जाडोमा घाम ताप्दा चायाँ पोतो आउने, यसरी जोगाउन सकिन्छ छाला

डा. ललन खतिवडा

मौसम परिवर्तनसँगै वातावरणीय तापक्रम पनि कम हुँदै जान्छ । हामी संसारको जुनसुकै ठाउँमा बसे पनि मौसम परिवर्तनको पहिलो असर हाम्रो छालामा देखिन्छ । छालामा पनि तापक्रम परिवर्तनको असर देखिने गर्छ । जाडोयाममा चिल्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीले कम मात्रामा चिल्लो उत्पादन गर्छ, जसले गर्दा शरीर सुख्खा हुने हुन्छ ।
गर्मीको तुलनामा जाडो मौसममा छाला रोग लाग्ने सम्भावना पनि बढी हुन्छ । चिसोमा छालामा देखिने समस्यामध्ये बढी नै सुख्खा हुनु मुख्य समस्या हो । प्रायः यसको प्रभाव बालबालिका र वृद्धवृद्धामा देखिन्छ । साथै थाइराइड, मधुमेहजस्ता समस्या भएका बिरामीलई पनि यसले बढी नै प्रभाव पारेको हुन्छ ।
जाडो मौसममा चिल्लो छाला भएकामा पनि सुख्खापन बढ्छ भने सुख्खा छाला भएकालाई झनै सताउँछ । छाला सुख्खा भएमा चिलाउने र कन्याउँदा छाला बाक्लो भएर एक्जिमा हुनु आमसमस्याका रूपमा रहेको छ ।
जाडो मौसममा अनुहारमा पनि धेरै नै सुख्खा हुने गर्छ । हामीले अनुहारमा केही पनि नलगाउने अर्थात् नढाक्ने हुँदा सिधै यसको असर अनुहारको छालामा पर्न जान्छ । तापक्रम कम हुँदा चिल्लो आइरहेको अनुहारमा पनि चिल्लोको मात्रा कम हुँदै जान्छ ।
यस्तै, जाडो मौसममा औंला सुन्निने र रातो हुने समस्या प्रायः महिलामा देखिने प्रमुख समस्या हो । यसलाई ‘चिल ब्लेन’ भनिन्छ । १५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रम हुँदा यस्तो समस्या देखिन्छ । जाडोमा देखिने यो समस्या गर्मी सुरू भएसँगै आफैं निको भएर जान्छ ।
यसैगरी, जाडोमा उलनका थर्मकोट तथा स्वीटरहरू शरीरमा सिधै लगाउने गरिन्छ । यसले इरिटेसन बढाउनुको साथै शरीर सुख्खा हुने, एलर्जी हुने समस्या बढी हुन्छ । त्यसैले सुतीको कपडा लगाएर मात्र बाहिरबाट ऊनी कपडा लगाउनु राम्रो मानिन्छ ।
जाडो समयमा ‘इक्थाइररोेसिस’ समस्या भएका व्यक्तिलाई पनि धेरै समस्या दिन सक्छ । यो एकप्रकारको वंशाणुगत रोग हो । शरीर धेरै सुख्खा हुने हुँदा माछाको जस्तो कत्ला भएर आउने हुन्छ ।
जाडोयाममा घाम नताप्ने कुरै भएन । तर, घामले पनि नकारात्मक असर पार्न सक्छ । जाडो समयमा घाममा बढी बस्ने हुँदा घामको एलर्जी हुनुको साथै चायाँ र पोतो जाडो समयमा झनै बढेर जाने हुन्छ ।

बच्ने उपाय

जाडोको एलर्जीलाई तीन प्रमुख तत्वले धेरै असर गर्छन् । जस्तै चिसो पानी, चिसो हावा र कम तापक्रम । तीनवटै कारणले छालामा विभिन्न रोग आउन सक्छ । यस्ता जोखिमबाट बच्न सक्नु नै रोकथामको प्रमुख उपाय हो ।
एलर्जी, रातो रातो डाबर आउने समस्या हुने हुनाले व्यक्तिहरूले उलनको कपडा सिधै शरीरमा लगाउनुहुँदैन । भित्रबाट कटन वा सुतीको कपडा लगाएरमात्रै उलनको कपडा लगाउनु राम्रो हुन्छ । एक दिन बिराएर नियमित रूपमा नुहाउने, मनतातो पानीले नुहाउने, नुहाइसकेपछि लोसन तथा मोइस्चर लगाउने, सकिन्छ भने हप्तामा कम्तीमा चार दिन पसिना निकाल्ने काम गर्ने ।
चिसोपानीले अनुहार धुँदा कक्रक्क हुने हुँदा मन तातो पानीले धुने, धुनासाथ मोइस्चर लगाउने गर्नु राम्रो हुन्छ । मोइस्चर लगाउँदा डन्डिफोर आउने व्यक्तिले एक्निया मोइस्चर लगाउनुपर्छ ।
यसको साथै चिसोबाट बच्नका लागि तातो कपडा लगाउने, चिल ब्लेनबाट बच्नका लागि पन्जा तथा मोजाको प्रयोग गर्नुको साथै हट वाटर व्यागले सेक्ने गर्नुपर्छ । चिसोपानीको प्रयोग भन्दा मन तातो पानीको प्रयोग गर्नाले पनि यसबाट बच्न सकिन्छ ।
इक्थारोसिस तथा खुट्टा फुट्ने समस्या भएका व्यक्तिले युरिया मिसिएको मोइस्चराइज क्रिमहरूको प्रयोग गर्नुपर्छ । यस्ता व्यक्तिले मनतातो पानीमा हल्का नुन राखेर १० मिनेटजति चोपेर राख्ने र खस्रो ढुंगाले रगडेर सफा गरी मोइस्चर लगाउने र अन्त्यमा मोजा लगाएर सुत्ने गर्नुपर्छ ।

(डा. खतिवडा छालारोग विशेषज्ञ हुन् ।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार