गुरुङ गाउँले धानेको ग्रामीण पर्यटन

आश गुरुङ

लमजुङ गुरुङको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, संस्कार र संस्कृति छ । हिमाली काख र स्वच्छ हावापानी रुचाउने गुरुङ समुदायको लमजुङमा बाक्लो बसोबास छ ।
एकै ठाउँमा गुचुमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ । पहिले रोधीँ हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, युवा क्लब, बाबा समूह भएर गाउँको विकास निर्माणमा जुटेका छन् । यस्तै उनीहरू पछिल्लो समय ग्रामीण पर्यटनतर्फ समेत आकर्षित हुन थालेका छन् ।
सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँदेखि एउटै गाउँ र एउटै गाउँ विकास समितिले परिचित भुजुङ गाउँ लमजुङमै पर्छ । गुरुङको उद्गमथलो घनपोखरा पनि लमजुङमै हो । ती गाउँठाउँबाट सुरु सामूहिक एकता अहिले अन्य गुरुङ गाउँमा पनि फैलिएको छ । समूह–समूह हुँदै पछिल्लो समय स्थानीयले गाउँमा पर्यटन प्रवद्र्धन गर्न/गराउन छुट्टै समितिसमेत स्थापना गरेका छन् । अहिले लमजुङका प्रायः गुरुङ गाउँमा पर्यटन समिति भनेर छुट्टै गठन गरिएको छ ।

मुलुकको विषम परिस्थितिका बाबजुद लमजुङमा पर्यटकीय घलेगाउँबाट ग्रामीण पर्यटन सुरुवात भएको मानिन्छ । ०५७ मा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु लमजुङको ग्रामीण पर्यटन अवधारणा पछिल्लो समय अन्य समुदायका गाउँसम्म पुगेको छ । घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनासमोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु, पुरानकोट, गाउँसहर, इलमपोखरी, नाल्मालगायतका गाउँ तथा गाविसमा पुगेको हो । ती ठाउँका बासिन्दा पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक डाक्न जुर्मुराएका छन् । विशेषगरी लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाललाई छर्लंग नियाल्न सकिने ठाउँ भएकाले ती गाउँहरूबाट मस्र्याङ्दी, खुदी, मिदिमलगायतका नदीनाला देखिन्छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँबाहेक अन्य जिल्लाका भिन्दाभिन्दै ठाउँहरू देख्न सकिन्छ, लमजुङका ग्रामीण क्षेत्रबाट । त्यसैले त पर्यटक पनि ती ठाउँप्रति निकै आकर्षित छन् । विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँ हुन् तर सबै पर्यटकीय गाउँ गुरुङ गाउँ भने होइनन् । ग्रामीण पर्यटन अवधारणाको सुरुवात गुरुङ गाउँबाटै भएको हो ।
गुरुङ जातिको आदिम थलो क्होलः सोंथरबाट बसाइँ सर्नेक्रममा गुरुङहरू लमजुङको घनपोखरा र भुजुङको सिमाना बिजों आएर बसेको बताइन्छ । त्यसपछि घनपोखराको फुल्बु च्होमा आएका गुरुङहरू सुरक्षा, आर्थिक, व्यावहारिकलगायत आवश्यकताका कारण ठाउँठाउँमा गएर बस्न बाध्य भएको गुरुङ इतिहासविद्हरू बताउँछन् । अहिले गुरुङ समुदाय पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै नभई विश्वका औद्योगिक मुलुकहरूमा समेत पुगेका छन् ।
घनपोखराको नाल, दसथरमा पर्ने घलेगाउँ अहिले विश्वमै चर्चित छ । सार्क राष्ट्रकै नमुना गाउँका रूपमा प्रख्यात मानिन्छ यो गाउँ । जुन समुद्र सतहदेखि करिब २,१०० मिटर उचाइमा रहेको छ । घलेगाउँमा एक सय १५ घर छन् । उनीहरूले पहिलोपटक ०५६ देखि ग्रामीण पर्यटन अवधारणा भित्र्याएर ०५७ देखि महोत्सव मनाउन थालेका हुन् । अहिले घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चाप छ । ग्रामीण पर्यटनबाटै स्थानीय बासिन्दाले अहिले वार्षिक लाखौं रुपैयाँ कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समिति अध्यक्ष प्रेम घले बताउँछन् । घलेगाउँमा अहिले ३२ घरमा होमस्टे छ । पर्यटन व्यवसाय बिस्तारै सफल बन्दै गएपछि केही विदेश गएका युवा पनि गाउँ फर्केर बस्न थालेका छन् ।

सालिन्दा घलेगाउँ महोत्सव आयोजना हुँदै आएको छ । प्रचार–प्रसारसँगै घलेगाउँ गुरुङ चलचित्रको छायांकनस्थलसमेत बनेको छ । एवम्रितले घनपोखराका बासिन्दा पनि पर्यटन प्रवद्र्धनमा जुटेका छन् । लमजुङको सबैभन्दा उच्च क्षेत्रमा रहेको घनपोखरा घलेगाउँबाट नजिकै पर्छ । यस्तै, सदरमुकाम नजिकै रहेको खासुरमा पनि ०५८ देखि ग्रामीण पर्यटन प्रवद्र्धन अवधारणा भित्रिएको हो । त्यसयता केही सेलाएको खासुर पछिल्लो समय पुनः पर्यटन प्रवद्र्धनमा जुटेको छ ।
एउटै गाउँ र एउटै गाउँले परिचित भुजुङ, जहाँ चार सय बढी त घरधुरी नै छन् । समुद्री सतहदेखि १,६५० मिटर उचाइमा रहेको भुजुङ पर्यटकीय हिसाबले निकै अगाडि छ । अहिले २५ घरमा होमस्टे राखिएका छन् भने आधा दर्जन त होटल नै छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भुजुङमा समेत महोत्सव आयोजना गरिएको थियो । तर, समय–समयमा लाग्ने मेला र पर्वले भुजुङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको छ । बर्सेनि आन्तरिक तथा बाह्य गरी हजारौं पर्यटक भुजुङ पुग्ने गरेका छन् । भुजुङमा पछिल्लो समय चियाखेती विस्तार भएपछि पर्यटक भुजुङ जान झनै रुचाउँछन् । भुजुङमा ०५६ देखि चौबीसै घन्टा बिजुलीको झिलिमिली छ, बिग्रिएको र रेस्टको समयबाहेक । स्थानीय आमा समूह, पर्यटन समिति, युवा क्बल, रीतिथिति समिति साथै छुट्टाछुट्टै संस्कृतिका समूहहरू गाउँको कला, संस्कृति जगेर्नादेखि लिएर गाउँघरको सरसफाइ र विकास निर्माणमा जुटेका छन् । भुजुङमा अहिले तीनवटा रोप–वेसमेत छ । त्यसो त, भुजुङबाट कास्कीका गुरुङ गाउँ ताङतिङ र सिक्लेससमेत जान सक्ने भएकाले पर्यटक कास्कीबाट आउने र लमजुङबाट जाने गरेका छन् ।

लमजुङको सिउरुङ गाउँ मनास्लु हिमालको काखमा छ, जहाँबाट मस्र्याङ्दी नदी नागबेली बगेको देख्न सकिन्छ । समुद्री सतहदेखि १,६८० मिटर उचाइमा रहेको सिउरुङमा आमा समूह, युवा समूह तथा स्थानीय निकै सक्रिय छन् । पर्यटन प्रवद्र्धनका लागि सिउरुङका बासिन्दाले ०६२ देखि महोत्सव मनाउँदै आएका छन् । यसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको पर्यटन व्यवस्थापन समिति सिउरुङका सचिव उमरबहादुर गुरुङ बताउँछन् । सिउरुङमा १५ घर होमस्टे छन् । त्यस्तै, धैरै समूहमा आउने पर्यटकलाई स्थानीय आमा समूहले सामुदायिक भवनमै राख्ने गरिन्छ । सिउरुङ नजिकैको हर्सिङडाँडा पछिल्लो समय पर्यटकका लागि गन्तव्य बनेको छ ।
ग्रामीण पर्यटकीय गाउँले प्रख्यात पसगाउँ, खासुर, तार्कु, गाउँसहर, काउलेपानी, बाग्लुङपानी, राइनासमोहोरियाकोट, तातोपानी कुण्ड, पुरानकोट, नाल्मा, गिलुङ, करापु, भाचोकलगायतका ठाउँ पर्यटकले रुचाउने ठाउँ हुन् । यी ठाउँमा पर्यटकीय पूर्वाधार विकास सुरु भइरहेको छ । जहाँ खानेपानी, तातो र चिसोपानीले नुहाउने व्यवस्था, भ्यु प्वाइन्टलगायत छन् भने होमस्टेको पनि राम्रो व्यवस्था छ । विशेषगरी प्राकृतिक छटा र स्थानीयको कला, संस्कृति हेर्न पर्यटक ती ठाउँ पुग्ने गर्छन् । विश्वविख्यात अन्नपूर्ण पदमार्गमा जाने विदेशी तथा स्वदेशी पर्यटक यी ठाउँमा जाने गरेका छन् भने यसै ठाउँलाई गन्तव्य बनाएर पर्यटक आउनेक्रम पनि बढेको छ । यसले गर्दा ग्रामीण पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीयको जनजीवनमा समेत सकारात्मक परिवर्तन आएको छ ।
लमजुङको पर्यटन प्रवद्र्धनका लागि जिल्लास्तरमै महोत्सवसमेत हुँदै आएको छ । लमजुङ जिल्लामै गरिने महोत्सव ग्रामीण क्षेत्रको सिको गर्दै आयोजना गरिएका हुन् । पहिले ०६१ मा ऐतिहासिक तमू महोत्सवसमेत भएको थियो । त्यसपछि ०६८ सालमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव भयो । लमजुङमा आयोजित लमजुङ महोत्सवलगायतले पनि ग्रामीण पर्यटन प्रवद्र्धनमा ठूलै टेवा मिलेको छ ।
जिल्ला विकास समितिले लमजुङको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने नीति लिएको छ । लमजुङमा वार्षिक एक दर्जन बढी गाउँमा महोत्सव आयोजना हुँदै आएको छ । ती ठाउँहरूमा जिल्ला विकास समितिले केही सहयोग गरे पनि आफ्नो गाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीय जुटेका हुन् । गाउँकै आमा समूह, युवा समूह मिलेर ग्रामीण पर्यटन अवधारणा भित्र्याएका स्थानीयले पछिल्लो समय हरेक गाउँमा पर्यटन व्यवस्थापन समिति बनाएका छन् । यसमा गाउँबाट विदेश गएका स्थानीयको योगदान पनि ठूलो छ । गाउँमा भएका र विदेशमा रहेका स्थानीय मिलेर उनीहरूले गाउँमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएका छन् । पर्यटकीय गतिविधिसँगसँगै स्थानीयस्तरमा अर्गानिक उत्पादन पनि बढेको छ । यसले गर्दा एकातिर पर्यटकलाई फाइदा पुगेको छ भने अर्कोतर्फ स्थानीयलाई पनि ।
पछिल्लो समय लमजुङको ग्रामीण पर्यटन प्रवद्र्धनका लागि भीरमौरीले पनि महत्वपूर्ण भूमिका खेलेको छ । गुरुङको उत्पत्तिसँगै भीरमौरीको उत्पत्ति भएको गुरुङ पुरोहितहरू बताउँछन् । लमजुङ, कास्की र गोरखाका गुरुङ बस्ती आसपास भीरमौरी रहेका छन् ।
गुरुङ जातिको पौराणिक ‘खार्ब पे’ कथामा गुरुङ र भीरमौरीको साइनो र सम्बन्धबारे व्याख्या गरिएको पाइन्छ । पौराणिक कथाहरू अहिलेसम्म गाउँघरका बूढापाकाले गाइरहेका छन् । लमजुङको भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दूधपोखरीलगायतका भीरपहरामा भीरमौरी प्रशस्तै मात्रामा पाइन्छन् । करिब १,५०० देखि २,५०० मिटर उचाइका पहराहरूमा भीरमौरीले घार बनाएको हुन्छ ।
गुरुङ जातिको परम्परा र इतिहाससँग साइनो भएका यी भीरमौरी जहाँ गुरुङहरूको बसोवास छ, त्यही ठाउँका भीरपहरामा बस्दै आएका छन् । यद्यपि, भीरमौरी भएको सबै ठाउँको भीर अहिलेसम्म अर्थपूर्ण रूपमा गुरुङ भाषामै रहेका छन् । गुरुङसंँगको साइनो गाढा भएकाले पनि पछिल्लोपटक आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा भीरमौरीले निकै टेवा पुर्याउनुका साथै मुलुकको उचाइ नै बढाएको छ ।
ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सरकारी नीति अहिलेसम्म ठोस रूपमा बन्न सकेको छैन । पहिले गाउँका युवाले ख्यालख्यालमा बनाएको समूहले सामाजिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनसम्बन्धी गतिविधि आयोजना सुरु गरेपछि त्यसले अहिलेसम्म ग्रामीण पर्यटन प्रवद्र्धन थेगिरहेको छ । पहिले गुरुङ समुदायका रोधीँबाट सुरु सामाजिक गतिविधि र त्यही सामाजिक गतिविधि हेर्न आउने वारिगाउँ र पारिगाउँबाट सुरु भएको ग्रामीण पर्यटन अहिले बेलायत, अमेरिकासम्म पुगेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन र बाह्य पर्यटक गाउँगाउँमा भित्र्याइ स्थानीयको जीवनस्तर उकास्नका लागि सरकारी योजना नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ । तैपनि स्थानीय लागिपरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार