चारपटक प्रधानमन्त्री भएका ९१ वर्षीय विष्टको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा शनिवार देहावसान भएको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको आफ्नै निवासमा निष्ठावान राजनीतिज्ञ विष्टको देहावसान भएको हो । उनी केही समयदेखि अस्वथ्य थिए ।

पिता चन्द्रनिधि विष्ट र माता धनकुमारी विष्टको कोखबाट उनको जन्म सन् १९२७ जनवरी १५ मा भएको थियोे । उनले लखनउ विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

राजनीतिसम्बन्धी लेख लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको संगतबाट राजनीतिमा सरिक उनले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी जहानियाँ राणा शासनविरुद्ध २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए।

सन् १९५८ मा परामर्शदात्रीसभा सदस्य भएका विष्ट सन् १९६१ मा सहायकमन्त्री, मन्त्री, मन्त्रिपरिषद् उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री भएका थिए। संवत् २०६१ माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालनपछि उनलाई ०६१ फागुनमा उपाध्यक्ष नियुक्त गरेका थिए।

०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताका कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित भएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको सरुवात गरेका थिए।

००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद् उपसभापति र सभापति रहनुका साथै सोही पार्टीबाट उनी ०१५ फागुनमा भएको काठमाडौँ ३ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका थिए। उनले तत्कालीन बाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समिति अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए। उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अस्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्यान्डस्, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।

विष्टको शनिवार अन्त्येष्टि

पूर्वप्रधानमन्त्री विष्टको धार्मिक परम्परानुसार शनिवार पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको हो । विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी थिए।

लामो समयदेखि पेटको अर्वुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिवार बिहान १० बजे देहावसान भएको थियो । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्षअघि उनका श्रीमती र एक छोराको निधन भएको थियो । काठमाडौँको ठमेलमा जन्मेका विष्ट नेपाली राजनीतिमा नैतिकवान् नेताका रूपमा चिनिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार