ आफ्नो एक कवितामा यसरी पोखिन्छन्–
मेरो सम्झनामा
बिसन्चोले छुट्टी मनाइरहेकी हुन सक्छौ
बाबरी फूल उन्नुपर्ने दिन
दाउराको चोकेले लुछेको जामा सिउँदै भाइटीका मनाइरहेकी हुन सक्छ्यौ ।
यमराजको खप्पर फोर्न नपाएर तिम्रा हातहरू
आँखाको तातो आँसुले रुझिरहेकी हुन सक्छौं ।

साहित्यकार यज्ञनिधि दाहालको जीवनको अविस्मरणीय घटना भएर तिहारको एक दिन यसरी “खुट्को” बनेको छ ।
“२०३६ सालको हली तिहार बेलुकाको कुरा हो । जिन्दगीमा खेलिएका देउसीमा त्यो जत्ति चोटिलो अरू दिनको छैन । मनोवैज्ञानिक साहित्यका सारथि विश्वेश्वरप्रसाद कोइरालासँग हातेमालो गरेर दाइ ईश्वर बल्लभ नाच्नुभएको र मैले भट्याएको अनि बत्ती बालेर नाङ्लाभरि ल्याइएकामध्ये हातहातमा लिएर सेलरोटी सबैले खाएको कुरा सम्झेर अहिले पनि मन कटक्क काटिन्छ । उहाँको मनोविज्ञानको झुल्को राजनीतिमा पनि त्यसैगरी पाकेको सेलको बीचमा बत्ती हुनेछ र नेपालले त्यस दिनको नाङ्लोको जस्तै काम गर्नेछ भन्ने मेरो प्रतीकात्मक कल्पनाको खुट्को अझै छ ।”
–साहित्यिक पत्र, २०४६ माघ

उहाँको यो प्रतीकात्मक कल्पनाको खुट्को केही समय नबित्दै साकार भएरै छाड्यो । यस्ता कतिपय सहकार्यका अतीतले दीर्घकालसम्मै मनमस्तिष्कमा अमीट छाप छाड्न सफल हुन्छन् । त्यसमाथि यो धर्तीबाट बिदा लिइसकेका यस्ता स्वनाधन्य स्रष्टासँगका संस्मरणले भावी पुस्तालाई समेत प्रेरणा प्रदान गर्न सामथ्र्य राख्छन् ।

तिहारमा दिदीबहिनीहरू आ–अफ्ना घरमा आलोपालो गरेर निम्त्याउँथे । तापनि तिहारको मूल रमाइलो गर्ने ठाउँ उर्मिला दिदीको घर हुन्थ्यो । टीका सकिएपछि रातिसम्म भोजन र मनोरञ्जनका खाल खुला रहन्थे । यसपालि त्यो घरको मुली रमेश भिनाजु प्याङ्क्रियाजको क्यान्सरले थला परेका थिए । तिहारको टीकाटालो पनि खिन्न मनले भयो ।
–अन्तर्मनको यात्रा, पृ.—१८२

चाडबाडको समयमा कसैको मृत्यु भएमा अथवा कोही अस्वस्थ नै भयो भने पनि कति खिन्न मन हुन्छ । निराश, उदास र पीडामा त्यो घरपरिवार रहन बाध्य बन्छ । यही मनोदशालाई साहित्यकार जगदीश घिमिरेको यहाँ यो अभिव्यक्ति व्यक्त गरेका छन् ।

अर्का साहित्यकार कृष्णप्रसाद पराजुली आफूले मनाएको अतीतको तिहारलाई यसरी नियाल्न पुग्छन्, ‘तिहारमा सबैभन्दा रमाइलो हुन्थ्यो । लक्ष्मीपूजाको साँझ र भाइटीकाको दिन । लक्ष्मीपूजामा केराको सुप्ला तथा भाइतिहारको खोरीमा बत्ती बल्थे । भाइटीकामा चाहिँ बहिनीहरूबाट सप्तरङ्गी टीका र माला लगाइदिएपछि खानपान गरी घुम्न निस्कन्थ्यौं । दसैंभन्दा पनि बढी रमाइलो लाग्थ्यो तिहार । देउसी–भैलो खेलिन्थ्यो, हेरिन्थ्यो । दिउँसो अरू जुवाको खालमा जम्थे, हामी भने पिङ खेल्थ्यौं । दसैं—तिहारमा पिङ त छाड्नै मन नलाग्ने । डोरेपिङ म निकै मच्चाउन थालिसकेको थिएँ । रोटेपिङ पनि मन पथ्र्याे । यो पिङ अरूले मच्चाइदिन्थे । पिङवरिपरि झिलिमिली परेका थुप्रै मानिस हुन्थे । जाँतेपिङचाहिँ घुमाएर खेलिन्थ्यो, घुम्दा अलि रिंगटा लाग्थ्यो, त्यति खेलिएन ।’
–मिर्मिरे २१४, बालजीवनको झल्को र ज्ञानको खोजीमा काठमाडौं

मणिपुरकी कथाकार आशारानी राईले आफ्नो प्रथम कृतिका रूपमा यमद्वितीया नामक पुस्तक नै प्रकाशन गरेकी छन् । त्यहाँका पाँचवटा कथामध्ये यमद्वितीया कथाभित्र दाजुभाइ र दिदीबहिनीबीचको पवित्र सम्बन्धलाई उद्घाटित गर्दै नैतिकता र सामाजिक मर्यादा कायम राख्न अभिप्रेरित गरिएको छ ।

यता मञ्जुल “सम्झनाका पाइलाहरूमा” तिहारलाई यसरी नियाल्न पुगेका छन् । “जुवाडेहरू घुँडा धसेर छाती ठोकीठोकी जुवा हानिरहेका थिए । चेलिबेटीहरू कोही रोटी पोल्न, कोही फूलमाला उन्न व्यस्त थिए । लक्ष्मीपूजाको रात, आंैसीको कालो आकाशमा सेता–नीला ताराहरू चम्किरहेका थिए । बाहिर दलानमा भैलेनीहरू भैली खेलिरहेका थिए । तर, किन हो कुन्नी साथीभाइको ठूलो झुण्ड सँगै हुँदाहुँदै पनि म भित्रभित्रै हराइरहेको थिएँ । मनभित्र एउटा टीठ उब्जिरहेको थियो र किन हो मलाई एक्लै एकान्तमा गएर रुन मन लागिरहेको थियो । गितार, मादलको तालमा ताली ठोक्दै ठूलो समूहले गीत गाइरहेको थियो, जसमा नवयुवकहरू बडो लोभलाग्दोपाराले नाचिरहेका थिए । घरबूढा र उनका परिवार मख्ख थिए, आफ्नो घर दलानमा यत्रो रमाइलो आएको देखेर । गीतमाथि गीत थपेर मस्त गाउँदै थियौं । “यसरी एकै घरमा यतिबेर लगायौं भने त तीन दिनमा पनि गाउँ छिचोल्न सकिँदैन है,” एकजना फेटा गुथेका बूढा राईले भने । “त्यो त हो,” मास्टर साहेबहरू घरभित्र पसे । एकैछिनपछि चामलको बीचमा बलेको दियो, दियोवरिपरि मिलाएर राखिएका नोट र नोटवरिपरि सेलरोटी राखेको ठूलो नाङ्लो हातमा लिएर घरपट्टी आमा हँसिलो अनुहार लाएर बाहिर निस्कनुभयो । सबैका आँखा एकपटक झट्ट नाङ्लोमा परेपछि फेरि गीत र नाच चम्कियो । हिसाबकिताब राख्ने मास्टरसापले कपीमा रकम र दाताको नाम टिपेपछि, नगद विभागले नगद राखेपछि, रोटी विभागको मान्छेले झोलामा रोटी राखेपछि, चामलेदाइले धोक्रामा चामल राखेपछि आशिष दिएर देउसे–भैलेको लस्कर अर्काे घरतिर लाग्यो ।”
पृ. २७२

यसरी विभिन्न सर्जक–स्रष्टाले तिहारका अनुभूतिलाई आ–आफ्ना सिर्जनामा समेटेको देखिन्छ । यस्ता उदाहरण खोज्ने हो भने यसको लामै फेहरिस्त बन्न सक्छ । हुन पनि यो चाड एउटा चाडका रूपमा मात्र सीमित नभएर संस्कृतिकै रूपमा विकसित भइरहेको छ । तर, यसको आडमा कहीं कतै खर्चिला र नचाहिँदा आडम्बर देखाएर अधिकांश सहर बजारमा विकृति पनि उत्तिकै भित्रिरहेको देखिन्छ । जाँड–रक्सी खाएर होहल्ला गरी हिँड्ने, देउसी र भैलो खेल्ने निहँुमा जबर्जस्ती रकम असुल्ने क्रियाकलाप दुरुत्साहित गर्नु अत्यन्त आवश्यक छ । यसैगरी, तिहारमा जुवा, तास खेलेर आफ्ना भएका श्रीसम्पत्ति उडाएका थुप्रै उदाहरण पनि नपाइने होइनन् । अतः यस्ता कुलत त्याग्दै यस चाडलाई बत्तीको चाड पनि भनिन्छ । सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्ज्वलित हुन हामी सबै प्रेरित होऔं ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार