लगाइँदै भाइटीका

दिदीबहिनी नहुनेले काठमाडौँको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँदै ।

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन शनिवार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।

सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यकता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिए पनि शनिवार बिहान ८ बजेपछि दिनभरि भाइटीका लगाउन शुभ रहेको समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । भाइटीका शनिवार परेकाले बिहान ८ बजेअघि भने टीका लगाउन राम्रो नहुने भनी समितिले सुझाएको थियो ।

दिदीबहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्न सक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई शनिवारको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु यमपञ्चक पनि कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि सकिने शास्त्रीय विधान छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाएर यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ ।

यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि शनिवार दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले पूजा एवम् दर्शन गरी टीका लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार