‘अरे दार्जिलिङमा पनि संगीत हुन्छ र ?’


सानैदेखि म गीत गाउँथें, गीत जुनबेला पनि मेरो ओठमा झुन्डिरहेको हुन्थ्यो । फिल्मी, लता, नूरजहाँ, तलत महमुदका गीतहरू गाउँथें । तर, गीत–संगीतमै जीवन बिताउँछु भन्ने कुराचाहिँ मैले सोचेकी थिइनँ । स्कुल पढ्दै गर्दा गीत गाइरहने हुँदा कुनै प्रोग्राम, पूजाआजामा गीत गाउन लगाउँथे । म गाउँथें । बिस्तारै मलाई श्रोताले चिन्दै गए । म गीत गाउन सक्छु भन्ने कुरा उहाँहरूले थाहा पाउन थाल्नुभयो ।
त्यसपछि मलाई नाटकहरूमा पाश्र्व–स्वर दिन लगाउन थाले । त्यतिबेलादेखि नै मैले अझ सक्रियतापूर्वक गीतहरू गाउन थालें । त्यसबेला सायद म सात–आठ कक्षामा पढ्थें । त्यही समय दार्जिलिङमा नेपालबाट थुप्रै कवि, साहित्कारहरू आउनुहुन्थ्यो– त्रिरत्न भए, बालकृष्ण समका नाटकका टोलीहरू । त्यतिबेला मलाई स्वागत गीत गाउन लगाउँथे । स्वागत गीतहरू गाउँथें । मैले सोचें, ‘यसरी गीत गाएरमात्रै हुँदैन ।’

त्यतिबेला गीत गाउँदा मैले फिल्मी गीतहरू नै गाए पनि विशेषगरी अलिक शास्त्रीय संगीतको छाप परेका गीतहरू गाउँथें । खासगरीकन लताका शास्त्रीयलय भएका गीतहरू । जबसम्म त्यो गीत जस्ताको तस्तै दुरुस्त गाउन सक्दिनथें, त्यतिन्जेल म त्यो गीतहरूलाई बारम्बार प्रयास गरिरहन्थें । त्यतिबेलाको मस्तिष्क साह्रै सिर्जनशील हुने भएकाले गीत पनि एक–दुईपटक दोहोर्याउँदा नै कण्ठस्थ भइसकेको हुन्थ्यो । यसरी गीत गाउँदै जाँदा मलाई शास्त्रीय गायनप्रति चासो बढ्दै गयो । गीतको रहरको अगाडि मलाई पढाइमा एकरत्ति रुचि रहेन । यस्तो देखेपछि मेरो मातापिताले ‘अब यसले पढ्न मन गरेन, के गर्ने संगीतसम्बन्धी नै पढाऊँ’ भनेर कुनै राम्रो ठाउँको खोजी गरी मलाई संगीत र गायनको शिक्षाका लागि कलकत्ता पठाइदिनुभयो । कलकत्तामा मैले तीन वर्ष शास्त्रीय संगीत, बंगाली लोकसंगीत र भजनहरू गाउन सिकें । त्यहीँदेखि अहिलेसम्म म यस क्षेत्रमा लागेको लागेकै छु ।

गीतहरू मैले सुरुमा आफ्नै लागि गाएँ । पछिपछि गएर मैले श्रोताहरूका लागि गाएँ । कलकत्ता गएर रेकर्ड निकालें । मैले रेकर्ड गराउँदा तारादेवी, उर्मिला श्रेष्ठहरूको रेकर्ड बजारमा निस्किसकेको थियो । तर, दार्जिलिङमा भने पहिलोपटक गायिकाका रूपमा मैले नै गीत रेकर्ड गराएकी थिएँ ।

संगीतसम्बन्धी मेरो धेरै नै मीठा अनुभवहरू छन् । त्यस्ता क्षणहरू सम्झँदाखेरी म धेरै नै घटना सम्झन पुग्छु । त्यस्तो घटनामध्ये पनि छोटो समयको गीतले पनि मानिसमा सन्तुष्टि दिन सक्दोरहेछ भन्ने ज्ञानलाई प्रमाणित गरिदिने एउटा घटनाको स्मरण गर्न चाहन्छु । म त्यतिबेला दार्जिलिङको हिमालय कला मन्दिरमा थिएँ । त्यहाँ कलकत्ता, दिल्लीबाट मन्त्री, वरिष्ठ व्यक्तिहरू आइरहन्थे । त्यतिबेला नेपाली संगीतको प्रचलन नभएको होइन, म स्वयम्ले नै गीत रेकर्ड गराइसकेकी थिएँ । त्यतिबेलाकै एउटा सुखद घटना सम्झन पुग्छु । संगीतलाई विचार गर्दा तीन मिनेटको छोटो अवधिमा गाइएको गीतले मान्छेलाई सन्तुष्टि दिँदोरहेछ । जसरी शास्त्रीय संगीतमा घन्टौं गीत गाएर श्रोतालाई सन्तुष्ट पार्छन् । तिनीहरूले त्यस्तो खोजेको हुन्छ तर छोटो अवधिमा गाइएको साना गीतहरूले पनि मान्छेलाई सन्तुष्टि दिँदोरहेछ भन्ने कुरा मैले कसरी थाहा पाएँ भने धेरै वर्षअगाडिको कुरा हो– खार्साङ रेडियोको एकजना तबलावादक उस्ताज वल्लु खाँ हुनुहुन्थ्यो । उहाँ हाम्रो घरमा आइरहनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘विहार, लखनौतिर शास्त्रीय संगीतका वरिष्ठ कलाकारहरूको सम्मेलन भइरहन्छ । तँलाई म त्यस्तो ठाउँमा लिएर जान्छु, शान्ति ।’ यसरी उहाँले नै मलाई पहिलोपटक विहारको पट्नामा त्यस्तो कार्यक्रममा सहभागी गराउनुभयो । यो मेरो पहिलो भ्रमण थियो । त्यस कार्यक्रममा भारतका प्रथम श्रेणीका शास्त्रीय संगीतका महारथीहरूको जमघट भइरहेको थियो ।

कार्यक्रमको क्रमसँगै एक दिन उस्ताज वल्लु खाँले भन्नुभयो, ‘एउटा घरमा जानुपर्छ, त्यहाँ गीत गाउनचाहिँ होइन, त्यहाँ धेरै नै वरिष्ठ संगीतकर्मी र कलाकारहरूको जमघट हुन्छ, चिनजान हुन्छ ।’ उहाँको आग्रहमा मेरो कान्छा भाइ दिलिपसँग म त्यो घरमा गएँ । त्यो घर साधारण मानिसको थिएन, त्यो साह्रै ठूलो भव्य महल थियो । त्यो घरको मालिक धनाढ्य थिए नै तर उनको संगीतप्रति ठूलो रुचिसमेत रहेछ । त्यहाँ हामी पुगेपछि, एउटा ठूलो हलमा धेरै नै गीत÷संगीतका सर्जक कलाकारहरू बसेका रहेछन् । म पनि त्यहीँ एकछेउमा बस्न पुगें । मैले हाम्रो उस्ताजलाई बिहानैदेखि अनुरोध गरिरहेकी थिएँ कि ‘मलाई गाउन नलगाउनुस्, लाज होला’ त्यस भीडमध्येमा मेरो अनुहारमा नेपालीपनको छाप देखिन स्वाभाविक नै थियो । किनकि मेरो अनुहारमा नेपाली अनुहारको झझल्को देखिइहालिन्छ । प्रसंगवश त्यहा“ मेरो बारेमा पनि सोधिहाले र उस्ताजले म र दार्जिलिङबाट आएको कुरा बताउनुभयो । त्यहाँका कतिपयले टिप्पणी, ‘अरे दार्जिलिङमा पनि संगीत हुन्छ र ?’

त्यो घरमुली पनि त्यही बैठकमा आएर पलेंटी कसेर बस्यो । कार्यक्रम चलिरहेको थियो । तर, मचाहिँ उस्ताजलाई घरीघरी हेर्दै ‘मलाई गीत गाउन नलगाउनु है’ भन्दै टाउकोले इसारा गरिरहें ।

त्यो घरको भद्र मानिसले मलाई “तँलाई गीत गाउन आउँछ ?” भनेर सोध्दा मैले अहँ’ भन्दाभन्दै ‘तुम गीत जान्ता’ भन्दै गीत गाउन कर गर्यो । ‘तुम गीत जान्ता’ जस्तो लवज प्रयोग गरेकाले म रिसाइसकेकी थिएँ । उस्ताजले पनि एउटा भजन गाइदे न त भनेपछि हार्मोनियम तानेर मैले एउटा साधारण भजन गाएँ । भजन त्यो चीज रहेछ कि त्यो राजामहाराजा र ठुल्ठूला महल र मन्दिरसम्म चल्ने चीज रहेछ । मनलाई जित्न सक्ने । आफ्नो इज्जतको मान पनि राख्न सक्ने भजन रहेछ भन्ने कुरा मैले बुझें । शास्त्रीय संगीतका लागि म तयार थिइनँ । जानेकै अलिअलि भए पनि । भजन गाइसकेपछि त्यो मान्छे मेरो नजिक आयो । पहिला मलाई अलिक अविश्वासको दृष्टि हेरेको भए पनि ‘गाना जान्ता’ भनेको थियो । मैले रिसाएर हेर्दा र उस्ताजले गीत गा भनेर भनेपछि म संगीतमा रूचि भएको मान्छे भजन गाउँदा सायद मैले रिसाएर गाइन होला, त्यसमा डुबेर नै गाएँ होला । त्यो मान्छे त्यसपछि मेरो छेउमा आएर ‘एकदम राम्रो लाग्यो बेटी, साह्रै राम्रो लाग्यो’ भन्यो । त्यसपछि म अलिकति खुसी भएँ । कार्यक्रमको औपचारिकता सकिँदा नसकिँदै म त्यो घरबाहिरको बगैँचा हेर्दै थिएँ । त्यो भद्र मान्छे बाहिर निस्केर मलाई धाप मार्दै भन्यो, ‘हेर मेरो यो घरमा भारतको जति पनि शास्त्रीय संगीतका ज्ञाताहरू छन् । उनीहरू कोही पनि बाँकी छैन नआएको, यिनीहरू कतिकति रात बजाएर, गीत गाएर जान्छन् । तर, तैंले आज एउटा सानो गीत गाएर मलाई सन्तुष्ट बनाइस् । साह्रै खुसी लाग्यो ।’

त्यतिबेला मैले महसुस गरें कि मान्छेलाई तीन मिनेटको संगीतले पनि सन्तुष्ट र खुसी बनाउन सक्दोरहेछ’ भन्ने अनुभव गर्दै त्यो घरबाट म खुसीसाथ फर्किएँ ।

(गायिका तथा संगीतकार शान्ति ठटालसँग सुदर्शन श्रेष्ठले गरेको कुराकानीमा आधारित ।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार