पहिल्याउँदै घल राईहरूले कोरेको गोरेटो

राजकुमार दिक्पाल


अक्षर चिन्ने भएपछि अक्षर भएका कागजका केही टुक्रा भेटेपछि पढिहाल्ने बानीले जीवनलाई सही गोरेटोमै डोर्याएछ भन्ठान्छु । सानै उमेरमा मेरा आँखाले गन्ती गरेको अक्षर र मेरो कलिलो मस्तिष्कको आफ्नै बुताले त्यसको भाव बुझ्न प्रयत्न गरेको क्षण सम्झँदा रमाइलै लाग्छ ।
जे भेटियो त्यही पढियो । मेरो के मान्यता छ भने कागजमा जुन शब्द छापिएर आउँछन्, ती महत्वहीन हुँदैनन् । बरु तिनको महत्वको विशेषता छुट्टाछुट्टै होलान् । त्यसका सन्दर्भ बेग्लाबेग्लै हुन सक्छन् । पढ्नेले जे पनि अर्थ लगाउन सक्लान् ।
मेरा आँखा दौडिएका विभिन्न पुस्तक, पत्रिकामध्ये अहिलेको सन्दर्भमा म ‘कोङ्पी’ पत्रिकालाई सम्झिरहेको छु । त्यस पत्रिका घल राईको सम्पादन र सुखदा राईको प्रकाशनमा छापिन्थ्यो । त्यस पत्रिकाका हेडलाइनमा ‘आदिवासी जनजाति’ शब्द नै त छापिदैनथ्यो । यी शब्द त्यतिखेर प्रचलित पनि थिएनन् । पञ्चायतकालको त्यो उत्कर्षमा अघोषित रूपमा निषिद्ध यी शब्द प्रयोग सहज पनि थिएनन् । तर, आदिवासी जनजाति भन्ने भाव बोकेका ‘किरात’ जस्ता शब्द प्रयोग हुन्थे । ती शब्दको लाक्षणिकताले अर्थ लगाउनेलाई सजिलै हुन्थ्यो । मैले ‘कोङ्पी’का पानामा आँखा कुदाएको त २०३९/४० तिर हो । चार/पाँच कक्षामा पढ्थेँ ।
पछि आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्दा शोधग्रन्थ लेख्नेक्रममा एकपटक त्यस पत्रिकाका अंकहरूको खोजी गरेँ । खासगरी नेपालमा ‘आदिवासी जनजाति’ शब्द पहिलोपटक यसै पत्रिकाले प्रयोग गरेको हो भन्ने सन्दर्भमा यो पत्रिकाको खोजीलाई तीव्र बनाएँ । भाषाविद् तथा आदिवासी जनजाति आन्दोलनका अभियन्ता अमृत योञ्जनमार्फत थाहा पाएँ, यो पत्रिकाको केही अंकको संग्रह मार्टिन चौतारीसम्बद्ध अन्वेषक हर्षनारायण महर्जनसँग छ । हर्षनारायणजीले पनि सहृदयतापूर्वक मलाई ‘कोङ्पी’ को २८ वटा अंक अध्ययनार्थ सुम्पिदिनुभयो । मैले तीमध्येबाट २०३८ कात्तिकको अंकमा लिम्बुवान आन्दोलनका नेता वीर नेम्वाङले ‘आदिवासी जनजाति’ शब्दको प्रयोग गरेको फेलापारेँ । तर, त्योभन्दा अघि नै ‘आदिवासी जनजाति’ शब्द प्रयोगमा आइसकेको रहेछ । यसबारे पछि कुनै सन्दर्भमा चर्चा गरौँला ।
यसअघि ‘कोङ्पी’का सम्पादक घल राईसँग एकैपटक टेलिफोनमा वार्ता भयो । मैले स्नातकोत्तर तहको प्रथम सेमेस्टरको प्रोजेक्ट वर्क गर्दा उहाँसँग कुरा गरेको थिएँ । उहाँबाटै थाहा भयो– ‘कोङ्पी’ चलाउँदा साम्प्रदायिक हिन्दु अतिवादीहरूले उहाँको मृत्युदण्डको माग पनि गरेका रहेछन् । वीरदेउ विष्ट नामका ती अतिवादीले उहाँको मृत्युदण्डको माग गरेका हुन् ।
त्यस समय आदिवासी जनजातिको पहिचानलाई मूल उद्देश्य बनाएर पञ्चायतकालको कठिन घडीमा पत्रकारिता गर्ने घल राईसँग भेटेर लामो कुराकानी गर्ने धोको पनि मनमै सीमित हुन पुग्यो । उहाँ अहिले यो संसारमा हुनुहुन्न ।
उहाँबारे एउटा रोचक किस्सा पनि सुनेको थिएँ– सञ्चारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अभियन्ता श्यामराज राईबाट । उहाँले घल राईको किस्सा यसरी सुनाउनुभएको थियो, ‘घल राईले पत्रिका त सुरु गर्नुभयो । तर, चलाउनै मुस्किल । लखरलखर पैदल हिँड्दै विज्ञापन माग्न गयो, दिँदै नदिने । पत्याउँदै नपत्याउने । त्यसबेला मोटरसाइकल चढ्नेको ठूलो मानभाउ हुन्थ्यो । मोटरसाइकल चढ्दा पत्यारिलो भइन्थ्यो । तर, भएभरको पैसा पत्रिकामा खन्याउनुपर्दा उहाँसँग मोटरसाइकल किन्ने पैसा भएन । त्यसपछि उहाँमा एउटा उपाय फुरेछ । त्यो के भने मोटरसाइकल किन्न नसके पनि हेलमेट किन्ने । अनि एउटा हातमा हेलमेट बोकेर विज्ञापन माग्न जाने । उहाँले त्यसै गर्न थाल्नुभएछ । हेलमेट बोकेर गएपछि मोटरसाइकल चढ्न सक्ने हैसियतको रहेछ भन्ठान्न थालेछन् । अनि विज्ञापन पनि दिन थालेछन् ।’
यो घल राईको पत्रकारिता जीवनको रोचक पक्ष हो । अनि त्यत्तिकै गम्भीर पनि । यस्तो सन्दर्भ सुनाउनुहुने श्यामराज राई पनि यो संसारमा हुनुहुन्न अहिले । आदिवासी जनजातिको सवाललाई नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गराउने उहाँको संघर्षलाई यो प्रसंगमा सम्झिरहेछु ।
आदिवासी जनजातिको पहिचान र अधिकारलाई सञ्चारमाध्यममा प्रवेश गराउने प्रेरणा मलाई यसरी नै प्राप्त भयो ।
प्रमाणपत्र तहको अध्ययन सकेर कहिले विद्यार्थी राजनीति, कविता गोष्ठी र सामाजिक अभियान (किरात याक्थुङ चुम्लुङको नगरस्तरीय गतिविधि) मा सक्रिय भइरहेको बेला २०४८ मा धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत लिम्बू विद्यार्थीको तथ्यांक संकलन र लिम्बू विद्यार्थी भेला गरेको सम्झना अहिले पनि ताजा भएर आउँछ । हामीले त्यसबेला विधानमा नभए पनि चुम्लुङको क्याम्पस शाखा गठन गरेका थियौँ । त्यो पछिसम्म सक्रिय थियो । अहिले के छ सोधिखोजी गरेको छैन ।
कक्षा नौमा पढ्दाको एउटा क्षण सम्झन्छु । गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्थेँ । एक दिन खाली कक्षा थियो । रेणु मिस कक्षामा अचानक छिर्नुभयो । उहाँको कक्षा त थिएन ।
उहाँले हामीलाई सोध्न थाल्नुभयो, ‘तिमीहरूको रुचि केमा छ ?’
‘पढ्ने, पढ्ने, पढ्ने,’ धेरैले यसो भने । (पढाइको स्तर गतिलो नहुनेले पनि यसै भने ।)
मलाईचाहिँ उनीहरूभन्दा अलि फरक हुन मन लाग्यो । आठबाट कक्षा नौमा जाँदा मेरो स्थान छैटौँ थियो । यस अर्थमा म पढाइमा राम्रै थिएँ । मतिर पनि मिसको त्यही प्रश्न तेर्सियो । जवाफमा मैले भनेँ, ‘मेरो त लेख्ने रुचि छ मिस ।’
‘ल तिमी त लेखक हुने रहेछौ, पत्रकार बन्ने रहेछौ,’ मिसले प्रतिक्रिया व्यक्त गर्नुभयो ।
उहाँको बोलीमा आशीर्वाद पनि थियो कि । त्यो बेला मिसबाट व्यक्त ‘पत्रकार’ शब्द मेरा लागि कौतूहलको विषय बनेको थियो । आखिर त्यही शब्द र त्यो शब्दसँग सम्बन्धित पेसा पत्रकारिता गरेरै मैले २२ वर्षसम्म जीविका चलाएँ ।
अलि–अलि नामसँगै जीविका चलोस् भनेर म पत्रकारितातिर आएँ, २०५० देखि पूर्णकालीन रूपमा । यस पेसामा लाग्दा पाएको चुनौती, संघर्ष र रोमाञ्चकारी क्षणबारे सम्पूर्ण रूपमा यहाँ व्याख्या गर्नु असान्दर्भिक हुनेछ । कुनै बेला यसबारे विषयविस्तार गरौँला ।
यहाँ सन्दर्भ छ, आदिवासी जनजाति आन्दोलनमा सञ्चारको पक्ष र त्यसमा मेरो संलग्नता । पत्रकारिता पेसालाई अलि फराकिलो बनाउँदै अधुरो पढाइलाई पनि पूरा गर्ने सपना बोकेर म २०५८ मा काठमाडौँ खाल्डो छिरेँ । त्यसबेला सञ्चारमाध्यममा आदिवासी जनजाति बिट हेर्ने जिम्मा दिन थालिएको थियो । आफ्नो रुचि पनि त्यसै भएको हुनाले मैले अन्नपूर्णपोस्टमा दर्खास्त हालेँ । त्यस अखबारमा मेरो प्रवेश पक्का भयो ।
तर, आदिवासी जनजाति सवाल त के शब्दप्रति नै अनुदार रहेछन्, त्यसबेलाका मेरा हाकिम अर्थात् प्रमुख समाचारदाता उज्ज्वल झा । उनी मल्लकालमै भक्तपुरको एक मन्दिरमा पूजा गर्ने अख्तियार पाएका पुर्खाका सन्तान रहेछन् । उनी आफूलाई मधेसी पनि ठान्दैनथे । (एक दिन मधेसी मुद्दाप्रति संवेदनशील सहकर्मी हरि प्रतिज्ञलाई ‘त्यो मेधिसे’ भन्दै कुरा गाली गरिरहेका कारण मैले यसो भनेको हुँ ।)
उनीसँग मेरो झगडै पर्यो । तैपनि मैले आदिवासी जनजाति र दलितको विषयमा समाचार सम्प्रेषण गरिरहेँ । यस विषयप्रति पूर्वाग्राही विभागीय प्रमुख भएको बेला काम गर्नु कति असहज थियो होला ? तर, आन्तरिक संघर्ष जारी राख्दै समाचार सम्प्रेषण गरियो ।
एक दिन वाल्मीकि क्याम्पसका तीन विद्यार्थी आमरण अनशनमा बस्ने भए । रिपोर्टिङ गर्न जाँदा थाहा भयो, उनीहरूको मागमध्ये तीनधारा संस्कृत छात्रावासको सुविधा सबै जाति र लिंगका विद्यार्थीले पाउनुपर्छ । यसबारे केही कुरा बुझिसकेपछि छात्रावाससम्बन्धी नियमावली र संस्कृत विश्वविद्यालयको ऐनको खोजीमा लागेँ ।
विश्वविद्यालय ऐनमा स्पष्टसँग ‘विश्वविद्यालयको कुनै पनि सुविधा लिन कोही वञ्चित हुने छैन’ भन्ने उल्लेख भएको पाएँ । तर, निययमावलीमा चाहिँ ‘धर्मकर्म मान्ने वटुक हुनुपर्नेछ’ भन्ने पाएँ । वटुक बनेको व्रतवन्ध गरेको उपाध्याय बाहुनको छोरा हो । यस अर्थमा संस्कृत छात्रावासको सुविधा उपाध्याय बाहुनको छोराले मात्र उपभोग गर्न पाउने रहेछन्, नियमावलीअनुसार नै ।
यो विषयमा समाचार सम्प्रेषण हुनासाथ दलित गैरसरकारी संस्था महासंघले कानुनी लडाइँ लड्ने प्रतिबद्धता जनाइहाल्यो । सर्वोच्च अदालतमा मुद्दा पर्यो । सर्वोच्च अदालतले छात्रावासको सुविधा सबै जाति र लिंगका विद्यार्थीले लिन पाउनेगरी नियमावली परिवर्तन गर्न आदेश दियो ।
अहिले सबै जाति र लिंगका छात्रछात्राले छात्रावासको सुविधा लिन पाउँछन् । त्यहाँ उपाध्याय बाहुनका छोराको एकाधिकार तोडिएको छ । सामाजिक परिवर्तनको यात्रामा एउटा सञ्चारकर्मीका रूपमा तीनधारा छात्रावासको एकाधिकार तोड्न सानोतिनो भूमिका खेल्न पाएकोमा मलाई गौरव लाग्छ । प्रतिकूल परिस्थिति र आदिवासी जनजाति मामिलामा अनुदार विभागीय प्रमुख हुँदाहुँदै पनि त्यो काममा मैले सफलता पाएँ । यो रिपोर्टिङ मेरो करिअरमा सम्झनायोग्य छ ।
आदिवासी जनजातिको सवाल आफ्नो कलममार्फत मुखरित गराउनुमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) को भूमिका पनि महत्वपूर्ण छ । म काठमाडौँ आउनुअघि (२०५७) तिर म रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, धनकुटाबाट जिल्ला विकास समिति, धनकुटाले सञ्चालन गरेको कार्यक्रम ‘सामुदायिक विकास’ को कार्यक्रम उत्पादक थिएँ । त्यो कार्यक्रमको साझेदार संस्था सामुदायिक साक्षरता कार्यक्रम, नेपाल (सीएलपीएन) पनि एक साझेदारमध्ये एक थियो । कार्यक्रमको अनुगमन गर्न आउने त्यस संस्थाका कर्मचारीले एउटा बन्दखाम मेरो हातमा हालिदिन्थे । यसभित्र हुन्थ्यो, ‘नागरिक’ नामको म्यागेजिन । प्रेषक हुन्थे– चन्द्रसिंह राई । चन्द्रसिंहमार्फत स्वामित्व लिइएको अखबार हो, अहिलेको नागरिक दैनिक । चन्द्रसिंह राईज्यूको आग्रह हुन्थ्यो, ‘धनकुटामा पनि अनिजको शाखा खोल्न पर्यो ।’ उहाँकै आग्रहअनुसार श्यामराज राईको अध्यक्षतामा हामीले अनिज धनकुटा स्थापना गर्यौं। म सदस्य रहेँ ।
पछि काठमाडौँ आएपछि हाम्रै सरसल्लाहले अनिजको विशेष अधिवेशन भयो र दुई कार्यकाल त्यसको उपाध्यक्ष रहेर मैले आदिवासी जनजाति सञ्चार आन्दोलनमा आफ्नो सहभागिता जनाएँ, कार्यकारी भूमिकामा । आन्दोलनकै फलस्वरूप नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघमा आदिवासी जनजातिले एक सिट आरक्षण पायो । मैले नै त्यो सिटमा पहिलोपटक प्रतिनिधित्व गर्ने अवसर पाएँ ।
संसारभरि आदिवासी जनजाति आन्दोलन सञ्चालन भएको छ । तर, आदिवासी जनजाति सञ्चारकर्मी संगठित भएर सञ्चार आन्दोलनमा सक्रियता देखाएको नेपाल नै संसारको एउटा नमुना राष्ट्र हो । एउटा संघले मात्रै धान्न नसकेर अनिजबाट फोनिज बनाउनुपर्ने बाध्यता पनि आइलाग्यो । आदिवासी जनजातिमध्ये सक्नेले जातीय पत्रकार संघ गठन गर्ने सक्षमता देखाएका छन् । संघ अर्थात् संगठनमा कति बल हुन्छ भने बौद्ध दर्शनको विभिन्न ‘शरणम् गच्छामि’मध्ये ‘संघम् शरणम् गच्छामि’ लाई दृष्टिगत गर्दा पुग्छ । संघम् अर्थात् ‘संगठनको शरणमा जान्छु’ भन्नु हो । अहिले आदिवासी जानजाति सञ्चारकर्मी पनि संघको शरणमा गएर आफ्नो अधिकार र पहिचानको मुद्दालाई स्थापित गर्ने संगठित आन्दोलनमा छन् ।
यहाँनेर नेओली न्युम्यानको सञ्चार सिद्धान्त ‘स्पाइरल अफ् साइलेन्स’लाई जोड दिन मन लाग्छ । समाजमा बहुमत पक्ष र अल्पमत पक्ष हुन्छन् । अल्पमत पक्ष आफ्नो अस्तित्व बहुमत पक्षबाट समाप्त हुने डरले चुपचाप रहन्छन् । मौनताको शृंखला यसरी बढ्दै जान्छ, जसले कुनै दिन विस्फोटको रूप लिन सक्छ । त्यसैले सञ्चारमाध्यमले मध्यस्थ भूमिकामा बहुमत र अल्पमत पक्षको आवाजलाई उत्तिकै मुखरित गर्न पर्छ । तर, नेपाली सञ्चारमाध्यम सम्पूर्ण समाजको ‘वाच डग’ बन्नुपर्नेमा नेपाली समाजका बहुमत अर्थात् सत्ताधारी पक्षको ‘ल्याप डग’ बनिरहेको सत्य घामजस्तै छर्लंग छ । नेपाली समाजमा बहुमत (सत्ताधारी जाति) र अल्पमत (आदिवासी जाति र अन्य सीमान्तकृत) पक्षबीच द्वन्द्व चलिरहेको छ । त्यो विस्फोटनको नजिक छ । आदिवासी जनजाति पत्रकारले पनि आफ्नो भूमिकाबाट यस यथार्थलाई प्रतीक्षा गर्नुपरिरहेको छ ।
म पनि त्यही यथार्थ पर्खिरहेको हिस्साको एउटा सानो अंश हुँ । अनि घल राईहरूजस्ता अग्रजले कोरेको गोरेटो पछ्याएर यहाँसम्म आइपुगेको छु, यहाँसम्म ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार