‘लेबरमा नआउनुस्, गाह्रो हुन्छ’

तपाईंको आफ्नो बारेमा बताइदिनुस् न ?

मेरो नाम धर्मराज राई हो  । मेरो घर धनकुटा हो  । म अहिले साउदी अरबमा तामिमी कम्पनीको दम्माम क्याम्प अल्ल खोबरमा काम गर्छु  । म यहाँ आएको आठ वर्ष भयो  । अहिले दिनको आठ घण्टा मात्र काम गर्छु  । तलब १,२०० रियल छ । जेनतेन गुजारा चलाएको छु  ।

dharmaraj raiत्यहाँ अवसर कस्तो छ ?

खानु बस्नु कम्पनीले दिन्छ  । महिनाको तलब समयमै पाएको छु । लेबरको इन्सुरेन्स र मेडिकल सुबिधा पनि छ । दुई वर्षमा दुई महिनाको बिदा पाइन्छ  । टिकट पनि कम्पनीले दिन्छ  । राम्रै छ अहिलेसम्म त  ।

चुनौती पनि त होला नि ?

चुनौती त धेरै छन् । काम गर्दा सेफ्टी खासै हुँदैन । केही भइहाले कम्पनीले वास्ता गर्दैन । राम्रै कम्पनी परे क्षतिपूर्ती दिन्छ तर एकदम कम दिन्छ । यहाँ गर्मी साह्रै छ । कति साथीहरू सुतेकै सुतेकै हुन्छन् ।  अहिले ओभर टाइम गर्न नपाएकाले पैसा बचत खासै छैन ।

साउदी सरकारले के गरे तपाईंलाई सहज हुन्थ्यो ?

यहाँ पनि थुप्रै दलाल छन् । त्यस्तालाई कारबाही गरे हुन्थ्यो  । धेरैजसो कम्पनीले विदेशबाट ल्याइएका कामदारको सेवा/सुविधा करार गरेजस्तो नदिने हुन्छ , त्यस्तो कम्पनीलाई बेलाबेला छड्के गरी कारबाही गरे हुन्थ्योजस्तो लाग्छ ।

नेपाली दूतावासले कत्तिको सहयोग गरेको छ ?

मलाई त खासै गाह्रो परेको छैन  तर साथीहरूको पीडा सुनिनसक्नु छ । नेपाली दूतावासले आपतमा परेकाको पीर÷मर्का नसुन्ने, काम ढिलो गर्ने, नेपाल फिर्ता जानुलाई पनि समस्या हुने गरेको छ । कति त आफैंँ जेल गएर नेपाल फर्केका पनि छन् ।
हामीले साधारण व्यक्तिको पनि अन्तर्वार्ता लिने गर्छौ । हामीलाई यो विश्वास छ कि सबैको आ–आफ्नै कथा र अनुभव हुन्छ, जुन आममानिसले सुने नयाँ लाग्ने र हौसला पाउने हुन्छ, अन्त्यमा तपाईंको त्यस्तो कुनै आफ्नो अनुभव छ भने सेयर गर्नुहोस्न ।

खासै त्यस्तो केही छैन । यदि कोही नेपालबाट विदेश आउँदै हुनुहुन्छ भने सीप सिकेरमात्र आउनुहोला  । लेबरमा नआउनुस्, गाह्रो हुन्छ  । लेबरको तलब पनि थोरै हुन्छ  । दलाल मार्फत नआएर सिधै मेनपावरबाट आउँदा अझ राम्रो हुन्छ  । यहाँ हामी ५० डिग्री तातोसम्म सहेर काम गर्छौं । सासै फेर्न गाह्रो हुन्छ । यस्तो कुरा हाम्रा छोराछोरीले बुझेर राम्रो पढे सबै दुस्ख भुल्ने थियौं जस्तो लाग्छ ।

प्रस्तुति : सुरेश यक्सो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार