‘व्यक्ति हारेर व्यवस्था जिताउने कांग्रेसी इतिहासको सजीव औजार बन्नेछु’


खोटाङ । प्रदेशसभा ‘क’ खोटाङबाट निर्वाचित वाम गठबन्धनका राजन राईलाई बधाइ दिँदै लोकतान्त्रिक गठबन्धन उम्मेदवार सुवासकुमार पोखरेलले व्यक्ति हारेर पनि व्यवस्था जिताउने कांग्रेसी पुख्र्यौली इतिहासको सजीव औजार बन्ने दाबी गरेका छन् ।

‘यस क्षणमा खोटाङबाट प्रथम हुने मेरा प्रिय प्रतिस्पर्धी राजन राईलगायत जनप्रतिनिधि सबैलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ नेता पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘जितको उन्मादले आतंकको अपसंस्कृति नजन्माओस्, हारको मारले राजनीतिमा निराशा नछाओस् । हामी सचेत बनौं । यो त केवल प्रजातान्त्रिक प्रक्रियामात्र हो । जसले जनमतको मापन गराउँछ । यो मापन एकपटकका लागि हो । काँग्रेस र काँग्रेससम्बद्धले यसैका लागि ६९ वर्षदेखि तपस्या गर्दै आएको छ ।’

लोकतन्त्रको मझेरी लोकतन्त्रविरोधीका लागि समेत प्रिय लाग्नु कांग्रेसजनका लागि सबैभन्दा खुसीको क्षण हो । ‘हाम्रा लागि विजय भन्नु पनि यही हो । हाम्रा लागि यो हजारौं मत मनहरुको योग हो,’ उनले खुसी व्यक्त गरे, ‘हामीप्रति जनताको यो अपार मायालाई सल्योट र सम्मान गर्दछु । फरक विचार राख्ने ती मनहरु हामी खोटाङ निर्माणका लागि जोड्न चाहन्छौं ।’

जनतासँग जिस्कने, जनताको मन तोड्नेविरुद्ध आफूले सधैं खबरदारी गर्ने उनको भनाइ छ । यसले प्रजातान्त्रिक संस्कृतिको नयाँ युग थालनीका लागि एउटा इँटाको काम गर्न सकोस् । ‘लोकतन्त्रको पाठशालामा हामी सबै सँगै छौं । चुनाव हार र जितको लडाइँ हैन । यो त प्रतिस्पर्धा गर्ने जनताको मञ्च हो,’ उनले थपे, ‘काँग्रेस हारेको छैन, प्रतिस्पर्धामा पछि परेको हो । पहिलो हुनेले सत्ता चलाउँछ पछि पर्नेले जनता चलाउँछ । जित्नेले सत्ता र भत्ता पाउँछ, पछि पर्नेले फेरि जनतामा गएर ममता र आस्था जगाउँछ ।’

काँग्रेस महासमिति सदस्यसमेत रहेका नेता पोखरेलले आफू र आफूसम्बद्ध पार्टी कांग्रेसलाई मतदान गर्ने मतदाता र खोटाङवासी जनसमुदायलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका छन् । उनले निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, पत्रकार, राजनीतिक दल र प्राणको बाजी राखेर महिनौंसम्म अहोरात्र काम गर्ने नेता र कार्यकर्ताले पुर्याएको सकारात्मक योगदानको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार