अफ्रिकी देशले चेतावनी दिएपछि गाम्बियाका पूर्वराष्ट्रपति पद त्याग्न तयार

yahaya jameha gambia president

गाम्बिया । गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार हुनु भएको छ । पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको भोली पल्ट शनिबार जम्मेहले पद त्याग्ने घोषणा गर्नु भएको हो ।

“गाम्बियाका जनताको हित र राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै मैले पद त्याग्ने निर्णय आज गरेको छु,” उहाँले शनिबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै भन्नुभयो । सम्बोधनका क्रममा उहाँले थप्नु भएको छ, “शान्तिपूर्ण तरिकाले नै हामीले समस्याको समाधान गर्नेछौं, यहाँ एक थोपा पनि रगत बगाउनु आवश्यक छैन ।” उहाँले पद त्याग गर्ने आफ्नो निर्णय कसैको दवावमा नगरेको दावी गर्दै गाम्बियाका जनता र प्यारो देशको सर्वोच्च हितका लागि गरेको बताउनुभयो ।

सन् १९९४ देखि लगातार राष्ट्रपति भएका लामो अनुभवी नेता जम्मेहले गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा भएको पराजयलाई अस्विकार गर्दै आउनु भएको थियो । मौरिटेनियन राष्ट्रपति मोहम्मद उल्ड अब्देल अजिज र गायनका राष्ट्रपति अल्फा कोण्डेको मध्यस्थतामा बन्जुलमा भएको बार्तापछि जम्मेहले पद त्याग्ने घोषणा गर्नु भएको हो । जम्मेहले पद त्याग गर्ने घोषणालाई मौरिटेनियन राष्ट्रपति अजिजले गाम्बियाका लागि हिंसाविरुद्धको विजय भएको बताउनुभएको छ ।

पश्चिम अफ्रिकी देशहरुको समूह इकोवासले शुक्रबार सम्ममा शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम अल्टिमेटम दिँदै नटेरेमा जबर्जस्ती घटाउने चेतावनी दिएको थियो । गत महिनाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका अदाम बर्रोले आफ्नै देशमा शपथ लिन नपाएपछि बिहीबार सेनेगलको राजधानी डाकारस्थित गाम्बियाको दूतावासमा शपथ लिनुभएको थियो ।

शपथ लिएपछि पहिलोपटक राष्ट्रपतिका रूपमा सम्बोधन गर्दै बर्रोले आफूलाई निर्वाचित गरेकामा जनतालाई धन्यवाद दिनुभएको थियो भने राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको थियो । गत डिसेम्बरमा भएको निर्वाचनको मतपरिणामलाई पूर्वराष्ट्रपति जम्मेहले एक हप्तापछि अस्विकार गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाउनु भएको थियो । उहाँले मतपरिणाम अस्विकार गर्दै आए पनि संयुक्त राष्ट्रसङ्घ, इकोवास लगायतका अन्तर्राष्ट्रिय निकायबाट चर्को दबाब परेपछि शनिबार पद त्याग्ने घोषणा गर्न बाध्य हुनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार