एमाले नेता तथा कार्यकर्ताले धम्क्याएपछि हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना सर्वे स्थगित


खोटाङ । हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना अध्यक्ष इबन राईले एमाले नेता तथा कार्यकर्ताले हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना सर्वेटोलीलाई धम्क्याएपछि हलेसी आसपासको सुख्खा क्षेत्रमा पम्पिङ प्रविधिबाट खानेपानी आपूर्तिका लागि सर्वेक्षण कार्य रोकिएको बताए ।
हलेसी–तुवाचुङ नगरपालिका नगर प्रमुखसमेत रहेका राईले ठेकेदार कम्पनी दिवा महादेव खिम्ती जेभीले ट्रान्समिसन लाइन सर्वे गर्न पठाएको सर्वेटोलीलाई एमाले नेता तथा कार्यकर्ताले आचारसंहिता उल्लंघन हुने भन्दै धम्क्याएपछि सर्वे स्थगित भएको बताएका छन् ।

काममा अवरोध भएको जानकारी पाएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले समन्वय गरेर काम तत्काल अघि बढाउन सम्बन्धित पक्षलाई जानकारी गराएको बताए । प्रजिअ अधिकारीले काम तत्काल अघि बढाउन सम्बन्धित पक्षलाई जानकारी गराए अहिलेसम्म सर्वे हुन सकेको छैन । प्रजिअ अधिकारीका अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि नै थालिएका आयोजनाका हकमा आचारसंहिता लागू हुँदैन ।’

खानेपानी तथा ढल निकास विभाग डिजी विजय ठाकुरले समेत क्रमागत योजनामा आचारसंहिता लागू नहुने बताए ।

दूधकोसी नदीको पानी पम्पिङ प्रविधिबाट सुख्खा क्षेत्रमा खानेपानी आपूर्ति गर्न दसैंअघिबाटै सर्वे सुरु गरिएको थियो । हलेसी–तुवाचुङ नगरपालिका–७ हलेसीको सर्वे पूरा भइसकेको छ । बाँकी वडामा काम थाल्न खोज्दा एमाले नेता तथा कार्यकर्ताले सर्वे गर्न नदिएका हुन् । हलेसी क्षेत्र वृहत् खानेपानी अयोजना मूल समिति र उपसमितिमा समेत वामगठबन्धनअन्गर्तत एमालेका प्रतिनिधि रहेका छन् ।

सरकारले २०७१ वैशाख २२ मा हलेसीआसपासका क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । एमाले नेता तथा कार्यकर्ताले सर्वे गर्न अवरोध गरेपछि २८ करोड रुपैयाँमा निर्माण हुने आयोजना तोकिएको समयमा पूरा गर्न नसकिने ठेकेदार कम्पनी दिवा महादेव खिम्ती जेभीले जनाएको छ ।

‘पानीविनाको जिन्दगानी कल्पनासमेत गर्न सकिँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा हलेसी–तुवाचुङ नगरपालिका–५ का एक बुद्धिजीवीले भने, ‘पानीमा राजनीति गर्न हुँदैन । गर्न खोज्नेलाई उपभोक्ताले मार्क गर्नेछन् । त्यतिमात्रै होइन, त्यस्तालाई कारबाही गर्नसमेत पछि पर्ने छैनन् ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार