हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर–जग्गा विप्लव समूहको नियन्त्रणमा

तेस्रो आँखा विशेष संवाददाता


खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ ।

नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ति टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो ।

 

नेकपा खोटाङ सेक्रेटरीद्वारा जारी विज्ञप्तिको पुछारमा उल्लेख छ, ‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका खोटाङ जिल्ला मंगलटार गाविस वार्ड नं २ निवासी इबन राई दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ ।’

हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको नेविसंघ खोटाङ नेता जेम्स राईले जानकारी गराए । नगरप्रमुख राईले बिहान उठ्दामात्रै आँगनमा झन्डा गाडेको र विज्ञप्ति टाँसेको थाहा पाएको नेविसंघ नेता राईले सुनाए । उनका अनुसार, नेकपा कार्यकर्ताले आधा सत्ता सञ्चालन गर्ने भन्दै स्थानीय तहमा विनियोजित आधा बजेट नगरप्रमुख राईसँग माग गर्दै आएका थिए ।

यस विषयमा बुझ्न नगरप्रमुख राईलाई पटकपटक टेलिफोन गरे पनि सम्पर्क हुन सकेन ।

नेकपा कार्यकर्ताले नगरप्रमुख इबन राईलाई प्रत्यक्ष र टेलिफोन गरेरसमेत आसन्न निर्वाचन प्रचार प्रसारमा नहिँड्नसमेत सुझाएका थिए । उनीहरूले त्यसो भने पनि नगरप्रमुख राईले खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख (सिडिओ) लाई जानकारी गराएर निर्वाचन प्रचार प्रसारमा हिँडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार