पूर्वमन्त्री राईलाई लक्षित गरेर बम प्रहार, एमाले अध्यक्ष ओली नै आश्चर्यमा


भोजपुर । पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई लक्षित गरेर भोजपुरको पिखुवाखोलमा बम प्रहार गरिएको छ । ट्याम्के मैयुम नगरपालिका–७ गुम्बाको आमसभा सम्बोधन गर्न जाँदै गर्दा पूर्वमन्त्री राई सवार गाडीमा बम प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, गाडी पूर्ण रूपमा क्षतिग्रस्त बने पनि भोजपुर प्रदेशसभाका उम्मेदवारसमेत रहेका नेता राई सकुशल छन् । उनका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ । राईलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा एमालेले अघि सारेको छ ।

घटनामा संलग्नताबारे नखुले पनि नेत्रविक्रम चन्द समूहको संलग्नता रहेको शंका गरिएको छ । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताले निर्वाचन प्रचार प्रसारक्रममा रुकुममा विनाविभागीय मन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई रोल्पामा दुईपटक आक्रमण गरेका थिए ।

यसैगरी, नेकपाले गत कात्तिक २५ गते हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति कब्जा गरेको थियो । नेकपा खोटाङले नगरप्रमुखको घरको आँगनमा झन्डा गाड्नुका साथै घर, जग्गा र सम्पत्ति कब्जा गरेको घरको भित्तामा प्रेस विज्ञप्ति टाँसेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सो सांघातिक आक्रमणप्रति गम्भीरतापूर्वक लिएको विज्ञप्ति जारी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार