म्यादी प्रहरीको जागिर खाइदिने डुम्रेधारापानी प्रहरी चौकी खोटाङका असई हेमबहादुर अधिकारीको धम्की


खोटाङ । डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् । असई अधिकारीले म्यादी प्रहरीलाई गरेको भेदभाव सञ्चारकर्मीले थाहा पाएपछि उनीहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका हुन् ।

म्यादी प्रहरीमाथि भेदभाव गरेको समाचार पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेपछि असई अधिकारीले सबै म्यादी प्रहरीलाई ‘सेटअप पोजिसन’ मा राखेर कसले पत्रकारलाई जानकारी गराएको हो भन्दै निकैबेर केरकार गरेका थिए ।

सोही प्रहरी चौकीमा रहेका ४८ वर्षीया म्यादी प्रहरी देवीमाया आचार्यलाई असई अधिकारीले बिदा दिएर घर पठाइसकेका छन् । सो विषयमा प्रश्न गर्दा उनले प्रश्नकर्ता म्यादी प्रहरीलाई समेत धम्क्याएका थिए ।

असई अधिकारीले डुम्रेधारापानी प्रहरी चौकीमा रहेका म्यादी प्रहरीमाथि भेदभाव गर्दै आएका छन् । उनले पुरुष म्यादी प्रहरीलाई रातिको ड्युटीमा खटाए पनि महिला म्यादी प्रहरीलाई बेलुका आठ बजेअघिको सजिलो ड्युटीमा खटाउने गरेका छन् ।

महिला म्यादी प्रहरीलाई खाना पकाउने काममा लगाएका उनले कतिपयलाई निःशुल्क खाना खुवाउने गरेका छन् । तर, पुरुष म्यादी प्रहरीलाई भने प्रतिछाक ८० रुपैयाँ लिने गरेका छन् । ‘कसैलाई निःशुल्क खाना खुवाइन्छ, कसैलाई प्रतिछाक ८० रुपैयाँ लिइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा डुम्रेधारापानी प्रहरी चौकीमा रहेका एक म्यादी प्रहरीले भने, ‘नुनथला, जाल्पा र ऐंसेलुखर्कमा रहेका हाम्रा साथीहरुलाई प्रतिछाक ५० रुपैयाँमा खाना खुवाइँदोरहेछ । यहाँ भने मनपरी असुलिएको छ ।’

महँगो खानाबारे जिज्ञासा राख्दा असई अधिकारीले भने, ‘२,२०० रुपैयाँ बोरा पर्ने चामलको भात खुवाएको छु । महँगो पर्यो भन्नेलाई होटलमा खाना सक्छौ भनेको छु ।’

खानामात्रै होइन, म्यादी प्रहरीलाई सुत्ने समस्या पनि त्यत्तिकै चर्को छ । उनीहरुमध्ये कतिपयलाई हिरासत, कसैलाई हुलाक त कतिपयलाई साबिक गाविसको सानो कोठामा कोचीकोची सुताउने गरिएको छ । नाम उल्लेख नगर्न अनुरोध गर्दै अर्का म्यादी प्रहरीले दुःखेसो पोखे, ‘लेकको ठाउँ । मंसिरको जाडो । यस्तो अवस्थामा पनि एकसरो ओढ्ने, ओछ्याउने नहुँदा राम्ररी निदाउन सकिएको छैन । कतिन्जेल यसरी ड्युटी गर्ने होला ।’

असई अधिकारीका अनुसार, डुम्रेधारापानी प्रहरी चौकीमा दुई कोठा छन् । दुई कोठामा ६ वटा पलङ छन् । त्यति पलङमा नअट्ने भएकाले विभिन्न ठाउँमा सुत्ने व्यवस्था मिलाइएको खस्रो आवाजमा जवाफ दिए ।

भेदभाव गरिएपछि असई हेमबहादुर अधिकारी र म्यादी प्रहरीबीच मंसिर ११ गते राति भनाभन भएको स्थानीयले जानकारी गराए । सोही विषय सञ्चारकर्मीलाई जानकारी गराएपछि असई अधिकारी केही हच्केका थिए । असईसँग टेलिफोनमा कुराकानी सक्नासाथ सिपाही कैलाश खड्काले ९८१७००५४४० नम्बरबाट पंक्तिकारलाई टेलिफोन गरेका थिए । असई अधिकारीले म्यादी प्रहरीलाई आइन्दा त्यसो नगर्न सुझाए छन् । ‘पत्रकार सत्रकारले के गर्छन् ? पत्रकार हुन् कि मानवअधिकारवादी मलाई के मतलब,’ असई अधिकारीले म्यादी प्रहरीलाई तर्साउँदै भनेका थिए, ‘हाम्रो पनि डीआईजी, एआईजीसँग संगत छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार