एक किलो नुनको २८०

लक्ष्मी गौतम

ताप्लेजुङको हिमाली क्षेत्र घुन्सामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक उपभोग्य सामग्री सदरमुकाम फुङलिङ बजारको तुलनामा २० गुणा बढी मूल्य तिर्न बाध्य छन् । सदरमुकामदेखि २८ कोस दूरीमा पर्ने घुन्सालाई सडकले जोड्न नसक्नुका साथै फुङलिङदेखि भरिया र खच्चडमार्फत सामग्री ढुवानी गर्नुपर्दा स्थानीयसँगै आन्तरिक र बाह्य पर्यटकले महँगीको मार खेप्नुपरेको हो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा २० रुपैयाँ किलो पर्ने आयो नुन घुन्सा, फले र ग्याब्लामा दुई सय रुपैयाँ किलोमा किनबेच हुन्छ । फुङलिङमा ८० रुपैयाँ प्रतिकिलोमा किनबेच हुने चिनीको मूल्य घुन्सामा २ सय ८०, १५ प्रतिगोटा अन्डा ६०, प्रतिगोटा चाउचाउ ७० रुपैयाँमा किनबेच हुने गरेको छ ।
यस्तै त्यहाँका होटल र लजहरूमा पनि तयारी खानेकुराको मुल्य सदरमुकामका तुलनामा चार गुणा वढी छ । त्यहाँका होटलमा सादा खानाको मूल्य ४ सय तथा मासु खानाको ६ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै रातो चिया प्रतिकप ४० रुपैयाँसम्ममा किनबेच हुन्छ ।
विश्वको तेस्रो हिमाल कञ्चनजंघा र त्यस क्षेत्रमा रहेका हिमशृंखलासँगै हिम चितुवा र नाउरजस्ता वन्यजन्तुुको दृश्यावलोकनका लागि आउने आन्तरिक र बाह्य पर्यटकको चाप रहनुका साथै सदरमुकामबाट भरिया वा खच्चडलाई बोकाएर सामग्री ढुवानी गर्नुपर्दा यस क्षेत्रमा उपभोग्य सामग्रीको मूल्य आकासिने गरेको घुन्साका व्यवसायी चुम्दाक शेर्पाको भनाइ छ । शेर्पाका अनुसार सदरमुकाम फुङलिङवाट घुन्सासम्म सामग्री पुर्याउन सिम्बा, छिरुवा, तापेथोक, लेलेप, आम्जिलेसा, ढाङग्याम, ग्याब्ला र फले हुँदै स्थलमार्गबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ ।
सदरमुकामदेखि घुन्सासम्म सामग्री लैजाँदा चामल नुन र चिनीलगायतका सामग्रीको ढुवानीभाडा प्रतिकिलो १ सय ६० रुपैयाँ तथा बियर, खानेतलेजस्ता कार्टुन र बोतलमा सिलप्याक गरिएका सामग्रीको प्रतिकिलो २ सय रुपैयाँ ढुवानीभाडा लाग्छ ।
बोतलमा प्याक गरिएका सामग्री बोक्न अप्ठेरोसँगै फुट्ने जोखिम रहने गरेकाले ढुवानी व्यवसायीको आपसी सल्लाहमा अन्य सामग्रीभन्दा महँगो भाडा निर्धारण गरिएको व्यवसायीहरू बताउँछन् ।
ताप्लेजुङको साबिक लेलेप गाविस–९ मा पर्ने घुन्सा क्षेत्रमा ६०, फलेमा ४० तथा ग्याब्ला र अम्जिलेसामा २१ घरधुरी छन् । यी सबै वस्ती कञ्चनजंघा पदमार्गमा पर्ने भएकाले अधिकांश होटल व्यवसाय सञ्चालन गर्दै छन् । होटल व्यवसाय सञ्चालन नगर्नेले पनि होमस्टेमार्फत ग्राहकलाई सेवा दिँदै आएका छन् ।
कञ्चनजंघा पदमार्ग भएर यो क्षेत्रमा असोजदेखि मंसिर तथा फागुनदेखि जेठसम्म प्रत्येक दिन सयभन्दा धेरै आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने गरेको सीमा प्रहरी चौकी घुन्साले जनाएको छ ।
बाँकी पुस र माघमा अत्यधिक जाडो तथा असारदेखि भदौसम्म वर्षाका कारण यहाँको चहलपहल शून्यजस्तै हुन्छ । कञ्जनजंघा र कुम्भकर्ण क्षेत्रमा जाने यस क्षेत्रमा कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्ले रेडपान्डा, नाउर, मृग र हिमचितुवालगायतका वन्यजन्तुको संरक्षण र स्थानीयका आयआर्जन तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संरक्षणका कार्यक्रम सञ्चालनपछि त्यस क्षेत्रमा वन्यजन्तुको संख्या वृद्धि भएकाले हेर्न आउने पर्यटकसँगै दैनिक उपभोग्या वस्तुको मूल्य वृद्धि भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार