बरु सासले दिन्छ धोका, तिमीले दिन्नौ थाहा छ

सूर्यकुमार क्षेत्री

अहिले नाम, दाम कमाएका गायक रामकृष्ण ढकालको सांगीतिक यात्रा, प्रेम परियारको भन्दा खासै फरक छैन । धेरैले रामकृष्ण ढकाललाई यस्तैगरी गीत गाउने समयमा नारायण गोपालसँग दाँजेका थिए । हिजोआज प्रेम परियारलाई उनै रामकृष्ण ढकालसँग तुलना गर्न थालिएको छन् ।

मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ, कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन

हिजोआज धेरैका फेसबुक भित्ता र ट्वीटरमा यही शब्दले भरिएका हुन्छन् । सबैले आ–आफ्नै तरिकाले यो गीतको बयान गरेका छन् । कोहीले जिन्दगीसँग जोडिएको गीत भनेका छन् । कसैले बालस्वरको प्रशंसा गरेका छन् । धेरैले म्युजिक भिडियोको खुलेर प्रशंसा गरेका छन् । तर, गायक भने उतिसारो चर्चामा छैनन् । उल्लिखित गीतका गायक प्रेम परियार हुन् । धादिङ, मलेखुका प्रेम परियारले गाएको गीतको चर्चा बढ्दै छ । उनको वास्तविकता थोरैलाई थाहा छ । केही वर्षअघिसम्म धादिङ मलेखु बजारका होटल–होटल चहारेर उनी गीत गाउँथे । त्यतिबेला उनी नयाँ मान्छे कोही देख्यो कि गीत सुनाइहाल्थे । प्रेमभित्र गायक बन्ने ठूलो सपना छ ।

पछिल्ला चार वर्ष प्रेमले स्कुल जाने र फुर्सदका बेला होटलमा आउने मान्छेलाई गीत सुनाएरै बिताए । कसैले दयाले गीत सुन्दिए, कसैलाई साँच्चै मन पर्यो । प्रेम भन्छन्, ‘स्कुल सकिएपछि मैले होटलमा गीत गाउँथें । सुनाउँथें ।’

गीत गाएर कमाएको पैसा उनले आमालाई दिन्थे । कलिलो स्वरमा पाका र खारिएका कलाकारको गीत दुरुस्तै गाउने क्षमता छ, प्रेमसँग । त्यो क्षमतालाई पुष्टि गरेको छ, विकास आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल–२’ को गीतले ।

बालमनोविज्ञानमा आधारित चलचित्रका दुई गीतले प्रेमको उचाइ बढाउँदै छ । गीतकार डा. कृष्णहरि बराल उनको प्रतिभा देखेर दंग छन् । बराल भन्छन्, ‘गीत रेकर्ड हुँदा म पनि स्टुडियोमा थिएँ, ओहो उनको खुबी । म त छक्क परेँ ।’

प्रेमको गलामा व्यावसायिक गायकमा हुनुपर्ने गुण देखेका बराल थप्छन्, ‘प्रेमले गीतमा न्यायमात्रै गरेका छैनन्, जिन्दगी जोडिएको गीतमा बच्चाले यसरी गाए कि मानौँ ऊ आफैँलाई यो पीडा परेको छ ।’ गीत गाउनुअघि गीतकार बरालले प्रेमलाई गीतको भाव बताएका थिए ।

प्रेम परियार काठमाडौंमा संगीत सिक्दै र स्कुल पढ्दै छन् । होटलमा गीत सुनाउनेक्रममा भेटेका ललितपुरका शिशिर राणाले प्रेमको खुबी देखेर उनलाई काठमाडौँ ल्याएका थिए । राणाकै संरक्षणमा प्रेमले स्कुल र संगीतालयमा पढ्दै आएका छन् ।
प्रेमका आमाबुवाको गुजाराको मेलो सामान्य काम नै हो । आधुनिक, लोक र हिन्दी गीत गाउन पारंगत प्रेम अहिले ललितपुरको एक संगीत सिकाउने संस्थामा संगीत सिक्दै छन् । नाइँ नभन्नु ल–२ का दुई गीतमध्ये एउटा गीतको संगीत गरेका हुन्– वसन्त सापकोटाले ।

यी आँखामा तिमी छौ, यो मनमा तिमी छौ
देखाउन पो त गाह्रो, जीवनमा तिमी छौ
तिमी भएरमात्रै, जिन्दगीमा मज्जा छ
बरु सासले दिन्छ धोका, तिमीले दिन्नौ थाहा छ

प्रेमले उल्लिखित बिछट्टै राम्रो गाएका छन् । संगीतकार सापकोटाले शब्द उच्चारण, ‘फिलिङ्स’ मेलोडी टिप्ने खुबीको खुलेर तारिफ गरे । वसन्त सापकोटा भन्छन्, ‘उनको स्वर ‘गड गिफ्ट’ हो, उनी गाह्रो गीत पनि सजिलै गाउँछन् ।’

प्रेमले गाएको यो चलचित्रको गीतलाई युट्युबमा धेरैले हेरिसकेका छन् । त्यस्तै प्रेमले धादिङका गाडी र होटलमा गाएका गीत युट्युबमा लाखभन्दा धेरैले हेरिसकेका छन् ।

प्रेमको प्रतिभाबारे संगीत गुरु अमृत क्षेत्रीले भने, ‘लय र शब्द व्यावसायिक गायकले झैँ तुरुन्त टिप्न सक्ने प्रेमको सबैभन्दा ठूलो खुबी हो ।’ नेपाली मात्रै होइन, हिन्दी गीत पनि उत्तिकै राम्रोसँग गाउनु प्रेमको अर्को खुबी हो ।

अब उनको उमेरका हिसाबले स्वर फेरिने बेला भएको छ । त्यसैले ख्याल गर्नुपर्ने सापकोटाले उनलाई सुझाउँछन् । प्रेमको कला र गलाको प्रचार सामाजिक सञ्जालमार्फत भइरहेको छ । विदेशमा रहेका धेरै नेपालीले प्रेमलाई सहयोग गरेका छन् । प्रेमले कतार, हङकङ, कोरिया, अस्ट्रेलियामा पुगेर आफ्नो प्रतिभा देखाइसकेका छन् ।

नाम, दाम कमाएका गायक रामकृष्ण ढकालको सांगीतिक यात्रा, प्रेम परियारको भन्दा खासै फरक छैन । ढकाललाई यस्तैगरी गीत गाउने समयमा नारायण गोपालसँग धेरैले दाँजेका थिए । अहिले प्रेम परियारलाई उनै रामकृष्ण ढकालसँग तुलना गर्न थालेका छन् । प्रेमले गाएका गीतले यति चाँडै चर्चा कमाउनु भनेको हुने बिरुवाको चिल्लो पात भनेजस्तै हो । भनिन्छ, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल ।’ त्यही उक्ति मिल्दै छ प्रेम परियारसँग ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार