तान्द्रो ‘प्रिमियर शो’ मा नेतादेखि मन्त्रीसम्म : दयाहाङ राई र सुनील थापाबीचमा लुसुक्कै रञ्जु दर्शना

काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरको चौथो तला । चलचित्र तान्द्रोको प्रिमियर शो हेर्न भेला भएका दर्शक । हलको ढोका खुलिसकेको थिएन । हलबाहिर मोहन वैद्यदेखि पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालासम्म देखिए ।

चलचित्र तान्द्रोका मुख्य पात्र गंगा लामा, अभिनेता दयाहाङ राईलगायतको फोटोसेसन चलिरहेको थियो । दयाहाङसँग फोटो खिच्ने अनुमति माग्नेहरूको बाहुल्य थियो । एकैछिनमा दयाहाङ राई, अभिनेता सुनील थापालगायतको फोटोसेसन चलिरहेको थियो । राई र थापाको बीचमा रञ्जु दर्शना लुसुक्कै छिरिन् । हलको ढोका नखुलुन्जेल फोटो सेसन चलिरह्यो ।

ढोका खुल्यो । सबै गुररर्र भित्र छिरे । चलचित्र सुरु भयो । संवत् २०६० चैत २८ गते लमजुङको छैलुङमा तात्कालिक माओवादीसम्बद्ध सांस्कृतिकर्मीलाई सुरक्षाकर्मीले आक्रमण गरेको थियो । सुरक्षाकर्मीले सांस्कृतिक टोली नेतृत्व गरिरहेका गंगाबहादुर लामा ‘कोसिस’ लाई घुँडामा गोली हान्यो । गोली लागेपछिको ९६ घन्टाको चर्को पीडा चलचित्र ‘तान्द्रो’ मार्फत देखाइएको छ । द​याहाङ​ राईले गंगा लामा ‘कोसिस’को भूमिका निर्वाह गरेका छ​न् ।

चलचित्र तान्द्रो हेरिसकेपछि पत्रकार दीपेन्द्र लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘तथाकथित कमर्सियल इलेमेन्टु केही नसमेटिए पनि दर्शकलाई ११० मिनेट बाँधेर राख्नसक्नु तान्द्रोको सफलता हो । यो न माओवादीको पक्षमा छ । न त विपक्षमै । यो मानवताको पक्षमा छ । निर्माता सतीशकुमार गौतम, निर्देशक साम्तेन भुटिया र अभिनेता दयाहाङ राईलाई बधाइ छ ।’

प्रिमियर शोमा नेता, अभिनेता, पत्रकार, कलाकारलगायत सर्वसाधारणले हल खचाखच भरिएको थियो । तान्द्रोमा दयाहाङ राई, रामबाबु गुरुङ, बुद्धि तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेललगायतले अभिनय गरेका छन् । साम्तेन भुटियाको निर्देशित रहेको चलचित्र तान्द्रो कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार