‘क्वाल खातिर’ कवितासंग्रह सार्वजनिक

ललितपुर । भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राईले कवि तथा कोशकार अविनाथ राईद्वारा लिखित वाम्बुले राई भाषाको कवितासंग्रह ‘क्वाल खातिर’ (एउटा विस्मात) सार्वजनिक गरेका थिए ।

महालक्ष्मी नगरपालिका–१ इमाडोलमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) र लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक पत्रिकाले आयोजना गरेको समारोहमा प्रा.डा. राई सो पुस्तक विमोचन गरेका हुन् ।

सार्वजनिक पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको हो । उक्त ‘क्वाल खातिर’ कवितासंग्रहमा २०५० सालदेखि हालसम्मका रचना समेटिएका छन् । संग्रहमा १९ वटा शीर्षकका वाम्बुले भाषाका कविता रहेका छन् । ती कवितालाई नेपालीमा समेत अनुवाद गरिएका छन् ।

कवि अविनाथ राई वाम्बुले मातृभाषाका सम्बद्र्धक तथा कोशकारसमेत हुन् । उनको संकलन तथा सम्पादनमा २०५७ मा ‘वाम्बुले राई शब्दकोश’ प्रकाशित छ । शब्दकोश परिमार्जन कार्यमा जुटिरहेका उनको ‘किरात वाम्बुले राई जाति र द्वार्वाङ्चा वंशावली’ प्रकाशित छ ।

‘क्वाल खातिर’ कवितासंग्रह कविको समग्र जीवन भोगाइ, अनुभूतिको काव्यिक दस्तावेज हो । आमाको काख, घर, आँगन, खेल्दै गरेका भाँडाकुटी, गोठमा बाँधिएका गाई, भैंसी, बाख्रा, कुकुर, घोडा, खेतबारी, फलेका अम्बा, सरिफा, खोलाखोल्सी, दुधकोसीमा थापेको बल्छी आदि इत्यादि सबै सबै चटक्कै छाडेर अन्जानमै टाढिनु परेको विस्मृतिहरु यस संग्रहमा छन् । आदर्शभन्दा पनि बालापनका स्मृति छटा शब्दका थुँगामा सजाइएका छन् ।

 

यसैगरी, वाम्बुले भाषाका युवा कवि अप्सन क्याम्पालाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७३’ प्रदान गरिएको छ । ‘लिब्जु–भुम्जु’ पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये उत्कृष्ट रचनालाई २ हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गरिएको थियो । एक दशकदेखि मातृभाषामा साधनारत २५ वर्षीय कवि अप्सन पेसाले भारतीय सैनिक हुन् । उक्त पुरस्कार गीतकार तथा पत्रकार पुष्पहरि क्याम्पा राईले स्थापना गरेका हुन् ।

वाम्बुले भाषा, साहित्यको श्रीवृद्धिबारे राष्ट्रगानका रचनाकार व्याकुल माइला, समाजका अध्यक्ष तथा पत्रकार गजुरधन राई, महासचिव जीवन हाताचो राई, पत्रकार पुष्पहरि क्याम्पा राई, ‘लिब्जु–भुम्जु’ का सम्पादक गणेश राईले चर्चा गरेका थिए ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ९ सय रहेका छन् । २०५० सालदेखि नियमित लेखिएको वाम्बुले भाषा, साहित्य, संस्कृति, इतिहास, किरात लिपिका बारेमा करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् भने तीन गीतिएल्बम, दुई वृत्तचित्र निर्माण भए छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार