वाम गठबन्धनले मुलुकलाई निकास दिने पूर्वप्रधानमन्त्री खनालको जिकिर

 

 

 

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने जिकिर गरेका छन्।

एमाले वरिष्ठ नेतासमेत रहेका खनालले इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिवार कार्यकर्ता भेटघाटमा कम्युनिस्टबीच वाम गठबन्धन देखेर अधिनायकवाद आयो भन्नेहरूले नै मुलुकमा अधिनायकवादी शैली अपनाएका जिकिर गरेका हुन् ।

इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनासाथ वाम एकता गरिएको उल्लेख गर्दै देशले छिट्टै निकास पाउने, वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याएर पाँच वर्षसम्म परिवर्तन ल्याउने दाबी गरे ।

देशमा जस्तोसुकै अप्ठ्यारा र अवरोध आएका बेला वाम शक्ति एक भएपछि समाधान भएको स्मरण गर्दै उनले सिद्धान्त र विचार मिल्ने वाम शक्तिबीच एकता हुने र यसले संविधानको पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे ।

इलाम जिल्ला पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि पहल गर्ने बताउँदै उनले यस क्षेत्रको सडक, विद्युत्, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार