टर्की संसद्द्वारा संविधान संशोधन

Turkyअङ्कारा । टर्कीको संसद्ले संविधानको धारा १८ लाई संशोधन गर्ने प्रस्तावलाई शनिबार पारित गरेको छ ।  अनाडोलु समाचार संस्थाले जनाएअनुसार, संसद्का कुल मतदातामध्ये ३३९ जनाले संशोधनको पक्षमा र १४२ जनाले विपक्षमा मतदान गरेको जनाएको छ ।

संशोधनले राष्ट्रपतिको अधिकारलाई नाटकीय तरिकाले परिवर्तन गरेको छ । उनीहरुले संशोधनमार्फत मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लगेका छन् । संशोधनका बारेमा झण्डै तीन हप्तासम्म भएको बहसपछि संसद्मा मतदान भएको हो ।

टर्कीमा संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि संसद्मा रहेका कुल सांसदहरु ५५० मध्ये कम्तीमा पनि तीन तिहाइ अर्थात् ३३० मत आवश्यक पर्दछ ।

टर्कीका प्रधानमन्त्री बिनाली यील्डीरिमले संविधान संशोधन प्रस्ताव पारित गरिदिएकोमा सांसदहरुलाई बधाई तथा धन्यवाद दिनु भएको छ । उहाँले जनताप्रति लक्षित गर्दै भन्नुभयो, हामीले हाम्रो काम गर्यौं, अब यसको सम्पूर्ण लाभ जनताकामा पुग्नेछ । तर प्रमुख प्रतिपक्षी दलका नेता केमल किलिक्डारोग्लुले भने संसद्मा गलत खेल भएको आरोप लगाउनुभएको छ । उहाँले “संसद्ले गल्ती गरेको छ, त्यसलाई जनताले उल्ट्याउन सक्दछन्”– भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार