‘समाजवादी व्यवस्था लागू गर्न वामपन्थीको सरकार’

काठमाडौँ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा समाजवादी व्यवस्था लागू गर्न वामपन्थीको सत्ता अनिवार्य भएको दाबी गरेका छन् ।

वाम प्रगतिशील गठबन्धन काठमाडौँ क्षेत्र नम्बर ७ निर्वाचन परिचालन कमिटीको घोषणा कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले कम्युनिस्टले सत्ता सञ्चालन गर्न नसक्ने हो भने मुलुकमा दलाल पुँजीपति आउने जिकिर गर्दै अबको निर्वाचनमा वाम गठबन्धनलाई जिताउनुपर्ने सुझाए । उनले निर्वाचन पुँजीपति वर्गले राज्य सञ्चालन गर्ने कि श्रमजीवी वर्गको हितमा काम गर्नेले भन्नेबीच वर्गसंघर्षको लडाइँ भएको उल्लेख गरे ।

“राष्ट्रवादी देशभक्त जति सबै एक भएर अधिनायकवाद परास्त गरेको खण्डमा देश सम्मुन्नतिको बाटोतर्फ अघि बढ्छ,” उनले भने, “प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्य पार्टीसँग लडेर वाम प्रगतिशील समूहले अत्यधिक बहुमत ल्याएर शासन गर्नेछ । कसैले शंका नगरे हुन्छ ।”

कार्यक्रममा क्षेत्र नम्बर ७ प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धरले केही दिनमै वाम गठबन्धन विजयी भएपछि ऐतिहासिक सरकार बन्ने र त्यसले पाँच वर्षमा देशको मुहार फेर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार