श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलले कष्टसाथ उम्मेदवार टुंगो लगाए । उम्मेदवार छनोट निकै पेचिलो बन्यो । विवादै विवादबीच पनि दलहरूले प्रत्यक्षतर्फका उम्मेदवाको सूची तयार गरे । कम विवाद देखिएको समानुपातिक उम्मेदवारको पनि निर्वाचन आयोगले अन्तिम सूची प्रकाशन गरिसकेको छ ।

टिकट बाँडफाँडकै विषयलाई लिएर दलहरूमा थुप्रै विवाद भए । कतिपय जिल्लामा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागीसमेत पर्यो । कति छुट्नै नहुने नेता छुटेको चर्चा चलिरहेको छ । टिकटकै विषयलाई लिएर कतिपय नेता दल बदल्नसमेत पछि परेनन् । पछिल्लो समय दलका नेताहरूले आफन्त र नजिकका नातेदारलाई टिकट दिएको चर्चा चुलिएको छ ।

नेपाली राजनीतिमा आ–आफ्ना निकटकालाई टिकट दिने दिलाउने कुरा नौलो होइन । तर, शीर्षदलका शीर्षनेता नै यसपालि श्रीमतीसहित चुनावी प्रतिस्पर्धामा देखिएका छन् । कतिपय नेता पार्टीभित्रको चरम विवादबीच श्रीमान्–श्रीमती नै चुनावी मैदानमा छन् । केहीले प्रत्यक्ष चुनावकै लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् भने केही समानुपातिकमा छन् ।

शेरबहादुर देउवा/आरजु राणा

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । देउवापत्नी आरजु राणा देउवाले कैलाली ५ बाट प्रतिनिधिसभा लागि उम्मेदवारी दर्ता गराएकी छन् । देउवादम्पती नै प्रतिनिधिसभाका लागि प्रत्यक्षमा चुनाव लड्दै छन् । राणाले निकै विवादबीच टिकट पाएको चर्चा कांग्रेसभित्र छ । राणाले पार्टीभित्रै आफ्नो दबदबा जमाएकी छन् ।

वामदेव गौतम/तुलसी थापा

एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दिया १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । गौतमपत्नी तुलसी थापा एमालेको समानुपातिक सूचीमा परेकी छन् । टिकटको विषयमा पार्टीभित्र थुप्रै असन्तुष्ट छताछुल्ल भएको बेला गौतमपत्नीलार्इ समानुपातिक सूचीमा राख्न सफल भए । थापा जनजाति महिलाको कोटाबाट समानुपातिकमा परेकी हुन् ।

वर्षमान पुन/ओनसरी घर्ती

माओवादी केन्द् नेता वर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । पुनपत्नी ओनसरी घर्ती समानुपातिक सूचीमा छिन् । घर्ती पूर्वसभामुखसमेत हुन् । पुन एमाले–माओवादीको वाम गठबन्धनबाट सिट बाँडफाँड कार्यदलमा समेत थिए । पार्टीभित्रका थुप्रै असन्तुष्टिलाई किनारा लगाएर पुनदम्पतीले सांसद बन्ने बाटो बनाए ।

शक्ति बस्नेत/सत्या पहाडी

माओवादी केन्द्र नेता शक्तिबहादुर बस्नेतले जाजरकोटबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । बस्नेतपत्नी सत्या पहाडी प्रतिनिधिसभाकै लागि माओवादीको समानुपातिक सूचीमा छिन् । नेताहरूले आ–आफ्ना नातेदारलाई टिकट दिएको भन्दै पार्टीभित्र आलोचना भइरहँदा पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेतदम्पती नै उम्मेदवार बनेका छन् ।

हितमान शाक्य/अमृता थापा

माओवादी केन्द्र नेता हितमान शाक्यले काठमाडौं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । शाक्यपत्नी अमृता थापामगर माओवादी केन्द्रको समानुपातिक सूचीमा परेकी छन् । टिकटको भागन्डा नमिलेर कतिपय क्षेत्रमा पार्टीविरुद्ध नै बागी उम्मेदवारी दर्ता भइरहँदा शाक्यदम्पती नै प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।

 

सीपी मैनाली/नीलम खड्का

नेकपा माले महासचिव सीपी मैनाली समानुपातिक सूचीमा बसेका छन् । मैनालीले समानुपातिकको सूचीमा आफ्नी पत्नी नीलम खड्कालाई समेत समेटेका छन् । दोस्रो संविधानसभामा पनि मैनालीदम्पती समानुपातिक भोटबाट सांसद बनेका उनीहरू पालैपालो मन्त्रीसमेत बनेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार