तेन्जिङ/हिलारी सगरमाथा चढ्दा भारी बोक्नेमात्रै १२ सय तामाङ

खासमा उनी कान्छा छोरा होइनन् । र, सही नाम कान्छा पनि होइन । तर, सबैले उनलाई कान्छा शेर्पा भनेर बोलाउँछन् । चिन्छन् पनि । नेपालमात्र होइन, विश्वमै उनी कान्छा शेर्पा भनेर कहलिएका छन् । कान्छा शेर्पाका अनुसार उनी परिवारको माइलो छोरा हुन् । खासमा उनको नाम आङदोर्जे शेर्पा हो । तर, आमाले सानामा माया गरेर कान्छा भनेका कारण उनी अहिले संसारभरि कान्छा नामले चिनिएका छन ।
नाम्चेबजारमा जन्मेका कान्छा कीर्तिमानी र भाग्यमानी शेर्पा कहलाउन भने पाएनन् । भलै उनी प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीसँगै सगरमाथा चढे । कान्छा उनीहरूको सहयोगी बनेर सगरमाथाको चुचुरोनजिकैको साउथकोलसम्म पुगेका थिए । ६ पटकसम्म सगरमाथा आरोहीका सहयोगी भनेर गएका उनलाई चुचुरोमा पुग्ने अवसर जुरेन । त्यसैले उनी साउथकोलभन्दा माथि कहिल्यै पुगेनन् । सगरमाथाको चुचुरोमा प्रथम मानव पाइला राख्न जाने ३५ जनाको टोलीमध्ये कान्छा शेर्पा पनि एक हुन् । र, अहिलेसम्म एकमात्र जीवित इतिहास हुन् । त्यसैले सगरमाथा हीरक महोत्सवमा उनी सम्मानित भए । सबैले उनलाई सम्झिए । तिनै कान्छा शेर्पा अर्थात् आङदोर्जे शेर्पासँग लामो कुराकानी भए । इतिहासका धेरै कुरा खोतल्ने प्रयास गरियो । ऐतिहासिक सफलताका जीवित साक्षी कान्छासँग योगेश ढकालले गरेको कुराकानीको सम्पादित अंश ।

खासमा तपार्इंहरूको टोली सगरमाथाको कहाँसम्म पुगेको थियो ?
हाम्रो टोली लास्ट क्याम्पससम्म पुग्यो । र, केही शेर्पा साउथकोलमा फर्केर आए । हामी लास्ट क्याम्पमा पुगेको भोलि १२ बजे सफल भयो । तेन्जिङ शेर्पा र हिलारीले हामीलाई क्याम्प–२ मा बस्नु भनेका थिए । उनीहरूले साउथकोलमा आएको जति त्यहीँ बस्नु भनेर तेन्जिङले भन्यो । हामी क्याम्प–२ मा जम्मा भयौँ । उनीहरूले पहिलो मानव पाइला टेकेको खुसियालीमा हामी सबै खुसी भयौँ । सामूहिक फोटा खिच्यौँ । अनि उनीहरू हेलिकोप्टरबाट काठमाडौं गए । उनीहरूलाई लिन हेलिकोप्टर क्याम्प–२ मा बस्यो । त्यहाँ हेलिकोप्टर तीन घन्टा बस्यो । हेलिकोप्टर सानो थियो ।

साथकोलसम्म पुगेर चुचुरोतिर हेर्दा कस्तो लाग्यो ?
चुचुरोनजिकै देखिन्थ्यो । जान मन लाग्थ्यो तर जान दिँदैथे ।

तपार्इंहरूले कसरी थाहा पाउनुभयो तेन्जिङ र हिलारी चुचुरोमा पुगेको ?
वाकीटाकी थियो । त्यसैमा कुराकानी हुन्थ्यो । उनीहरूले वाकीटाकीबाटै चुचुरो पुगेको बताए ।

चुचुरोबाट क्याम्प–२ मा आएपछि दुईजनामात्रै गए हेलिकोप्टरमा ?
हो । उनीहरूमात्रै गए । हामीचाहिँ बेसक्याम्पतिर झर्यौँ । थुप्रै सामान थियो । अक्सिजनमात्रै पाँचजनाले बोकेर झार्यौँ । अरू सामान पनि टन्नै थियो ।

बक्सिस कति दिए उनीहरूले ?
कति दियो थाहा छैन । काठमाडौँ गएपछि भेट्छौँ भनेका थिए, भेट भएन । बेसक्याम्पदेखि नाम्चे आएपछि छुट्टियौं–दार्जिलिङबाट आएका शेर्पा र खुम्जुङका शेर्पाहरू । पैसा दियो, त्यो हिलारीको हो कि सरकारको हो थाहा भएन । एक दिनको आठ रुपैयाँ ज्याला दिन्थ्यो । त्यो चाँदीको सिक्का पैसा थियो । त्यस्तै पाँच सयजति दियो होला । ज्यालाबाहेक बक्सिस दिएको हो । ज्याला पनि त्यस्तै चार/पाँच दियो होला । त्यतिबेला नोट थिएन । त्यतिबेला पनि नेपाली रुपैयाँ नै दिएका थिए ।

पछि हिलारीसँग कहिले भेट भयो ?
हिलारीसँग धेरैचोटि भेट भइरह्यो । तेन्जिङसँग त भएन । हिलारीसँग पनि निकै वर्षपछि भएको हो । हिलारी खुम्जुङ आइरहेका कारण भेट भएको हो ।

त्यतिबेला पाएको पारिश्रमिक के गर्नुभयो त ?
खाना किनेर खायो । छोराछोरी पाल्न ठिक्क भयो । अरू आम्दानी थिएन ।

त्यसपछि पनि एभरेष्ट जानुभयो ?
गएँ नि । जानैपर्ने बाध्यता थियो । घर चलाउनुपर्ने । बेला–बेलामा गएँ । सगरमाथा ६ चोटी गएँ । सालचाहिँ थाहा छैन । अन्तिमपटकचाहिँ १९७२ मा गएको हुँ । त्यतिबेला सबैको राम्रो भएन । कोही मरे पनि । बीचबाटै धेरै फर्किनुपर्यो ।

तेन्जिङ र हिलारीसँगै तपार्इंहरू चुचुरोमा किन नगएको ?
खै त्यतिबेला हामीलाई लगेनन् । साउथकोलसम्म पनि हामीलाई केही भएको थिएन । औषधि पनि खानुपरेन । भारी बोक्यो गयो । त्यति हो । तर पनि, उनीहरूले साउथकोलभन्दा माथि लगेनन् ।

भनेपछि तपार्इंहरू नसकेर होइन, उनीहरूले नलगेर नगएको हो ?
हामीलाई जान दिएनन् । सरकारले हामी दुईजनालाई मात्रै स्वीकृत दिएको छ भन्थे । त्यसैले उनीहरूले साउथकोलमै बस्न भन्यो ।

पहिला चुचुरोमा को पुगेको रहेछ, तपार्इंहरूलाई के भन्थे ?
उनीहरू सँगसँगै थिए । उनीहरूले हामीलाई पनि केही भनेनन् । हामी ‘सक्सेस’ भयौँ मात्रै भने । को पहिला हो भनेर उनीहरूले भन्दै भनेनन् । चुचुरोमा एकजना पुगेपछि अर्कोले फोटो खिच्ने हो । तर, पहिला को चढेको भनेर उनीहरूले भन्दै भनेनन् ।

कान्छा शेर्पासँग योगेश ढकाल

त्यतिबेला सगरमाथा चढ्ने कति हुन्थे ?
अहिले त सजिलो भएर धेरैले चढ्न थालेका छन् । अचेल त सिजनमै पाँच सयसम्म हुन्छन् । त्यतिबेला ४०/५० जनाजति पनि हुँदैनथे । सन् १९७२ मा त कोही पनि ‘सक्सेस’ भएनन् ।

अहिले त धेरै चढ्छन् नि ?
अहिले त पैसा पनि छ । सजिलो पनि भयो । बाटो बनाउन त्यतिबेलाजस्तो गाह्रो हुँदैन । त्यसैले धेरैले चढ्न थालेका छन् । लास्टपटक जाँदाचाहिँ मैले औषधि खानुपर्यो ।

त्यतिबेला डोरी कस्तो थियो ?
नाइलनकै डोरी थियो । अहिलेको जस्तै । उनीहरूले नै न्युजिल्यान्डबाट ल्याएको छ ।

त्यतिबेला तपार्इं कति वर्षको हुनुहुन्थ्यो ?
२१ वर्षको थिएँ । अहिले ८१ वर्षको भएँ ।

त्यतिबेला सगरमाथा चढ्दा कति मर्थे ?
धेरै । जापानी धेरै मरे । मेरो पालामा तीनजना शेर्पा मरे ।

तपार्इंका छोराछोरी पनि सगरमाथा गए ?
उनीहरू गएनन् । छोराले लुक्लामा होटल थापेको छ । नाति अहिले काठमाडौँमा पढ्दै छ ।

छोरालाई किन नपठाएको ?
धेरै गाह्रो हुन्छ, त्यसैले मलाई पठाउन मन लागेन । त्यता जान धेरै गाह्रो हुन्छ ।

तपार्इंलाई सगरमाथा चढ्न जाऔँ भनेर कसले भनेको हो ?
मलाई त तेन्जिङले सगरमाथा चढ्न जाने हो भनेको हो । हामीले चोमोलोङ्मा छ भन्ने सुनेको हो । त्यता गएको थिएन । कामै पर्दैनथ्यो त्यता जाने । गाउँ नजिकै भए पनि जाने काम नपरेकाले के हो, के हो जस्तो लागेको थियो । तेन्जिङले चढ्न जाने भनेपछि मलाई पनि जान रहर लाग्यो । अनि सँगै गएको हो ।

तेन्जिङसँग तपार्इंको भेट कसरी भयो नि ?
नाम्चेमा काम थिएन । हामी चौँरी चराउने, दाउरा टिप्ने काममात्रै गथ्र्याैं । दार्जिलिङ गयो भने तेन्जिङले काम दिन्छ भन्ने सुनेको थिएँ । त्यसैले जाने भइयो । मसँग पैसा थिएन । एक साथीसँग १५ रुपैयाँ छ भन्यौँ, अर्को २० रुपैयाँ छ भन्यो । अनि हामी तीनजना राति भाग्यौँ । मैलै आमालाई पनि थाहा नदिई भागेको । आमाले बनाएको मकैको सातु थियो । पाँच मानाजति चोरेको थिएँ । पटुकामा बाँधेर लगेको थिएँ । हामी चार दिनमा दार्जिलिङ पुग्यौँ । तेन्जिङलाई सोध्दै गएँ । उसले कहाँबाट आएको भन्यो । मैले खुम्बुबाट आएको भनें । कसको छोरा भनेर सोध्यो । मैले मेरो बुवाको नाम भनेँ । मेरो बुवा उसको मिल्ने साथी रहेछ । अनि मसँगै बस् भन्यो । अरू दुईजनालाई अरू ठाउ“मा काम खोजिदियो । मैले चार महिना काम गरेँ ।

कुन बाटो जानुभएको हो नि दार्जिलिङ ?
खुम्बुबाट हामी अहिलेको संखुवासभा, ताप्लेजुङ हुँदै दार्जिलिङ गएको हो । हामी चार दिनमा दार्जिलिङ पुगेको हो ।

तेन्जिङ यता पनि बसेको हो ?
तेन्जिङ खुम्बुमा पनि बस्यो । थामेमा पनि बस्यो । उसको परिवार गरिब थियो । त्यसैले काम गर्न दार्जिलिङ गएको हो भन्थे । हामीले पनि उतै भेटेको हो । यता त चिनजान पनि थिएन ।

बाटोमा के गर्दै गयो ?
मकै खाँदै गयो । त्यतिबेला १५/२० रुपैयाँ पनि ठूलो रकम थियो ।

हिमाल चढ्न आउँदाचाहिँ कसरी आउनुभयो ?
चार महिनापछि हिमाल चढ्न भनेर हामी आयौँ । फागुनतिर होला हामी आएको । दार्जिलिङबाट सिलगुडी हुँदै रेल चढेर रक्सौल र त्यहाँबाट सरदारको ट्रकमा बसेर बाइरोड हुँदै काठमा डौं आएको हो । तेन्जिङसहित हामी १३/१४ जना शेर्पा थियौँ । हिमाल चढेको अनुभव भएकाहरू थिए, अरूचाहिँ । हिलारीसँग १६ ‘कुइरे’ आएका थिए । उनीहरूलाई पहिलोपटक मैले त्यतिबेला नै हो देखेको ।

अनि हिमाल चढ्ने सामान के–के थिए नि ?
हिमाल चढ्ने सबै समान हामीले भक्तपुरमा राखेका थियौँ । रक्सौल र न्युजिल्यान्डबाट ल्याएका सबै सामान भक्तपुरको चौरमा जम्मा गरेका थियौँ । हामीले पहिलो क्याम्प नै त्यसैलाई मान्छौँ । सानो फोहोर पोखरीछेउमा पाल टाँगेर सामान राखेका थियौँ । त्यहाँ दुई हप्ताजति बस्यौँ । अनि भारी बनायौँ । भारी बोक्न १२ सय तामाङ जम्मा पारिए । त्यतिबेला भारी बोक्ने तामाङ र हाइअल्च्यिुडमा जाने शेर्पालाई आठ रुपैपाँ दैनिक ज्याला थियो । त्यतिबेला पैसामात्रै २५ काठका बाकसमा बोकिएको थियो ।

सगरमाथा जाने रुटचाहिँ कताबाट थियो नि त्यतिबेला ?
भक्तपुरबाट बनेपा हुँदै गएको हो । पाँचखाल, दोलालघाट चौवास, रेसुंगा, किरातछाप, ठोसी, वालाटार, शेर्पागाउँ, जुनबेँसी, खरिखोला, पैयाँ, चौँरीखर्क हुदै नाम्चे पुगेको हो । हामी भक्तपुरबाट हिँडेको १६ दिनमा नाम्चेबजार पुगेका थियौँ । हिलारीको टोली एक हप्ता नाम्चेमै बस्यो ।

नाम्चेबाट बेसक्याम्प पुग्न कति दिन लाग्यो ?
हामीलाई त्यस्तै ६ दिन लाग्यो होला । नाम्चे, थामे, खुम्जुङ, पाङ्बोचेको दुई सय चौँरीले भरियाले ल्याएका समाना बोकेर बेसक्याम्प पुर्याइयो । टेन्ट, स्लिपिङ ब्याग, अक्सिजन थियो ।

अनि हिमाल चढ्न बाटो कसरी बनाउनुभयो नि ?
बेसक्याम्पबाट खुम्बु आइसफसम्म बाटो बनाउन हप्ता दिन लाग्यो । २० रूख काट्यौँ । चौँरीले ओसारे ती रूख । बेसक्याम्पबाट हामीले बोकेर हिउँमा पुलेसा, सिँढी बनाउँदै बाटो बनायौँ । बेसक्याम्पबाट पहिलो क्याम्प त्यसरी बनायौँ । दोस्रो, तेस्रो, चौथो क्याम्प एक/एक दिनमै बनाउन सकियो । बेलुकीपख मट्टीतेल बाल्थ्यौं अनि हिउँ तताएर सुप बनाउन गथ्र्याैं ।

साउथकोलमा को–को पुग्नुभएको थियो ?
चौथो क्याम्पबाट माथि उक्लेपछि साउथकोलमा तेन्जिङ र हिलारी अनि दार्जिलिङबाट आएका शेर्पा र मसहित १४ जना साउथकोलमा पुगेका थियौँ । कुइरे त दोस्रो क्याम्पबाट माथि जान सकेनन् । हामीले त्यतिबेला चुचुरोमा पुग्न तीन महिना लाग्ला भनेको थियौँ । जम्मा ४५ दिनमै सफल भइयो ।

बिहे कहिले गर्नुभयो ?
मैले १९५५ मा बिहे गरेको हो ।

शेर्पा युवामा त केटी जिस्काउन खुब चलन हुन्थ्यो रे कत्तिको जिस्काउनुभयो ?
हाहाहाहा…… अलि–अलि । उमेर भएपछि सबैको त्यही त हो नि ।

मागी कि भगाएको त ?
मागेर गरेको हो । गाउँकै केटी हो । केटी २० वर्षकी थिइन् । म २३ वर्षको थिएँ ।

सगरमाथा चढेर आएपछि गाउँमा त खुब हल्ला भयो होला ? सबैले छोरी दिन आए होला नि ?
ए गाउँमा त ठूलो हल्लाखल्ला भयो नि । कहिल्यै नदेखेको लुगा, कहिल्यै नदेखेको बुट । अनि त गाउँमा कति चर्चा भयो कति । सबैले छोरी दिन त आएनन् । तर, हल्लाचाहिँ ठूलै भयो । त्यतिबेला खुट्टामा घाँस लगाएर हिँड्ने चलन थियो । तेन्जिङले सबै नयाँ लुगा लगाइदियो । नयाँ जुत्ता दियो । घाँसको गन्हाउँछ भन्थ्यो ।

नयाँ जुत्ता लगाएपछि त हिँड्न पनि गाह्रो भयो होला नि कहिल्यै जुत्ता नलगाएको मान्छेलाई ?
फेरि आफूले पनि कतिसम्म हिँड्ने नि । मोजा पनि नलाएको मान्छे ।

दार्जिलिङतिरका केटीचाहिँ दिन आएनन् ?
आफूलाई त नाम्चेका सबै केटी मन परेको थियो । तर, दार्जिलिङमा मान्छे नै कोही चिनेको थिएन । कसरी दिन आउने त ।

तेन्जिङ हिमाल नचढेको भए तपार्इं दार्जिलिङ नै जानुहुन्थ्यो ?
काम पाइन्छ भनेर नै त उता गएको । त्यसैले हामी पनि जान्थ्यौँ नि ।

पहिला हिमाल चढ्ने कुरा सुन्दा यी कस्ता मान्छे होलान् जस्तो लागेन ?
लागेन । माथि के होलाजस्तो लागेको थियो । हाम्रातिर यति होला भन्थे । हामीलाई पनि त्यस्तै लागेको थियो । पछि त केही रहेनछ ।

तेन्जिङ के गरेर बसेको रहेछन् दार्जिलिङमा ?
ट्रेकिङको काम गर्दोरहेछ । भारतीयको सामान बोकेर हिँड्दारहेछन् ।

त्यतिबेला कति मान्छे लगेका थिए ?
सबै सामान बोकेर लैजान त १२ सय थियौँ ।

पैसाचाहिँ कति दिएको थियो नि ?
एकजनालाई दैनिक आठ रुपैयाँ दिने गरिएको थियो । २५ जनाले पैसा बोकेका थिए । सरकारले पाँचजना पुलिस पठाएको थियो । पुलिस नाम्चेसम्म पुग्यो र फर्कियो । कुल्ली पनि नाम्चेसम्ममात्रै गए । नाम्चेबाट सबै सामान याकमा लगिएको थियो ।

बेसक्याम्पसम्मचाहिँ कति जना जानुभयो ?
हामी ३५ जना थियौँ । नाम्चे, थामे र दार्जिलिङका शेर्पा सबै थिए ।

तेन्जिङलाई त भारतीय भनिन्छ । तेन्जिङमार्ग पनि छ– भारतमा । कस्तो लाग्छ ?
तेन्जिङ नेपालमै बसेको भए राम्रो हुन्थ्यो । दार्जिलिङ गयो के गर्नु ।

त्यतिबेला तपार्इंलाई के भन्थे ?
हामीलाई हाइअल्च्यिुड शेर्पा भन्थे । भारी बोक्नेलाई कुल्ली भनिन्थ्यो ।

अहिलेसम्म टुप्पो पुग्नुभएको छैन ?
छैन । ६ चोटि चढे पनि लास्ट क्याम्पभन्दा माथि गइनँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार