म्यादी

नवशिला

छोरा तिमिलाइ नौ महिना गर्भ मा राखेर जन्माको मैले
तिमि आउदैछौ भन्ने खवर
तिमि जन्मनु भन्दा दुइ महिना अगाडी
तिम्री हजुरआमाले भन्नु भ’को थियो मलाइ
म लाज ले भुतुक्क भ’को थे उसबेला –

थाहा पाएको दिन तिम्रा बाबु
रामकाजीको घर मा आलि लाउन गा’का थिए
अनि म खाजा पुर्याउने निउमा
सुटुक्क खाजा बोकेर गा’कि थे तिमि
हामी सग आउन लागेको खवर सुनाउन –

अनि कसरी थाहा पाइछिन नि बजै ले
तिम्रा बा ले सोधेको प्रश्न नै लजालु भो मलाइ
माथि धमिलो देखिएको सुर्य हेरेर
लजाउदै भनेकि थे तिम्रा बा लाइ
उल्टी आउने कुरो –

तिमि पुसमा आउदैछौ भन्ने पुस्टी गरिन
हेल्थ पोस्ट कि अ हे व ले
तिमि आउने म्याद भन्दा
तिम्रो याद बढि आउथ्यो मलाइ –

तिमि आउने दिन झन चिसो थियो
धमिलो , हुस्सु अनि घाम बिनाको
तिमि त्यसै दिन आउदै थियौ
तर
दुइ महिना अगाडी ति हुल संग गएका
तिम्रा बाबु अझै आएका थिएनन
मलाइ तिमि आउने म्याद सकिएको भन्दा पनि
तिम्रो बुवा को याद सकिएको सम्झना छ –

तिनै हुलका केहि मान्छे हरुले
म सुत्केरी हुदै गर्दा
बाहिर आगंनमा
तपाइको छोरो देशका लागी सहिद भो भनेका थिए
अनि गाडेका थिए राता झन्डा हरु
जस्तो तिमि जन्मदा मेरो शरिर बाट
रातो रगतका भल हरु बगेका थिए
त्यस्तै –

तिमि हुर्कदै जादा
तिमि सगै हुर्केका
बाबा भन्ने रहर हरुलाइ
म्याद थमाउदै …पर जानु भा’छ
भोली पापा लिएर आउनुहुन्न भन्न बाहेक
म संग अर्को बिकल्प थिएन –

जब तिमि ठुलो हुदै गयौ
तिमि ले बुझ्दै गयौ अनि तिमि लाइ
तिम्रो बाबाको श्याम स्वेत तस्विर देखाउदै
तिम्रो बाबा आउने म्याद मात्र याद भएको भने
तिमि सम्हालियौ एक छिन को रोदन पछि –

तर छोरा म कसरी सम्हालिउ
अनि सम्हालौ यो बुहारी लाइ
र सम्हालौ यो चार वर्षे नाती लाइ
तेरो लोग्ने म्यादी बनेर
नआउने म्याद बोकेर गयो भनेर
तेरो बाबा को म्याद नै यती थियो भनेर –

छोरा मेरो प्रश्न यो ति तिम्रो बाच्ने म्यादको
अन्तेष्टि गर्नेहरुलाइ
आज यो मान्छेको जंगलमा
म नमरुन्जेल को म्याद बोकेर
यि निला गाढा रंगको कपडामा
सजिएका म्यादी पुलिस जस्तै
कति दिन छ मैले बाच्नु पर्ने म्याद ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार