तबेलामा काम गर्ने गरिबको छोरा विश्वप्रसिद्ध कवि

राजकुमार दिक्पाल

घोडाको तबेलामा काम गर्ने कुनै गरिब व्यक्तिको छोरा पनि विश्वप्रसिद्ध कवि बन्छ भन्ने कल्पना सायदै कसैले गरेका थिए । यस्तो सुने कोही कसै अचम्ममा पनि पर्न सक्छन् । तर, अचम्म मान्नुपर्ने कुनै कारण छैन । मेहनत गरे नाम कमाउन सकिन्छ भन्ने कुरामा कुनै शंका छैन । यो कुरा विश्वप्रसिद्ध कवि जोन किट्सले गरेका छन् ।

यसरी घोषणाको तबेलामा काम गर्ने गरिबको छोराका रूपमा १७९५ अक्टोबर ३१ मा लन्डननेरको फिन्स्ब्युरी प्याममेन्टमा जन्मेका जोन किट्स जम्मा २६ वर्षको आयु बाँचे । उनले छोटो आयुमा थुप्रै राम्राराम्रा कविता र गीतको रचना गरे । रोमान्टिक युगका चार महत्वपूर्ण कविमध्ये जोन किट्स पनि पर्छन् ।

उनी सन्तानमा सबैभन्दा जेठा थिए । उनकी एकजना बहिनी र तीनजना भाइ थिए । तीमध्ये एकजनाको सानैमा मृत्यु भएको थियो ।

जोन किट्सको जीवन दुःखैदुःखमा बितेको थियो । उनी आठ वर्षको हँुदा उनका बाबुको दुर्घटनामा परी मृत्यु भएको थियो । उनका बाबुको मृत्यु भएको वर्ष दिनमै उनकी आमा पनि अर्कै व्यक्तिसँग पोइल गइन् । तर, उनकी आमा केही समयपछि नै दोस्रा लोग्नेलाई छाडेर जोन किट्ससँग बस्न आएकी थिइन् ।

उनले एउटा यस्तो विद्यालयमा पढ्ने अवसर पाए, जहाँ उनले पुराना र नयाँ साहित्य पढ्न पाए । उनले साहित्यसम्बन्धमा रुचिपूर्वक अध्ययन गर्दागर्दै १८१० को मार्चमा उनकी आमाको क्षयरोगले मृत्यु भयो । आमाको मृत्युपछि उनी र उनका भाइबहिनी हजुरआमासँग बस्न थाले ।

हजुरआमा पनि वृद्धा थिइन् । त्यसैले हजुरआमाले पनि किट्सहरूलाई अरू व्यक्तिकहाँ रेखदेखका लागि छाडिदिइन् । साथै असहायहरूका लागि जम्मा गरिएको रकमले उनीहरूलाई पढाउन थालियो ।

उनलाई डाक्टरी पढ्नका लागि विद्यालयमा भर्ना गरियो । १८१४ मा पढाइ पूरा गरेर उनले डाक्टर पढ्न पाए । त्यतिखेर उनको विद्यालयका शिक्षकसँग झगडा पर्यो । त्यसपछि उनले पढाइ नै छाडिदिए ।

विद्यालय छाडेपछि उनी आफ्ना साथी काउडेन क्लार्कको सम्पर्कमा पुगे । र, उनले आफूलाई साहित्य अध्ययनमा समर्पित गराए । त्यही वर्ष उनले डाक्टर पढ्ने इच्छा त्यागिदिए । उनले सोचे, ‘डाक्टर भएरैमात्र होइन, साहित्य लेखेर पनि केही गर्न सकिन्छ, नाम कमाउन सकिन्छ ।’

डाक्टरी पढ्न इच्छालाई परित्याग गरेपछि उनी साहित्यकारको संगतमा पुगे । साहित्य लेख्न र साहित्यिक सम्बन्ध बढाउनेक्रममा उनी त्यस समय नाम चलेका साहित्यकार तथा कविहरू ली हन्ट, पर्सिविल सेली, बेन्जामिन रर्बट हेडन आदिको सम्पर्कमा पुगे । तीमध्ये ली हन्टले पहिलोपटक १८१६ मा उनलाई एउटा पत्रिकामा कविता प्रकाशित गर्न सहयोग गरे ।

त्यसपछि त उनी कविता लेख्न उत्साहित भए र आफ्नो पहिलो कविता प्रकाशित भएको एक वर्षपछि नै उनले ३० वटा कविता तयार पारेर पुस्तक नै प्रकाशित गरे ।

एकातिर आफ्नै समस्या र पुस्तकबारे पनि बढी आलोचना आएपछि १८१७ को वसन्त ऋतुमा उनी बिट टापुको भ्रमणमा निस्के । गृष्म ऋतुको अन्त्यतिर आफ्ना साथी बेन्जामिन बेलेसित उनी अक्सफोर्डतिर लागे ।

उनलाई आफ्नो पारिवारिक र शारीरिक समस्या त छँदै थियो । त्यसै समयमा उनका भाइ जर्ज किट्स अमेरिकामा विवाह गरी त्यहीं बस्न थाले । जोन किट्स रोगी बन्दै गए । र, जर्जले उनको रेखदेखको जिम्मा अर्का भाइ टोमलाई सुम्पे । आफ्ना भाइबाट छुटेपछि उनले इन्डिमियोन लेखे । यो पुस्तक प्रकाशित हुनुअघि नै उनी आफ्ना साथी चाल्र्स ब्राउनका साथ स्कटल्यान्ड र आयरल्यान्डको पैदल भ्रमणमा निस्के ।

उनलाई दुःखमाथि दुःख परिरहेको थियो । उनमा क्षयरोगको संकेत देखापर्यो । त्यसले सताउन थाल्यो । उनका भाइ पनि गम्भीर रूपमा बिरामी परे । उनका कविताको आलोचना पनि भइरहेको थियो । १८१८ मा उनका भाइ टोम किट्सको मृत्युपछि परिवारमा उनी एक्लो भए । त्यसपछि उनी आफ्ना साथी चाल्र्स ब्राउनसँग हाम्पस्टिङ हेल्थमा रहेको घरमा गएर बस्न थाले । त्यसा चाल्र्सकी श्रीमती र छोरी फेन्नी ब्राउन बस्थे । त्यही बस्दा उनको फेन्नीसँग प्रेम भयो ।

हुन त जोन किट्स फेन्नीसँगको प्रेम र कविता लेखनमा दत्तचित्त थिए । तर, रोगका कारण उनी आलसतालस थिए । त्यसैबेला सानो जागिरका कारण १८१९ मा उनी कविता लेखनदेखि केही पर रहने विचार गरे । तर, उनी कविता लेखनदेखि कहिल्यै टाढा रहन सक्दैनथे ।

१८२० मा उनलाई क्षयरोग भएको प्रमाणित भयो । उनलाई यो रोगले सताउन थाल्यो । त्यस समय क्षयरोगको उपचार हुन मुस्किल थियो । त्यसैले आफ्ना सारा सपना टुक्रिएको उनले महसुस गरे । आफ्नो पुस्तक लिभिया इजाबेला प्रकाशित गरेर पनि उनले आनन्द पाएनन् ।

डाक्टरहरूको सल्लाहअनुसार उनले शीतल ठाउँका लागि इटाली बस्नुपर्ने भयो । उनी इटालीतर्फ लागे । उनका साथी जोसेफ भर्नले सुरुमा नेपल्ससम्म र त्यसपछि रोमसम्म जान उनलाई साथ दिए । त्यहाँ केही दिन त उनले स्वास्थ्य लाभ गरे तर केही दिनपछि उनी झन् बिरामी पर्न थाले । त्यसै रोगले १८२१ फेब्रुअरी २३ मा २६ वर्षको उमेरमा उनको निधन भयो ।

यसरी उनको मृत्युमा दुःखी हुनेहरूमध्ये प्रसिद्ध कवि सेली पनि थिए । जोन किट्सको मृत्यु भएको केही समयपछि नै उनले इन मेमोरियम नामको शोककाव्य नै लेखेर किट्सको सम्मान गरे ।

वास्तवमा जोन किट्सले साहित्यको क्षेत्रमा धेरै लेख्न चाहेका थिए । तर, सानै उमेरमा उनको मृत्यु भयो । आफ्ना रोगका कारण भने र चाहेजति लेख्न नसकेर उनी चिन्तित थिए । संसारमा नाम राख्न नपाएकोमा उनी दुःखी हुँदै आफ्नो नाम पानीमा लेखिएको ठान्थे । उनैको आग्रहअनुसार उनको मृत्युपछि बनाइएको चिहानमाथिको स्तम्भमा लेखिएको छ– यहाँभित्र उनलाई राखिएको छ, जसको नाम पानीमा लेखियो ।

सानै उमेरमा मरेर गए पनि जोन किट्स अमर छन् । अंग्रेजी साहित्यमा उनको नाम मेटियो भने अंग्रेजी साहित्यको इतिहास अधुरो र अपुरो हुनेछ । जेहोस्, एउटा गरिबको छोरा त्यसमा पनि सानैमा आमाबाबु मरेका टुहुरो व्यक्ति सानै उमेरमा मरेर गए पनि राम्रो साहित्य लेखेर गए । उनी अमर भए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार