जुत्ता नहुँदा अयोग्य

 

पटकपटक मन्त्री भइसकेका गोपाल किराती एकताका ट्रेकिङ मजदुरी गर्थे । पूर्वमन्त्री किरातीले तीन वर्षमा १२ पटक थोरङ पास गरे । उनी भरियादेखि स्पेयर ब्वाई हुँदै शेर्पा गाइडसम्म बने । भरिया र स्पेयर ब्याईभन्दा शेर्पा गाइड ठूलो पद हो । शेर्पा गाइडले अंग्रेजी भाषा जान्नैपथ्र्यो । पूर्वमन्त्री गोपाली किरातीसँग कुराकानी गरी दीपेन्द्र राईले तयार पारेको स्टोरी ।

 

संवत् २०४० कात्तिकदेखि म ट्रेकिङ मजदुरीमा हिँडेँ । पहिलोपटक नै १९,००० फिट उचाइमा रहेको थोरङ पास जानुपर्ने भयो । काठमाडौंबाट तनहुँको डुम्रेसम्म बसमा गयौँ । त्यहाँबाट पैदल यात्रा सुरु हुन्थ्यो । तनहुँ पुगेपछि सरदारसँग पैसा मागेँ । पैसा थापेर नाम्लो किनेँ । त्यसपछि पर्यटकको भारी बोकेर उकालो लागियो । साथमा मजस्ता आठ–नौजना भरिया थिए ।

लमजुङको भोटेओडार हुँदै मस्र्याङ्दी नदी तरेर बाहुनडाँडा छिचोलेपछि मनाङको चामे पुगियो । त्यतिबेलै कहीँ नभएको हिउँ पर्यो । मसँग जुत्ता थिएन । जुत्ता नभएकाले थोरङ पास गर्न सकिँदैनथ्यो । जुत्ता किनुँ पैसाले नपुग्ने, नकिनु गन्तव्यसम्म कसरी पुग्ने ? जुत्ता नभएपछि सरदारले मलाई चामेबाटै फर्काए । अमिलो मन पार्दै नाम्लो बोकेर म काठमाडौँ फर्किएँ ।

कसोकसो गरी मैले जुत्ता किनेँ । जुत्ता किन्दा संसार जितेजस्तो लाग्यो । मैले पर्यटकको भारी बोकेर एकपटक, स्पेयर ब्वाई (अतिरिक्त भरिया) भएर दुईपटक र नौपटक शेर्पा गाइड गरी तीन वर्षमा बाह्रपटक थोरङ पास गरेँ । दिनको ३० रुपैयाँ पारिश्रमिक पाउने पर्यटक भरिया स्पेयर व्बाई हुँदै शेर्पा गाइड भएपछि मलाई केही सहज भयो, आम्दानी र काम दुवै हिसाबले । भरियाले ३० किलोग्रामबराबरको भारी बोक्नुपर्ने नियम भए पनि सरदारले ५० केजी बढी तौलको भारी बोकाउँथे । र पनि कसैले केही बोल्नै सक्दैनथे । शेर्पा गाइड भएपछि ५० केजी तौलको भारी बोकेर पर्यटकको पछि लाग्ने मेरो थाप्लोले पालो पायो । अब मैले पर्यटकलाई ‘दिस वे, उस वे’ भन्दै हिँड्नुपथ्र्याे । पाल टाँग्नु, उठाउनु त छँदै छ । भरिया र स्पेयर ब्याईभन्दा ठूलो पद हो– शेर्पा गाइड । शेर्पा गाइडले अंग्रेजी भाषा जान्नैपर्छ । अंग्रेजी भाषा राम्रै भएकाले म छोटो समयमै शेर्पा गाइड भएँ । लाग्छ– अंग्रेजी भाषा राम्रै भएकाले नै त होला सिन्धुपाल्चोकमा रहेको भैरवकुण्ड ट्रेकिङ जाँदा मैैले ‘द इनिसियल ट्रेकिङ इन नेपाल’ शीर्षाकृत नाटक लेखेर स्थानीय भेला पारी प्रदर्शन गरेको थिएँ । शेर्पा गाइडले पर्यटकका लागि पकाइएको खानासमेत खान पाउँछ । शेर्पा गाइडभन्दा माथि कुक र कुकभन्दा माथि सरदार हुन्छ । ०४४–४५ सालतिर सरदार हुनु भनेको प्रधानमन्त्री हुनुभन्दा गाह्रोे मानिन्थ्यो ।

मैले ट्रेकिङ मजदुर भएर नेपालको थुप्रै गाउँठाउँ घुमेको छु । मुस्ताङ पूर्वका गाउँठाउँ प्रायः घुमेँ । भरियाकै भेषमा नेपाली जनजीवन नजिकबाट नियाल्ने मौका मिल्यो । अन्नपूर्ण राउन्डमात्रै बाह्रपटक गरेँ । अन्नपूर्ण राउन्ड गर्दा पन्चासे, घान्द्रुक, लान्द्रुकतिर पर्यटक घुमाएको अनि ट्रेकिङ जाँदा आफैँ मादल बजाउँदै रेशम फिरिरी गीत गाएर पर्यटकलाई मनोरञ्जन दिन गरेको प्रयास हिजैजस्तो लाग्छ ।
पर्यटकसँगै खाना खान पाउने भएपछि मैले एक पैसा पनि बाटोमा लिइनँ । सबै पैसा कार्यालयमै लिन्थेँ । बाटोमा पैसा लिनेले विसंगतितिर लागेर सिध्याउँथे । मलाई त्यसो गर्ने छुट थिएन । भदौमै मकै सकिने, फागुनमै कोदोको खोलेसमेत खान नपाउने परिवारमा हुर्केको मैले आफ्नो पारिवारिक पृष्ठभूमि बिर्सन हुँदैनथ्यो । चार माना मकै पिँधेर दैनिक चार मुठीका दरले नाप्दै चारजनाको परिवारले आठ–दस दिन खानुपर्ने मेरो घरको बाध्यता थियो । त्यति गर्दा पनि केही नलागेपछि आमा र दिदीले जंगलबाट खोजिल्याउनुभएको गिठ्ठा–भ्याकुर पोलिखाई बाँचेका थियौँ । त्यसले पनि नपुगेपछि भकिम्लो र काभ्राको पात उसिनेर खोले बनाएर खाइबाँचेको म विसंगतितिर कसरी लाग्थेँ ?

ट्रेकिङ र एक्सपिडिसन फरक–फरक काम हुन् । ट्रेकिङ जाँदा ठाउँ हेरिन्छ । एक्सपिडिसन भनेको आरोहण गर्न जाने हो । तसर्थ, आरोहण गर्नलाई गम्भीर मानिन्छ । त्यसमाथि विन्टर एक्सपिडिसन (हिउँदे आरोहण) ज्यादै गाह्रो काम हो । एक्सपिडिसन जाँदा हाइअल्टिच्युड (लेक) लाग्ने हुन्छ । त्यसबाट बच्न आवश्यक सामग्री भएन भने ठूलो समस्या आइपर्छ । बाटो तेर्साे भए पनि त्यतिबेला लेक लागेर हिँड्नै सकिँदैन । यस्ता थुप्रै समस्या बेहोर्नुपर्छ ट्रेकिङ जाँदा । हिउँदे आरोहणमा मकालु (संखुवासभा) जाँदा यस्ता विकराल समस्या मैले पनि बेहोरेको छु । जीवनको पूरै तागत भएकाले नै होला त्यतिबेला खासै अप्ठ्यारो महसुस भएन ।

पोल्यान्डका पर्यटकसँग ०४४ कात्तिक जाँदो मंसिर लाग्दो मकालु आरोहणमा निक्ल्यौैँ । पर्यटक असाध्य रुखो स्वभावका थिए । मजदुरलाई हेप्थे । त्यतिबेला मैले मेलव्बाई (चिट्ठी ओसारपसार) को काम पाएको थिएँ । म मेलव्बाई भए पनि अतिरिक्त पैसा कमाउने लोभमा थाप्लो कुच्चिनेगरी भारी बोक्थेँ । मकालु आरोहणक्रममा हामी बास बसेको ठाउँदेखि मकालु हिमालको फेदीसम्म सामान पुर्याएबापत पाँच सय र पहिलो क्याम्पसम्म पुर्याउनेलाई साढे सात सय पारिश्रमिक दिइन्थ्यो । आफ्नो दायित्वअनुसारको तलब छुट्टै थियो । घरको दुःख सम्झेर म काममा गधाझैँ जोतिएको थिएँ ।

ट्रेकिङ जाँदा पर्याप्त सामान नहुँदाको पीडा एकातिर, सरदार र पर्यटकबाट हेपिनुको पीडा अर्काेतिर थियो । त्यसमाथि पर्वतारोहण क्षेत्रमा त्यतिबेला शेर्पा जातिले गैरशेर्पालाई यसले काम गर्न सक्दैन भन्ने दम्भ थियो । अहिले के छ थाहा छैन । त्यो दम्भसँग गैरशेर्पा जातिले लड्नपथ्र्याे । तसर्थ गैरशेर्पा जातिले जोखिमभन्दा जोखिम काम गर्न तयार हुनुपथ्र्याे । त्यसो गर्न सकिएन भने नैतिक संकटमा परिन्थ्यो । सम्बन्धित कामका लागि अयोग्य ठहरिन्थ्यो । यसरी थिचिनु किचिनुको पीडा खनिखोस्री साध्य छैन ।

मकालु आरोहण सकिएको थिएन । पुस अन्तिम र माघ लाग्दैतिर गु्रपलिडरले लेखेको चिट्ठी लिएर म एक्लै काठमाडौँ फर्कें । फर्कंदा संखुवासभामा पर्ने मुबुक ओडारमा बास बसेँ । बेलुका कहीँ नभएको हिउँ पर्यो । बिहान उठ्दा हिउँले ओडार बन्द थियो । ओडारबाट निक्लन खोजेँ सकिनँ । दुई दिन दुई रात ओडारमै सुतेर बिताएँ । दिसा–पिसाबसमेत ओडारभित्रै गरेँ । त्यतिबेला भोकभोकै हिँडेको ती दिन सम्झँदा आज पनि मन अमिलो हुन्छ ।

ट्रेकिङ जाँदा टिप्स पाइन्थ्यो । टिप्स भनेपछि मरिहत्ते गर्नेहरू ट्रेकिङ जाँदा तीन सेट कपडा बोकेर हिँड्थे । त्यसमध्ये एउटा पूरै फाटेको थोत्रो । त्यो लुगा लगाउँदा मुस्किलले लाज ढाक्थ्यो । अर्काे अर्धनो र तेस्रो राम्रैखालको लुुगा हुन्थ्यो । यदि १५ दिनको टे«किङ गएको हो भने उनीहरू सुरुका पाँच दिन राम्रो कपडा लगाएर हिँड्थे । बीचको पाँच दिन अर्धनो र बाँकी ११ देखि १५ दिन सबैभन्दा थोत्रो लुगा लगाउँथे । यसको मतलब उनीहरूको आकांक्षा हुन्थ्यो– पर्यटकले आफ्नो दुःख देखोस् र राम्रा कपडा देओस् । मैले कहिल्यै त्यसो गरिनँ । बरु सिन्धुपाल्चोकको भैरवकुण्डबाट फर्कनेक्रममा टिप्स लिन नमान्दा मलाई सरदारले हप्कीदप्की गरेका थिए । टिप्सका नाममा बाँडिने थोत्रो कपडाप्रति मलाई त्यति मोह थिएन । ‘टिप्स लिए पनि नलिए पनि तँलाई कुहिरेको पुच्छरै भन्छन् क्यारे’ भन्दै मलाई सरदारले त्यतिबेला गाली गरेको आज पनि बिर्सेको छैन । त्यतिबेला मैले टिप्स नलिँदा किन टिप्स नलिएको भनी सोध्नेलाई मैले भनेको थिएँ– मलाई यो थाङ्नामुङ्ना चाहिँदैन । मेरो उत्तर सुनेपछि हामीसँग भैरवकुण्ड गएका पर्यटकमध्येका प्रश्नकर्ताले मलाई टिप्सस्वरूप पाँच सय दिँदा मलाई गाली गर्ने सरदारसमेत तीनछक परेका थिए ।

‘व्यक्ति धनी भएर समाज धनी हुँदैन, समाज धनी भएमा व्यक्ति स्वतः धनी हुन्छ’ भन्ने मैले सिकेको पहिलो माक्र्सवाद थियो । मैले जानेबुझेको माक्र्सवादअनुसार मैले पाएको टिप्स आफैँ राखेँ भने म धनी हुन्छु भन्ने डर मान्दै आफूले टिप्सस्वरूप पाएको कपडा साथीहरूलाई बाँड्थेँ ।

ट्रेकिङ जाने क्रम जारी थियो । लाहुर जाने सपना देख्न छाडेको थिइनँ । गेटपास पाएर पोखरासम्म पुगेकै हुँ । सिम्मा उपन्यास पढेपछि लाहुर जाने मन मरेर आयो । त्यसपछि पढेर विद्वान् बन्ने लोभमा फसेँ । एक दिन निरञ्जनगोविन्द वैद्यको प्रगतिशील पुस्तक भण्डार असनबाट ६ हजार रुपैयाँमा एक रिक्सा किताब किनेँ । किनेको किताब पढिसक्न ०४४ फागुनबाट ०४५ असारसम्म लाग्यो । माक्र्सवादी दर्शन पढ्न थालेपछि घरपरिवारमाथि बरोबर ध्यान दिने म आधाउधी निष्ठुर भइसकेको थिएँ । राजनीति बुझ्दै गएपछि (०४५ देखि) ममा एकाएक परिवर्तन आयो । त्यहाँदेखि म राजनीतितिर लागेँ । बन्धकीमा परेको आमाको सुनको बुलाकी (बुलाकी मावली हजुरबुवाले आमालाई दिनुभएको थियो) धन कमाएर फर्काउँछु भनी संकल्प गरेको थिएँ । ६–६ हजारमा किताब किनेँ तर आमाको बुलाकी निखन्न मेरा लागि भ्यागुताको धार्नी कहिल्यै पुगेन । गाउँकै प्रधानपन्चको रिन बुझाउँदा रित्तिएको गोठ रित्तिएको रित्तियै भयो । साइँली दिदीले ल्याइदिनुभएको आठ सयको नेसनल पानासोनिक रेडियो अर्काकै घरमा घन्किरह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार