थकाइ, चिन्ताको औषधि कालिञ्चोक

कैलाश राई

वैशाखको याम । तैपनि तुवाँलो र कुहिरोको मुस्लो । प्रायः तुवाँलो र कुहिरोभित्रै ढाकिने गौरीशंकर, कालिञ्चोकडाँडा अनि त्यहाँबाट देखिने ठाउँहरू । मनमोहक दृश्यहरू । हिमशृंखलालाई नजिक्याउने, मनमौजी भएर प्राकृतिक सुन्दरतासँग रम्ने धोको अधुरै रहने हो कि भन्ने शंका धेरै मनमा थियो । मंसिरदेखि माघसम्म हिउँले ढाकिने ३,८४२ मिटर उचाइमा रहेको कालिञ्चोकडाँडा, कुरीभञ्ज्याङ, घ्याङडाँडा र अन्य थुम्कामा माघयता हिमपात परेको थिएन । संयोग, चैत मसान्त र नयाँ वर्षको थालनीको संयुक्त रात गडगडाएर असिनापानी वर्षियो । त्यो रात हामी चरिकोट बजारमा थियौं । तुवाँलो र कुहिरो हट्यो । हामी पुग्ने गन्तव्यस्थल हिउँले ढाकेर सेताम्मे भयो । त्यसपछि बुर्कुसी मारेर हिउँ खेल्न पुगौँ भन्ने मन भयो ।

वैशाख १ गते एकाबिहानै गन्तव्यमा पुग्न उकालो लागियो । डाँडैडाँडा, भीरपाखाहरू । वनपाखाभरि लालीगुराँस । उचाइ बढ्दै गएपछि सेतै फुलेका चिमालले डाँडापाखा सेताम्मे । प्रकृतिको सेतो पहिरनमा आफूलाई सजाएर हामीलाई पाइला चाल्न लोभ्याइरहेका थिए ती प्रत्येक दृश्यले । जति उकालो लाग्यो, उति नै अग्ला गगनचुम्बी डाँडाको अघिल्तिर नै उभिन पुगिन्छ । पार गर्ने डाँडाहरूको शृंखला नसकिए पनि जति माथि चढ्यो उति नै रमाइलोे । प्रकृतिको वास्तविक र सुन्दर छटाहरूका लोभलाग्दो दृश्यलाई मनभरि अंकमाल गर्दै, तिनको सुगन्धको मजा लिँदै तीव्र श्वासप्रश्वास र मीठो थकानसँगै उकालो लागिरह्यो हाम्रो समूह । प्रत्येक अग्लो डाँडाको शिरमा उभिन पुग्दा एउटा बेग्लै उचाइ छोएको अनुभूतिले पुनः उकालो चढ्ने ऊर्जा दिइरह्यो । ती डाँडाहरूमाथि उभिएर हेर्दा एकाबिहानै कुहिरोको घुम्टो खोलेर कुमारी गौरीशंकर हिमाल आडैमा उभिएर मुस्काउँदै स्वागत गरिरहेझैँ लाग्थ्यो । अधिकांश डाँडाहरू आफू सामुन्ने आफ्नै उचाइमा उभिएझैँ देखिए । तन केही थाकेझैँ भए पनि मन त त्यसै फुरुंग ।

चरिकोटबाट उकालो लागेपछि प्राकृतिक रसापन त छँदै छ । त्यसको साथमा देउराली, थाङ्सा, गैरी, कुरीभञ्ज्याङलगायतका बिसाउनीहरूमा कोदास्कीको स्वादमा पनि केही साथीहरू रमाइरहेका थिए । कोदोको रक्सी र आधुनिक ह्वीस्कीको नामबाट फ्युजन गरेर साथीहरूले स्थानीय कोदोको रक्सीको न्वारान त्यसरी गरे । हामीले बाटोमा चाहिने सबै सामान बोकेका थियौँ । मिस्री, चक्लेट, लसुन, बिस्कुट, ग्लुकोज, काजु, बदाम, पानी पर्दा ओढ्ने प्लास्टिकको घुम, छोकडा आदि साथमै थिए । त्यसको अलावा काठमाडौँ उपत्यकाको हावापानी, प्रदूषण, अस्तव्यस्त दिनचर्याबाट मुक्त हुँदै कालिञ्चोकतर्फ लाग्दा कोदास्की, लोकल कुखुराको मासु, चौंरीको दूध र छुर्पीले पनि यात्रालाई बडो मिठासपूर्ण बनायो । चिसो मौसममा अखबरे/डल्ले खुर्सानीका स्वादमा तात्तातो थुक्पा । त्यस्तैगरी ढिँडो, आलु, जिम्बु, माङ्गानी साग र अन्य दुग्धजन्य परिकारको स्वाद । आहा ! मुखैमा झुन्डिरहने स्वाद ।
केही थकान र धेरै उत्साहसँगै हामी कालिञ्चोक भगवतीडाँडा फेदैमा रहेको फलामे गौँडामा पुग्यौँ । त्यहाँबाट हेर्दा कालिञ्चोकडाँडाबाहेक अरू सबै फुच्चाफुच्ची देखिन थाल्यो । फलामे गौँडासँगै रहेको कुरीमा बास बस्ने योजनाअनुरूप हामी त्यहाँ पुग्यौँ । नयाँ वर्ष र जनैपूर्णिमामा कालिञ्चोकको विशेष पूजाआजा गरिने हुनाले बास बस्ने थलोमा मान्छेको घुइँचो थियो । त्यही घुइँचोमा हामी पनि मिसियौँ । एकातिर थामी जातिको परम्परागत नाचगान÷साँस्कृतिक झाँकी, अर्कोतिर कुरी भञ्ज्याङका पसले र तीर्थालुले तामाङ सेलो र आधुनिक गीतको तालमा महिला पुरुष सालाखाला नाच्दा कुरीभञ्ज्याङ रातैभरि घन्कियो । भोलिपल्ट बिहानै कालिञ्चोकडाँडा उक्लिने लस्कर लाग्यो । त्यही लस्करमा थियौँ हामी । नाकै ठोक्किने उकालो, कुहिरोको बाक्लो डुलाइ, भुइँभुइँबाटै छुन सकिने चिमाल, पाखा नाङ्गो देखिने तर भुइँभरि थरीथरीका रंगीचंगी फूल फुलेर बुट्टा भरिएको । गन्तव्यमा पुग्नै लाग्दा हाम्रो समूहका दुई साथीलाई लेक लाग्यो । लेक लाग्दा गर्नुपर्ने सामान्य उपचार गर्दै जसोतसो हामी चुचुरोमा पुग्यौँ ।

किंवदन्तीअनुसार तीन दिदीबहिनीमध्ये सबैले पुज्ने ठाउँ रोज्ने महाँकाल भगवती, अर्को, त्रिपुरासुन्दरी भगवती र कसैले नभेट्ने ठाउँ रोज्ने देवी कालिञ्चोक भगवती हुन् । साँच्चै त्यहाँ पुगेपछि कसैले नभेट्ने ठाउँ नै रोजेकी रहिछन्, ती भगवतिले भन्ने लाग्यो । तर, अचम्मको कुरा कसैले नभेट्ने भनेर हिँडेकी देवीकै खातिर त्यत्रो भीड लागेको थियो । प्रायः लाग्ने गर्छ । कालिञ्चोक भगवतीमा पाठी बलि चढाइँदोरहेछ । त्रिपुरासुन्दरीलाई कसैले पनि हेर्न नहुने मान्यता र विश्वास गरिन्छ भने महाँकाल भगवतीलाई सामान्य रूपमा पूजाआजा गरिँदै आइएको छ । यी दुवै भगवती दोलखा बजारआसपास नै छन् ।
कालिञ्चोकडाँडामा उभिँदा कुहिरोसँग गज्जबको लुकामारी चल्यो । एकनजर हेर्न नभ्याउँदै दृश्यहरूलाई कुहिरोले छोप्थ्यो । अनि एकैछिनलाई कुहिरो हट्थ्यो । चुचुरोबाट गौरीशंकर, सगरमाथा, रोल्वालिङ हिमशृंखलाका साथै अनगिन्ती हिमालहरू देख्दा कसको मन नरमाउला ? लुकामारी खेल्दाखेल्दै डाँडाबाट वरपर हेर्दा उन्मादसाथ मिलेर बसेको भीरपहरा, चौर नागीहरू हेर्दाको बेग्लै मज्जा । चुचुरोदेखि फर्कंदा नागीमा बसेर फायर क्याम्पको मज्जासमेत लिन हामी चुकेनौ । त्यो उकालो, त्यो थकान, त्यो दुखाइ सबै एकपलमा कहाँ बिलायो कहाँ । ओहो, मान्छेको थकान, पीर, चिन्ता भगाउने प्रकृतिमा कत्रो शक्ति । आफूभित्रै इन्द्रधनुषी चमत्कार सँगाल्ने कत्रो सामिप्यता । कालिञ्चोक चुचुरोबाट फर्केर यी पाइलाहरू ओरालो लागे । तर, मन भने त्यहीँका दृश्य र वातावरणमा अडिइरह्यो । नयाँ वर्षको अवसर पारेर कालिञ्चोकको यात्रा गर्दाको आनन्द यी शब्दहरूमा कहाँ र ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार