खोटाङमा वाम गठबन्धनको विशाल भट्टराई, राजन राई र रामकुमार राई विजयी


खोटाङ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनतर्फबाट एमालेका विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी भएका छन् ।

नवनिर्वाचित भट्टराईका प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गरेकी थिइन् ।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्वसांसदसमेत रहेका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा संवत् २०२५ चैत २२ गते जन्मेका भट्टराईले ०३८ मा अनेरास्ववियु पाँचौँबाट राजनीति सुरु गरेका थिए। ०३९ मा विद्यालयमा स्ववियु सदस्य निर्वाचित उनले काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

खोटाङको प्रदेश ‘क’ मा राजन राई विजयी

जिल्लाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट एमालेका राजन राई १८ हजार ९३३ मतसहित विजयी भएका छन् ।

नवनिर्वाचित राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४११ मत ल्याएका थिए ।

०३९ देखि अनेरास्ववियू पाँचौँबाट राजनीतिक यात्रा सुरु गरेका राई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् ।

प्रदेश ‘ख’ रामकुमार राई विजयी

जिल्लाको प्रदेश ‘ख’ मा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी भएका हुन् ।

पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार काँग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक गठबन्धनका राईलाई वाम गठबन्धनका पासाङले छ६ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

०४१ देखि राजनीति सुरु गरेका पासाङ २०६४ मा भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार