जनजाति, दलित, मधेसीलाई अथाह चुनौती

जेबी विश्वकर्मा

अमेरिका, युरोपलगायत थुप्रै विकसित मुलुकका विश्वविद्यालयमा नेपाली प्राध्यापक पनि अध्यापनमा संलग्न छन् । विश्वमै ख्याति कमाएका विश्वविद्यालयमा प्राध्यापन गर्ने तथा प्राज्ञिक क्षेत्रमा काम गरिरहेका नेपाली प्राध्यापकमध्ये थोरैमात्र नेपालको विकास, समृद्धि, विकास तथा उन्नतिका विषयमा चिन्तित छन् । अझ नेपालका सीमान्तकृत तथा बहिष्करणमा पारिएका समुदायबारे अध्ययन–अनुसन्धान गर्ने र प्राज्ञिक तथा वैचारिक बहसमा संलग्न हुने प्राध्यापक नगन्य मात्रामा छन् । तीमध्ये निरन्तर नेपालको आदिवासी जनजाति, दलित, मधेसीलगायतको सवालमा निरन्तर अध्ययन—अनुसन्धानमा संलग्न प्राध्यापक हुन्— डा. महेन्द्र लावती । लावती करिब दुई दशकदेखि निरन्तर नेपालको अग्रगामी राज्य रूपान्तरणका लागि प्राज्ञिक बहसमा निरन्तर लागिरहेका छन् । यतिमात्रै होइन, दक्षिण एसियाकै समावेशी लोकतन्त्रबारे उनी अनुसन्धान र प्राज्ञिक बहसमा संलग्न भइरहेका छन् ।

अमेरिकास्थित मिचिङ्गन युनिभर्सिटीको राजनीतिशास्त्रका प्राध्यापक लावती नेपालका बहिष्करणमा पारिएका समुदायबारे निरन्तर अध्ययन–अनुसन्धान गरिरहने प्राज्ञिक व्यक्ति हुन् । सो युनिभर्सिटीमा सन् २००५ मा सहायक प्राध्यापकका रूपमा अध्यापन सुरु गरेका लावतीले सन् २००८ मा एसोसिएट प्रोफेसर र भर्खरै प्राध्यापक भएका हुन् । अध्यापनको लामो अनुभवपछि मात्रै प्राध्यापक हुने पश्चिमा देशहरूमा लावती भने निकै छोटो समयमा प्राध्यापक भए । अमेरिकाजस्तो प्रतिस्पर्धी ठाउँमा अब्बल बनाउन नसकेको भए यो सफलता पाउन कठिन थियो । भन्छन्, ‘एसोसिएट प्रोफेसर भएको तीन वर्षमै प्रोफेसर हुने मिचिङ्गन युनिभर्सिटीअन्तर्गत राजनीतिशास्त्र विभागको म पहिलो हुँ । यहाँ धेरैजना निकै लामो अनुभवपछि मात्रै प्रोफेसर भएका छन् ।’ यो सफलता निरन्तर संघर्ष र मिहिनेतकै प्रतिफल भएको उनी बताउँछन् । ‘मैले आफ्नो काममा रुचिपूर्वक मिहिनेत गरेँ, त्यसैमा रमाएँ । अर्को कुरा मैले चुनौती उठाएँ, जसले मलाई ‘एक्स्पोजर’ र अवसर दुवै दियो ।’ विकासशील मुलुकबाट विकसित मुलुकमा प्राज्ञिक क्षेत्रमा सफलता हात पार्न सजिलो भने छैन । भन्छन्, ‘आदिवासी जनजाति, दलित, मधेसीलाई जहाँ पनि अथाह चुनौती छन् । चुनौतीलाई जित्न सके मात्रै सफल भइन्छ ।’

लावती अहिले मिचिङ्गन युनिभर्सिटीमा तुलनात्मक राजनीतिक, अन्तर्राष्ट्रिय विकास, लोकतान्त्रीकरण, राज्य निर्माण, सामुदायिक राजनीति र सामाजिक आन्दोलन, अन्तर्राष्ट्रिय द्वन्द्व नेपाल र दक्षिण एसियाबारे अध्ययन र अध्यापन गर्दै आइरहेका छन् । उनले नेपालको सन्दर्भमा राज्यको पुनर्संरचना, समावेशी लोकतन्त्र, संघीयताजस्ता सवालमा थुप्रै पुस्तक, कार्यपत्र, जर्नल लेख र कोलम लेख्दै आएका छन् । नेपालजस्तो बहुसांस्कृतिक र राजनीतिक अवस्था भएको देशमा हुने लोकतान्त्रिक बहिष्करणबारे विद्यावारिधि (पीएचडी) गरेका लावतीलाई सोही अनुसन्धानले यस क्षेत्रमा लाग्न थप प्रेरित गर्यो । समसामयिक राजनीतिक फिलोसोफर मारिअन योङको गाइडेन्समा पिटसवर्ग युनिभर्सिटी अमेरिकाबाट उनले सन् २००२ मा विद्यावारिधि सकाएका हुन् । उनको एक्सक्लुजनरी डेमोक्रेटाइजेसन ः मल्टिकल्चरल सोसाइटी एन्ड पोलिटिकल इन्स्ट्यिुुसन इन नेपाल शीर्षकको अध्ययन अमेरिकाभरिका उत्कृष्ट पीएचडी डिजटेसन कम्पिटिसनमा नोमिनेसन अवार्ड पाएपछि त झन् उनमा अनुसन्धानको ऊर्जा थपियो । त्यसपछि उनी निरन्तर अनुसन्धान तथा लेखनका काममा क्रियाशील छन् । आफ्नै लेखन, सहलेखन तथा सम्पादनमा डेमोक्रेसी एन्ड एक्सक्लुजन : नेपाल इन कम्पेरेटिभ प्रस्पेक्टिभ, नेस्नालिजम एन्ड एथ्निक कन्फ्लिक्ट : मोबिलाइजेसन अफ डाइभर्स ग्रुप इन नेपाल, इथ्निसिटी, इनइक्वालिटी एन्ड पोलिटिक्स अफ नेपाल, द माओइस्ट इन्सरजेन्सी इन नेपाल : रेभुलुसन इन द ट्वान्टी फस्र्ट सेन्चुरी, फेडरल स्टेट बिल्डिङ : च्यालेन्जिज इन फर्मिङ द नेपाली कन्स्ट्यिुसन, गभन्र्मेन्ट एन्ड पोलिटिक्स इन साउथ एसिया, समावेशी संविधानसभा र राज्यको पुनर्संरचना, माइनोरिटी प्रोटेक्सन इन साउथ एसियाजस्ता निकै महत्वपूर्ण नौ पुस्तक प्रकाशित भइसकेका छन् । करिब एक दर्जन जर्नलमा लेख लेखिसकेका लावतीले क्याम्ब्रिज युनिभर्सिटी प्रेस, रौटलेज, लन्डन, सेज पब्लिकेसनलगायतका प्रसिद्ध प्रकाशकका तीन दर्जनभन्दा बढी पुस्तकमा लेख प्रकाशित भइसकेका छन् । सेज प्रकाशनले सन् २००५ मा प्रकाशित गरेको टवार्ट अ डेमोक्रेटिक नेपाल : इन्क्लिुसिभ पोलिटिकल इन्स्टिच्युसन फर अ मल्टिकल्चरल सोसाइटी निकै चर्चित पुस्तक हो, जुन अहिलेसम्म पाँचपटक पुनर्मुद्रण भइसकेको छ । उनले देशविदेशका २५० भन्दा बढी सम्मेलनमा कार्यपत्र प्रस्तुति र सार्वजनिक प्रस्तुति गरिसकेका छन् ।

आदिवासी जनजाति, दलितलगायत सीमान्तकृत समुदायको विषय नै उनको खोजी र रुचिको विषय रहँदै आएको छ । भन्छन्, ‘नेपालमा ज्ञानको उत्पादन विशेषगरी उच्च जाति र वर्गबाट हुने गरेको छ । ती उनीहरूले नै विकास गरेका फ्रेम र अवधारणाबाट निर्देशित छन् । त्यसकारण ज्ञानका ती स्रोत कि त अपूर्ण हुन्छ कि त पक्षीय (बायस) हुन्छन् ।’ त्यसकारण सीमान्तकृत समुदायबारे प्राज्ञिक काम गर्न जरुरी रहेको उनको तर्क छ । प्राज्ञिक क्षेत्र विचार निर्माण गर्ने स्वतन्त्र क्षेत्र भएकाले पनि यस क्षेत्रमा काम गर्नुमा छुट्टै आनन्द रहेको उनको अनुभव छ । ‘मैले प्राज्ञिक क्षेत्रबाट सामाजिक अवस्था र विषयमा अनुसन्धान, विश्लेषण गरिरहेको छु, यसले नेपाली समाजको रूपान्तरणका लागि केही सहयोग पुगेको होला भन्ने आशा गरेको छु,’ उनी भन्छन्, ‘प्राज्ञिक क्षेत्रबाट राम्रा सामग्री आउन सकेमा स्वाभाविक रूपमा त्यसले राज्यलाई अगाडि बढाउन सहयोग गरिरहेकै हुन्छ ।’ लावती आफूले प्रायःजसो बहिष्करणमा पारिएका आदिवासी जनजातिका मुद्दा उठाउँदै आएको र त्यसैले आफूलाई सन्तुष्टि दिइरहेको बताउँछन् । तर, आफ्नो लेख कतिपय नेपाली शासक वर्गका मानिसले मन नपराउने गरेको उनी बताउँछन् । भन्छन्, ‘मेरा लेख बहिष्करणमा पारिएका समुदायका अधिकार स्थापित गर्ने सन्दर्भमा बढी हुन्छन्, व्यावसायिक भनिएका पत्रपत्रिका र म्यागेजिनले कहिलेकाहीँ नछाप्नु उनीहरूले मन नपराउनुको संकेत हो । ती लेखहरू मैले अन्तर्राष्ट्रिय मिडियामा चाहिँ छापेको छु ।’

उत्तरपूर्व राजनीतिशास्त्र एसोसिएसनको ३४औँ वार्षिकीमा द बेस्ट पेपर अवार्ड नोमिनेसन–२००२, पिटसवर्ग युनिभर्सिटीबाट सन् १९९८ देखि २००१ सम्म निरन्तर प्रोफेसनल डेभलेपमेन्ट अवार्डलगायतका अवार्डबाट सम्मानित भइसकेका लावतीले उत्तर अमेरिका, युरोप र दक्षिण एसियाका विभिन्न देशमा लेक्चर कक्षा दिइसकेका छन् । अमेरिका, अस्ट्रेलिया, युरोप, दक्षिण अमेरिका र मध्यपूर्वका मिडियाले थुप्रैपटक उनीसँग सीमान्तकृत समुदाय, लोकतान्त्रीकरणजस्ता विषयमा अन्तर्वार्ता दिइसकेका लावती देशविदेशमा नेपालको लोकतान्त्रीकरण, आदिवासी जनजातिलगायत सीमान्तकृत समुदायका सन्दर्भमा विभिन्न सम्मेलनको आयोजक, प्यानलिस्ट र प्रस्तोताका रूपमा भूमिका निर्वाह गरिसकेका छन् । अमेरिकन पोलिटिकल साइन्स, मिडवेस्ट पोलिटिकल साइन्स एसोसिएसन, एसोसिएसन अफ नेपाल एन्ड हिमालयन स्टडिज, नेपाल इन्जिनियर्स एसोसिएसनलगायतका व्यावसायिक संस्थामा संलग्न रहेर काम गरिसकेका लावतीले विश्वव्यापी सदस्यहरू रहेका एसोसिएसन फर नेपाल एन्ड हिमालयन स्टडिजको दुई कार्यकालसम्म अध्यक्ष पदमा निर्वाचित भएर नेतृत्व गरिसकेका छन् ।

नेपालमा यतिबेला संघीय राज्यको स्वरूप, सीमांकन र अधिकार बाँडफाँडको विषय राजनीतिज्ञ, विज्ञदेखि सामान्य नागरिकमा समेत छलफलको विषय बनेको छ । प्रदेशका आधार, खाका, विकास र समावेशीकरणसम्बन्धी बहस नै अहिलेको मुख्य राजनीतिक बहस हो ।
इन्जिनियर बन्ने लक्ष्य बोकेका लावती अहिले समाजविज्ञानका विज्ञका रूपमा परिचित छन् । पाँचथर जिल्लाको यासोक गाविसमा जन्मिएका लावती विगत सम्झिँदै भन्छन्, ‘पढेपछि कि त मेडिकल डाक्टर कि इन्जिनियर बन्नुपर्छ भन्ने सामाजिक मान्यता व्यापक थियो, त्यतिबेला । त्यसको स्वाभाविक प्रभाव हाम्रो परिवारमा पनि थियो,’ उनी थप्छन्, ‘मलाई मेडिकल डाक्टर बन्नेभन्दा इन्जिनियर बन्ने बढी इच्छा थियो । त्यसैले भारतको केरलामा आर्किटेक्ट इन्जिनियरिङ पढेँ ।’ सानैदेखि समाजविज्ञानसँग सम्बन्धित विषयप्रति बढी चासो राख्ने लावतीले काठमाडौं बूढानीलकण्ठ स्कुलबाट एसएलसी पास गरेका हुन् । इन्जिनियरिङ पढ्नेक्रममै पनि समाजविज्ञानसँग सम्बन्धित पुस्तक दिनप्रतिदिन धेरै पढेका लावती भन्छन्, ‘समाजविज्ञान अध्ययन गर्नु त्यतिबेला मेरो रुचिको विषय थियो तर व्यवसाय होइन ।’

तर, जब उनले अमेरिकाको हवाइमा सहरी र क्षेत्रीय योजनाबारे स्नातकोत्तर पढ्नका लागि इस्ट—वेस्ट सेन्टरबाट फेलोसिप पाए त्यतिबेला उनले योजना (प्लानिङ) नितान्त समाजविज्ञान रहेछ भन्ने कुरा बुझे । त्यसपछि समाजविज्ञानलाई थप अध्ययन गर्न थालेका लावतीले दिइएको दुई वर्षको फेलोसिप डेढ वर्षमै पूरा गरेर सोकी युनिभर्सिटीको राजनीतिशास्त्र विभागमा सार्वजनिक नीतिसम्बन्धी कक्षा लिए । त्यो कोर्सले अझ बढी उनलाई समाजविज्ञान र राजनीतिबारे थप उत्प्रेरित पार्यो । त्यही उत्प्रेरणाबाटै विज्ञता हासिल गरेका लावती नेपालमा बहिष्करणमा पारिएका समुदायबारे अझै पर्याप्त मात्रामा अध्ययन–अनुसन्धान हुन नसकेको बताउँछन् । आगामी दिनहरूमा पनि नेपालको लोकतान्त्रीकरण र बहिष्करणमा पारिएका आदिवासी जनजाति, मधेसी, दलितलगायतका सन्दर्भमै अध्ययन–अनुसन्धानमा संलग्न भएर आफ्नो कर्तव्य पूरा गर्ने सोच लावतीको छ । भन्छन्, ‘मैले आफ्नो देशको समृद्धिका लागि आफूले सकेको योगदान गर्नु मेरो कर्तव्य हो । बहुसंख्यक बहिष्करणमा पारिएका नेपाली समुदायका लागि थप अध्ययन गर्ने र प्राप्त भएका कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा लैजाने विचारमा छु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार