काठमाडौंमा कोठा नपाएर हैरान हुनुहुन्छ, रातोपुल जानूस्

 

दीपेन्द्र राई

कोठा सर्दै हुनुहुन्छ ? आफूलाई पायक पर्ने ठाउँमा कोठा सर्न पाए हुन्थ्यो भन्ने सोच्नुभएको छ कि ? पायक पर्ने ठाउँमा सर्न तपाईंले कोठा खोजेको कति भयो ?

जागिरभन्दा कोठा पाउन गाह्रो काठमाडौंमा तपाईं यी झन्झटबाट मुक्त हुन चाहनुहुन्छ भने रातोपुल (काठमाडौं) जानूस् । तपाईंको समस्या सजिलै समाधान हुनेछ । तर, केही दिन पर्खनुपर्ने हुन्छ ।

तपाईंलाई कतिवटा कोठा चाहिएको हो ? कुन ठाउँमा चाहिएको ? रातोपुल गएर आफ्नो नाम र टेलिफोन सरस्वती काफ्लेलाई टिपाउनुस् । तपाईंले भनेकै ठाउँमा कोठा पत्ता लागेपछि काफ्लेले तपाईंलाई खबर गर्नेछिन् । त्यसो भएपछि भएन त काइदा ?

३० वर्ष भयो सरस्वती काफ्लेले कोठा खोज्दै हिँडेको । काफ्लेको कामै कोठा खोज्ने । आफूलाई नभएर अरूका लागि । ‘आफ्नो त जागिर, बैंक ब्यालेन्स, जग्गा–जमिन भनेकै कोठा खोज्ने काम हो,’ उनले भनिन् । यो कामले उनलाई दालभात जुटाएको छ भने कोठा नपाएर सास्ती खेपेकालाई ढुंगा खोज्दा देउता भेटेजस्तो ।

संवत् २०४१ देखि कोठा खोज्दै आएकी उनले कोठा खोजिदिएबापत निश्चित पारिश्रमिक निर्धारण गरेकी छन् । पारिश्रमिकमा बार्गेनिङ हु“दैन । एउटा कोठादेखि फ्लाटसम्म खोजिदिने उनले भनिन्, ‘एउटा कोठा खोजिदिएबात पाँच सय रुपैयाँ पारिश्रमिक लिन्छु ।’ फ्लाटको आवश्यक हुनेले फ्लाटमा जतिवटा कोठा छ त्यहीअनुसार पाँच सय थप्दै जानुपर्छ । मतलब जतिवटा कोठा त्यहीअनुसार पाँच–पाँच सय थप्नुपर्छ । ‘एउटा कोठा खोजिदिनु है बज्यै भन्दै आफ्नो मोबाइलमा घन्टी बजाउनेको बाहुल्य रहेको,’ बताउँदै उनले भनिन्, ‘कहिलेकाहीँ त एउटा कोठा खोज्दा–खोज्दै पाँच सयभन्दा बढी खर्च हुन्छ ।’

कामै कोठा खोज्ने भएकाले अहिलेसम्म उनले कस्ता–कस्ता मानिसलाई कोठा खोजिदिइन् होला ? उनले सुनाइन्, ‘सर्वसाधारणदेखि मन्त्रीसम्म अनि पाइलटदेखि विदेशी पर्यटकलाई समेत कोठा खोजिदिएकी छु ।’ तपाईंलाई कोठा खोजिमाग्ने मन्त्री र पाइलटको नाम त थाहा छैन होला है ? ‘किन थाहा नहुनु, मैले मन्त्रीदेखि पाइलटसम्मका लागि कोठा खोजिदिएकी हुँ भनेर यो ७६ वर्षीया पाकाको कुरा तपाईंले विश्वास गर्नु भएनजस्तो लाग्यो,’ उनले गुनासो गरिन् ।

३० वर्षे अवधिमा उनले कति कोठा खोजिन् कति । गनिसाध्य छैन । होस पनि कसरी ? उनले खोजिदिएको कोठामा डेरा बस्ने थुप्रैले काठमाडौं उपत्यकामा घर ठड्याइसकेको उनलाई थाहा छ । भनिन्, ‘कतिपयले त मेरै घरमा बस्न आउनुस् भाडा तिर्न पर्दैन भन्छन् । मैले मानिनँ ।’ म जहिल्यै कोठा खोजिहिँडेको देखेर उनीहरू (एकताका आफैंले कोठा खोजिदिए पनि अहिले घरमालिक भएका) लाई टिठ लाग्दोरहेछ । तर, पसिनाको गीत गाएर खानुको आनन्द बेग्लै हुने उनको ठम्याइ छ ।

स्वर्गीय वन राज्यमन्त्री गोपाल राई, पाइलट किरण मल्ल, सञ्चारकर्मी, चलचित्रकर्मी, विद्यार्थी, नेता, सुरक्षाकर्मी र सर्वसाधारणलाई उनको कामले गुन लगाएको छ । त्यही गुनिलो कामबापत आउने पारिश्रमिक नै हो उनको जीविकोपार्जनको भरोसायोग्य शीर्षक । उनको खान, लाउन, गाडीभाडादेखि कोठाभाडा तिर्ने आयस्रोत पनि यही हो । बिहान सबेरैदेखि बेलुका अबेरसम्म कोठा खोज्दै हिँडेपछि उनलाई अरू काम गर्ने समय नै कहाँ मिल्छ ।

यी वृद्धाको नागरिकताको नाम मेटिँदै गएको छ । कामै कोठा खोज्ने भएकाले होला सबैले उनलाई डेरावाल्नी बज्यै भनेर सम्बोधन गर्ने गर्छन् । उनका बसाइ पनि डेरामै छ । १८ वर्षदेखि एउटै घरमा बस्दै आएकी उनी बसेको कोठाको भाडा पटक–पटक बढिसकेको छ । कोठा खोज्नेक्रममा उनलाई काठमाडौंको नक्सा खुम्चिँदै गएको लाग्न थालेको भान हुन्छ रे । सधैं कोठा खाली छ भन्दै काठमाडौं फन्को मारिरहने भएपछि उनलाई यस्तो लाग्नु स्वाभाविकै हो । यतिसम्म कि काठमाडौंको फलानो टोलको फलानाको घरको गेट यस्तो रङको छ सम्म भन्न सक्ने अवस्था बनाउने शीर्षक त्यही हो, जुन शीर्षकले उनलाई कोठा खोज्ने कामका लागि जाँगरिलो बनाएको छ ।

त्यही जाँगरले उनी कोठा खोज्न जोरपाटी, बौद्ध, चाबहिल, कालोपुल, रातोपुल, लैनचौर, ठमेल, बागबजार, पुतलीसडक, मैतिदेवी, घट्टेकुलो, डिल्लीबजार, कमलपोखरी, अनामनगर, नयाँबानेश्वर, कोटेश्वरदेखि ललितपुरको एकान्तकुना र नख्खुसम्म पुग्छिन् । ‘मैतिदेवी, घट्टेकुलो, रातोपुल, नयाँबानेश्वरमा कोठा खोजिदिनु भन्नेको बाहुल्य रहेको,’ उनले बताइन् ।

गाडी नचढी नहुने ठाउँमा मात्रै गाडी चढ्ने उनी प्रायः पैदल हिँड्छिन् । कोठा खोज्ने काम घरघरै पुग्नुपर्ने भएकाले पनि उनले नहिँडी सुखै छैन । झरी–बादल, घाम–पानी नभनी प्रायः हिँड्ने उनलाई वर्षमा कतिवटा जुत्ता धान्ला ? भनिन्, ‘एक बर्खमा चार जोर जुत्ता चाहिन्छ भने महिनामा दुई जोर मोजाले भ्याउँदैन ।’

बाँच्ने उपक्रममा उनले संघर्षका थुप्रै पापड बेलेका छन् । आठआना भारी बालुवा चाल्दा, ६ रुपैयाँ भारी घाँस काट्दाको दुःख र अहिले एउटा कोठा खोजेबापत पाँच सय रुपैयाँ पारिश्रमिक लिँदाको दुःखमा कुनै अन्तर छैन । नभएर भोकै बसेको दिन गनिसाध्य छैन रे । केही समयअघि दुई महिना बिरामी परेकाले रिन परेको उनले बताइन् । भोकै बस्नुका कारण कोठा नपाउनु पनि हो । कोठा नपाएपछि पारिश्रमिक आउँदैन । त्यो (पारिश्रमिक) नै बन्द भएपछि मुखाँ माड पर्ने कुरै भएन । ऊबेला (०४१ सालताका) कोठा पाउन सजिलो भए नि अहिले पहिलेजस्तो सजिलो छैन । उनीसँग कुराकानी चलिरहँदा १५ पटकभन्दा बढी उनको मोबाइलमा घन्टी बज्यो । त्यति नै वेला हनुमानढोकाबाट एकजना डीएसपीले फोन गरे । डीएसपीसँग कुराकानी सकिएपछि उनले भनिन्, ‘सुरक्षाकर्मीका लागि कोठा खोज्न असाध्यै गाह्रो हुन्छ । कोठा पत्ता लागेपछि यिनी (सुरक्षाकर्मी) हरू सर्नुअघि कोठाका नाप–जाँच गर्नेदेखि अनेक प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । बडो झन्झट हुन्छ । झन्झट मानेर पनि के गर्नु ।’

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार