पर्यटन प्रवद्र्धनका पक्षपाती : निर्मला गिरी

दीपेन्द्र राई

Nirmala Giriनेपालमा धार्मिक पर्यटनको सम्भावना लोभलाग्दो देखिन्छ । धार्मिकमात्रै नभएर अन्य पर्यटनको पनि सम्भावना झन् लोभलाग्दो छ । यो घामझैं छर्लंग छ । हामीले सम्बन्धित गाउँठाउँको पर्यटन विकासलाई दृष्टिगत गर्दै केही काम थाले केही न केही त पक्कै हुन्छ ।

पर्यटन प्रवद्र्धनलाई दृष्टिगत गर्दै आफ्नो गाउँठाउँमात्रै होइन, दैलेख, सुर्खेत र मध्यपश्चिमाञ्चलको पर्यटन प्रवद्र्धनमा लागिपरेकी छन्– निर्मला गिरी । गिरीको थालेको अभियानमा रत्तिभर स्वार्थ देखिँदैन । उनलाई आफ्नो गाउँठाउँको विकास अरूले गरिदेओस् भनेर सोच्दा पनि सोचेकी छैनन् । भन्छिन्, ‘सक्दो आफैंले गर्ने हो । अरूले गरिदेलान् कि भन्नु बेकार छ । त्यही भएर म तन, मन र धन खर्चेर पर्यटन प्रवद्र्धनमा लागिपरेकी छु ।

पर्यटक प्रवद्र्धनको पक्षपाती निर्मलासँग दैलेख, सुर्खेत र मध्यपश्चिमाञ्चलको पर्यटन प्रवद्र्धनका लागि लगानी गर्ने प्रशस्त सम्पत्ति भने छैन । स्थानीय विकास मन्त्रालयका सरकारी जागिरे उनीसँग पर्यटन प्रवद्र्धनका लागि लगानी गर्ने प्रशस्त सम्पत्ति नभए पनि आफ्नो गच्छेअनुसार लगानी गर्न कन्जुस्याइँ गर्दिनन् । उनको बुझाइ छ, ‘आफ्नो काम आफैंले गर्नुपर्छ । अरूको भर पर्नु भनेको परजीवी बन्नु हो ।’ परजीवी हुनुभन्दा आफ्नो खुट्टामा आफैं उभिन सक्नु नै गिरीको मान्यता छ । त्यसैले होला उनी सम्बन्धित जिल्लाको विकासका लागि विनियोजित बजेट रातो किताबमा छापिए पनि खुसी भइहाल्दिनन् । विनियोजित बजेट स्थानीयस्तरमा पुग्दासम्म के–के भइसक्ने उनी शंका गर्छिन् । शंका गर्नु अस्वाभाविक होइन ।

आफ्नो गाउँठाउँको विकास गर्न सम्बन्धित स्थानको पर्यटन प्रवद्र्धन थालियो भने प्रभावकारी हुन्छ भन्ने तर्क गर्ने निर्मला गिरीको बुझाइमा दम छ । सबैले सम्बन्धित स्थानको पर्यटन प्रवद्र्धन गर्न थालियो भनेमात्रै पनि नेपाली पसिना अरबमा बगाउनु पर्दैन । गिरी सुझाउँछिन्, ‘अरबमा बगाउने पसिना गाउँठाउँकै पर्यटन प्रवद्र्धन गर्ने शीर्षकमा बगाए महिनामा १० हजार कमाउन अरब जानै पर्दैन । पर्यटन प्रवद्र्धनमा त पैसै–पैसा देख्छु । गर्नेले होमस्टे सञ्चालन गरेर यहीं हाँसीखुसी बाँचेका छन् । दुई/चार पैसा खेलाएका छन् ।’

हुन पनि हो गरे नहुने केही छैन । समय अवधारणा बेचेर खान सक्नेको छ । हामी पनि अवधारणा बेचेर खान सक्ने हुनैपर्छ । अर्काको अवधारणमा मात्रै जीवन बिताउन थालियो भने हामी सधैं दुःखीका दुःखी हुन्छौं । त्यसैले सुखी हुने माध्यम पनि पहिचान गर्न उनी अनुरोध गर्छिन् ।

दैलेख, सुर्खेत र मध्यपश्चिमाञ्चलको पर्यटन प्रवद्र्धनका लागि उनले धेरै पहल गरेकी छन् । उनको पाइला पर्यटन बोर्डसम्म धेरैपटक ठोक्किएको छ । उनले प्रस्तावनापत्र लेखेर पर्यटन बोर्डमा नबुझाएको पनि होइन । आफूले लेखेको प्रस्तावनापत्र तोडमरोड गरेर बोर्डकै मानिसले के–के गर्छन् भन्ने उनले नसुनेकी होइन । टानको शरणमा परेकै थिइन् । केही गर्छु, सहयोग पाऊँ भन्दा बेवास्ता गर्नेलाई के भन्ने होला ? त्यतिमात्रै हो र ? आफूले राखेको माग पूरा नभएपछि उनी अनशनसमेत बसेकी थिइन् । अहिलेको समयमा यस्तो काम कसले गर्लान् । खोजिपस्ने हो भने निर्मला गिरीजस्ता साहसिक र निस्वार्थी व्यक्ति भेट्टाउन गाह्रै पर्छ ।

उनले पर्यटनमा प्रवद्र्धनमा अहिलेसम्म खर्चेको समयको हिसाब–किताब गर्ने हो भने लामै फेहरिस्त बन्छ । मिनेट–मिनेटको लेखाजोखा गर्ने अवस्थामा पनि आफ्नो गाउँठाउँको पर्यटन प्रवद्र्धनमा आफ्नोतर्फबाट केही गर्न सकिएला कि भनेर उनी लागिपरेकी छन् । पर्यटन बोर्डले आफूले पेस गरेको अवधारणपत्रको न्याय नगरे पनि उनले हरेस खाएकी छैनन् । आफूले थालेको अभियानमा गत पुसदेखि झन् मरिमेटेर लागिपरेको उनले सुनाइन् । उनले दुःखेसो पोखिन्, ‘ठीक छ, कसैले केही सहयोग नगरून् तर मैले थालेको अभियानमा आचार्य/पण्डित निर्मल चैतन्य पाण्डेले साथ पाएकी छु । उहाँको साथ–सहयोगमा उदाहरणीय काम गरेर देखाउनेछु । मैले थालेको अभियान कम आँक्नेलाई केही गरेर देखाउनु छ । त्यो दिनको प्रतीक्षामा अभियानलाई जीवन्त बनाउन लागिपरेकी छु ।’ के तपाईं पनि निर्मला गिरीले थालेको अभियानलाई साथ दिन चाहनुहुन्छ ? हुन्छ भने एभरेष्ट बैंकको खाता नम्बर ००१००५१६२०३६०१ मा सहयोग गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार