एउटै विद्यालयमा पढ्नेबीच बिहे गरे ५ हजार जरिवाना

दीपेन्द्र राई

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । निर्वाचनमा सहभागी सम्बन्धित दलसम्बद्ध नेता भोट माग्न गाउँगाउँ पुगेका छन् । पुग्दै छन् । आफ्ना प्रतिबद्धतासहित भोट माग्न गाउँगाउँ पुग्नेको ‘क्याराभान’ देखिन्छ । राजनीतिक दलसम्बद्ध नेतालाई निर्वाचन कुम्भमेलामात्रै होइन, अग्निपरीक्षा पनि हो भन्दा अन्यथा नहोला ।

निर्वाचनको प्रसंग आउनासाथ सोलुखुम्बुको गुदेल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सम्झन्छु । पंक्तिकार गोरखापत्र दैनिक सोलुखुम्बु संवाददाता रहँदा गुदेल माध्यमिक विद्यालयमा निर्वाचन भएको थियो । क्याम्पसमा स्ववियु निर्वाचन भएको त धेरैलाई थाहा छ/हुन्छ । तर, विद्यालयमा निर्वाचन विरलै हुने गर्छ ।

निर्वाचन सुरु भयो । न चुनाव चिह्न । न मतपेटिका । न त थिए– मतदान अधिकृत नै । तर पनि निर्वाचन सम्पन्न भयो । निर्वाचनमा एउटै विद्यालयमा अध्ययनरत छात्रछात्राबीच बिहे भएमा पाँच हजार रुपैयाँ विद्यालयलाई जरिवाना बुझाएपछि विवाहित दम्पती सोही विद्यालयमा पढ्न पाउने समूह अत्यधिक मतले विजयी भयो ।

गुदेल माविमा अध्ययनरत विद्यार्थीबीच सम्पन्न निर्वाचनमा तीन समूहले भाग लिएका थिए । तीनमध्ये अभिभावकको सल्लाहविना एउटै विद्यालयमा अध्ययनरत छात्रछात्राबीच बिहे भए पाँच हजार बुझाएपछि सोही विद्यालयमा पढ्न पाउनुपर्ने पहिलो समूह रहेको थियो । तोकिएको जरिवाना बुझाएपछि अन्य विद्यालयमा गई पढ्न पाउनुपर्ने दोस्रो समूह हो । विवाहित दम्पतीलाई वर्ष दिनसम्म उनीहरू अध्ययनरत कक्षाको परीक्षामा सामेल गराउन नहुने तेस्रो समूहमा उभिएका थिए । तीन समूहबीच गरिएको निर्वाचनमा ६ सय ५० विद्यार्थीले मतदान गरेका थिए ।

‘विद्यालयमा देखिएको विकृति रोक्दै विद्यार्थीको ध्यान पढाइमै केन्द्रित होस् भन्ने उद्देश्यले निर्वाचन गराएको हौं,’ गुदेल मावि पूर्वप्रध्यानाध्यापक खड्गराज कार्कीले थपे, ‘विद्यालय प्रशासन, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको त्रिपक्षीय सहमतिमा निर्वाचन गराई यस्तो कडिकडाउ नियम बनाउन बाध्य भएका थियौं ।’

विद्यार्थी पढाइभन्दा मायापिरती गाँस्न हौसिएपछि स्थानीय अभिभावकसमेत आजित थिए । निर्वाचनगत्तै नियम कार्यान्वयन गरिएको थियो । नियम कार्यान्वयमा गरिएपछि गुदेल माविमा अध्ययनरत थुप्रै छात्रछात्रा कारबाहीमा परिसकेका छन् । हिजोआज कारबाहीमा पर्ने घट्दै गएका छन् । तर, नियम लागू भएकै छ । कारबाहीमा परेकाबाट संकलित रुपैयाँले दुईकोठे शौचालय बनाइएको गुदेल मावि प्राथमिक शिक्षक अविरधन राईले जानकारी गराए ।

गुदेल माध्यमिक विद्यालय

झन्डै सात वर्षअघि सम्पन्न निर्वाचनले विद्यालयमा हुने विकृति रोक्ने त्यस्तो अभ्यास गरिएको थियो । हिजोआज त्यतिबेलाको निर्वाचन परिणामपछि कार्यान्वयन नियमले अहिलेसम्म काम गरेको छ । प्रधानाध्यापक लवकुमार राईको दुवै मोबाइल नम्बरमा कल गर्दा सम्पर्क हुन सकेन । विद्यालयको नम्बरमा प्राशि अविरधन राई भेटिए । उनीसँग कुराकानी भयो ।

त्यतिबेला भएको निर्वाचनले विद्यार्थीलाई पढाइमा ध्यान दिन सचेत गराएको थियो । विद्यालयमा अध्ययनरतलाई पाँच हजार रुपैयाँ भनेको पाँच लाख सोसरह हो । उनीहरूलाई निर्वाचनको परिणामले केही हदसम्म बाँधेको छ ।

गुदेलबाट साबिक सोताङ गाउँ विकास समिति नजिकै पर्छ । निर्वाचन प्रचार–प्रसारका लागि गुदेल पुगेका पूर्वसांसद बलबहादुर केसी लखेटिएको समाचार प्रकाशन/प्रसारण भएको थियो । पटक–पटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका केसी लखेटिएपछि गुदेल माविमा अध्ययनरत विद्यार्थीबीच भएको निर्वाचनको ‘फ्ल्यासव्याक’ सम्झें ।

गुदेल माविका विद्यार्थीले निर्वाचनपछि कार्यान्वयन नियमले बाँधिएका छन् । तर, पटक–पटक निर्वाचित गराएका बलबहादुर केसीले सोलुवासी मतदाताको मतको कदर गरे गरेनन् । सोध्न बाँकी छ । गर्न सकेका छैनन् भने गुदेल माविबाट पाठ सिक्ने कि पूर्वमन्त्री बलबहादुर केसीज्यू । त्यसो गरे मतदाताबाटै लखेटिन पर्दैनथ्यो कि ? उनको पुख्र्यौली घर सोलुको सल्यान हो । सल्यान र सोताङ वारिपरि भन्दा पनि हुन्छ । अनि गुदेल र सल्लानको बीचमा सोताङ पर्छ । आँगनकै मतदाताबाट लखेटिनुपर्दाको नजाती तपाईंले मनन गर्नुभएकै होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार