सितिमी यु–१२ गोल्डकप माघमा


खोटाङ । ‘सितिमी यु–१२ गोल्डकप प्रतियोगितामा सहभागी बनौं, व्यावसायिक खेलाडी बन्न सानैदेखि तयारी गरौं’ भन्ने नारासाथ साकेला सिली फुटबल क्लबले ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ गर्ने भएको छ ।

‘रहरका लागि मात्रै खेल्ने होइन,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘व्यावसायिक खेलाडी उत्पादन गर्ने हो भने क्लबले सानैदेखि खेल्न सिकाउनुपर्छ ।’

‘सितिमी यु–१२ गोल्डकप–२०७४’ किरातहरूको नयाँ वर्ष माघ १ देखि ३ गतेसम्म निर्माणाधीन कृष्णराम–मोतीप्रसाद राई रंगशालामा पुरुष (सेभेन ए साइड) गर्ने क्लब अध्यक्ष कमल राईले जानकारी गराए । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलाई क्रमशः १०, ५, ३ हजार र १ हजार ५ सय रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ ।

बेस्ट अवार्ड मेडल, प्रमाणपत्र र ट्रफीसहित एक/एक हजार रुपियाँ दिइनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोच गरी पाँच विधालाई वेस्ट अवार्डेड गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सामेल हुन चाहनेले २०७४ पुस २७ सम्म टिम दर्ता गरिसक्नुपर्नेछ । दर्ता शुल्क प्रतिटिम एक सय रुपैयाँमात्रै तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार