लघुकथा समाज नेपालबाट राई सम्मानित

सयन्द्र राई

काठमाडौं । लघुकथा समाज नेपालले सांस्कृतिक अभियन्ता वीरबहादुर राईलाई सम्मान गरेको छ । ‘आजका लघुकथा’ प्रकाशनका लागि आर्थिक सहयोग पुर्याएको भन्दै समाजले राईलाई कदरपत्रसहित सम्मान गरेको हो ।

लघुकथा समाज नेपाल अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केही गर्न खोज्नेका लागि दिलोज्यानले सहयोग पुर्याउने समाजसेवी राईको सराहना गरेका थिए । नेपाली लघुकथा उन्नयनमा ‘आजका लघुकथा’ एक मानक कृति हो । यस्तो पवित्र काममा सहयोग पुर्याएकोमा उनीप्रति लघुकथा समाज नेपाल सधैं कृतज्ञ छौं भन्दै रोदनले धन्यवाद ज्ञापन गरे ।

सम्मान ग्रहण गर्दै रूपाकोट–मझुवागढी नगरपालिका–६ दिक्तेल खोटाङका राईले लघुकथा उन्नयनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । भलिबल खेलाडीका रूपमा परिचित उनी खोटाङमा खेलकुद, सडक निर्माण, शिक्षालगायत विविध क्षेत्रमा सक्रिय छन् ।

सम्मान कार्यक्रममा सिन्धु गौतम, श्रीराम राई, त्रिभुवनचन्द्र वाग्ले, शुषमा मानन्धर, सुमन सौरभ, तुलसीहरि कोइराला, र ध्रुव मधुकर्मीले लघुकथा वाचन गरेका थिए । समालोचक डा. लक्ष्मणप्रसाद गौतमले वाचित लघुकथाबारेस टिप्पणी गरेका थिए । डा. गौतमका अनुसार, अन्यभन्दा पुस्तक प्रकाशनार्थ सहयोग जीवन्त हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार