जोर्डन जान महिलाका लागि खुला, भिसा र टिकट निःशुल्क


काठमाडौं । वैदेशिक रोजगारीमा जोर्डन जान चाहने नेपाली महिलाका लागि खुला गरिएको छ । घरेलु कामदारका रूपमा उनीहरूका लागि जोर्डन जान बाटो खुलेको हो ।

जोर्डनसँगको सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकार बलियो बनाइएको छ । जोर्डन जाने घरेलु कामदारले मासिक ३ सय अमेरिकी डलर पाउने भएका छन् । तर, गार्मेन्टमा जानेका लागि २ सय ५० डलर तोकिएको छ ।

दुई देशबीचको सम्झौतामा रोजगारीमा जाने नेपाली कामदारले निःशुल्क भिसा र टिकट पाउनेछन् । तर, हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै बेहोर्नुपर्नेछ । सरकारले यसअघि घरेलु कामदारका रूपमा जान महिलालाई रोक लगाएको थियो । श्रम तथा रोजगार मन्त्रालय प्रवक्ता भुवनप्रसाद आचार्यले जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको बताए ।

जोर्डनबाहेक अन्य देशमा भने तत्काल घरेलु कामदारका रूपमा नेपाली महिला जान पाउने छैनन् । वैदेशिक रोजगार विभागका अनुसार, जोर्डनमा झन्डै ५ हजार नेपाली कार्यरत छन् । तीमध्ये धेरैजसो गार्मेन्टमा कार्यरत छन् ।

गत कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर जोर्डनका डा. अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार