समाजसेवा गर्न पाउँदा भोक लागेको बेला खीर खान पाएजस्तो

दीपेन्द्र राई

‘गोरखा भूकम्प जाँदा परिवारसहित काठमाडौंमा थिएँ,’ २१ वर्षदेखि अमेरिका बस्दै आएकी मौसमी श्रेष्ठले सुनाइन्, ‘२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा घरको चौथो तलामा थिएँ । दुई दिनसम्म भागाभाग भयो । म त बाँचेर अमेरिका फर्कें । तर, नेपालमा नेपाली के गर्दै होलान् ? यस्तै–यस्तै सोचेर कैयौं रात निदाउन सकिनँ ।’

भूकम्प गएको पहिलो र दोस्रो दिन सडकमै रात काटेकी श्रेष्ठले सडकको जिन्दगी अत्यन्तै कष्टप्रद हुँदोरहेछ भनेर त्यतिबेलै प्रत्यक्ष अनुभव गर्न पाइन् । अनि मनमनै वाचा गरिन्, ‘अमेरिका फर्कनसाथ अप्ठ्यारोमा परेकालाई केही न केही सहयोग गर्नु मेरो पनि कर्तव्य हुनेछ ।’

समाजसेवा गर्ने रुचि भए पनि व्यस्तताले त्यतातिर ध्यान दिन नपाएको बताउने उनले गोरखा भूकम्पले व्यस्तताबीच पनि समाजसेवामा लाग्न प्रेरित गर्यो । उनले अमेरिका फर्केलगत्तै विपत्तिमा परेका नेपालीलाई सकेको सहयोग गर्न लागिपरिन् ।

समाजसेवामा लाग्न प्रतिबद्ध उनले ‘नेपाल जर्नी’ नामक गैरनाफामुखी संस्था अमेरिकामा दर्ता गरेकी छन् । संस्थाको संस्थापक अध्यक्ष मौसमी श्रेष्ठ छन् भने संस्थापक उपाध्यक्षको भूमिका बद्री श्रेष्ठले निर्वाह गर्दै आएका छन् । संस्था स्थापनाको औचित्य प्रस्ट्याउँदै मौसमीले भावी योजना सुनाइन्, ‘नेपाल जर्नीले नेपाली बालबालिका (त्यसमध्ये पनि मानसिक सन्तुलन गुमाएका, अशक्त, अनाथ, शारीरिक रूपमा अशक्त, सडक बालबालिका) का शिक्षासँग सम्बन्धित काम गर्नेछ ।’

गोरखा भूकम्प तीन वर्ष पुग्नै लागेको छ । भूकम्पले निम्त्याएको विनाश त्यत्तिकै कहालीलाग्दो छ । समाजसेवी श्रेष्ठले यो अवधिमा समाजसेवाकै लागि व्यक्तिगत रूपमा लाखौं आर्थिक सहयोग गरिसकेकी छन् । भूकम्पले नेपालका थुप्रै विद्यालय भवन प्रभावित पारेको थियो । भूकम्पले चितवनको भार्लाङमा रहेको श्री प्राथमिक विद्यालय भवनसमेत प्रभावित भएको थियो । कक्षा एकदेखि पाँचसम्म पढाइ हुने सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक खेलकुद सामग्री, स्कुल ब्याग र फर्निचर बनाउन उनले नारायणगढ लेडी जेसिसमार्फत आर्थिक सहयोग गरेकी थिइन् ।

समाजसेवी श्रेष्ठले सिर्जनशील चिल्ड्रेन वेल्फेयरलाई आर्थिक सहयोग गर्न पाउँदा त्यत्तिकै खुसी लागेको सुनाइन् । टुहुरा बालबालिकालाई आश्रय दिन भवन, आश्रित बालबालिकालाई लुगा किन्न, दसैँ मनाउन र विद्यालय खर्चका लागि आर्थिक सहयोग गर्न पाउँदा भोक लागेको बेला खीर खान पाएझैँ लागेको उनले बताइन् ।

अमेरिकाजस्तो सुविधासम्पन्न देशमा बस्दै आएकी उनले समाजसेवामार्फत सार्थक जीवन जिउने महान् कार्यमा लागिपरेकी छन् । उनले कसैको दुःख देख्न सक्दैनन् । तसर्थ, उनले नेपाल इन्ट्रिगेटेड ब्लाइन्ड डेभलपमेन्ट एसोसिएनसन (निब्दा) काठमाडौंलाई समेत सहयोग गरिन् । उनले ११ दृष्टिविहीन आश्रित निब्दालाई इन्भटर र सोलार किन्न आर्थिक सहयोग गरिसकेकी छन् । यसैगरी, सानोघर टाँडी चितवन र मानव सेवा हेटौंडा मकवानपुरलाई आर्थिक सहयोग गर्दा दुवै संस्था उनीप्रति ऋणी छन् ।

मनका धनी श्रीमान् बद्री श्रेष्ठले पनि मौसमीका उदार मनलाई साथ दिँदै आएका छन् । उच्चशिक्षा हासिल गर्न अमेरिका पुगेकी मौसमीले नारायणगढ लेडी जेसिसमार्फत करिब नौ लाख रुपैयाँ खर्चेर चितवनको ठूलो बालकुमारीमा रहेको बालकुमारी सेकेन्डरी हाइस्कुलमा सूर्जलाल श्रेष्ठको स्मृतिमा पुस्तकालय पुनःस्थापना गरेकी छन् । उनले पुस्तकालय सञ्चालनार्थ दुई लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गर्ने वचन दिएकी छन् ।

तन, मन र वचनसहित समाजसेवामा लाग्नुको आनन्द मौसमी श्रेष्ठलाई मात्र थाहा होला । भन्छिन्, ‘यत्तिको ध्यान दिएर मैले कुनै काम गरेकै छैन ।’ आफूलाई दुःखी, गरिबको सेवामा समर्पित गरिसकेकी उनले थालेको अभियान त्यत्तिकै प्रशंसनीय छ । मौसमीले सर्जिकल टेक्नोलोजी (हेल्थ केयर मेनेज) मा स्नातक तहसम्मको अध्ययन पार लगाएकी छन् भने ब्यालोर युनिभर्सिटी र चिल्ड्रेन मेडिकल सेन्टरमा डालासमा कार्यरत छन् ।

जर्नी नेपालको बोर्ड अफ डिरेक्टरमा सावन श्रेष्ठ, समिता श्रेष्ठ र बविना खड्का रहेका छन् । इन्दिरा वाग्ले, सुनील माथेमा प्रधान र प्रेम आचार्यले कोअर्डिनेटरको भूमिका निर्वाह गर्दै आएका छन् भने गोविन्द रेग्मी प्रोजेक्ट डेभलपमेन्ट कोअर्डिनेटर काठमाडौं र पोखरामा नरेन्द्र श्रेष्ठ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार