शुभको शुभकार्य : संगीत र नेतृत्वविकासलाई जीवनसँग जोड्दै

मान्सुङ चाम्लिङ

संवत् २०५१ मा खोटाङ जिल्लाको हालको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटारमा जन्मिएका शुभ मान्सुङ युवा पुस्तामा परिचित हुँदै गरेको नाम हो । राजनीतिक पारिवारिक पृष्ठभूमिमा जन्मिएका शुभ, आफू जन्मिएर हुर्कंदै गर्दा नेपालमा जनयुद्धको उद्घोष भएको थियो । आपा कुवेर राई साबिक दुर्छिम गाविसमा २०४८ को स्थानीय चुनावमा प्रथमपटक निर्विरोध उपाध्यक्षमा निर्वाचित तथा दोस्रो २०५४ को स्थानीय चुनावमा एमालेबाट अध्यक्ष पदमा अत्यधिक मतले विजय भएका थिए । यसैकारण पनि पारिवारिक पृष्ठभूमि राजनीतिसँग जोडिएको छ । जनयुद्धसँगै संकटकाल सुरु भएपश्चात् तत्कालीन नेकपा माओवादीका खोटाङ जिल्ला पार्टी इन्चार्ज क. हिरण्य पटकपटक गाउँघरमा आउने तथा पार्टीमा हिँड्न प्रेरित गर्दै युवाहरूलाई सम्झाएको देख्दा आफूलाई जान मन लागेको बताउँछन् । प्रायः माओवादीका जुनसुकै कार्यकर्ता गाउँमा आएमा कुवेर राईको घरमै वास बस्ने साथै रातभर सेन्ट्री कोही बस्ने, काममा सघाउने, जे पाक्यो त्यही खाने, जनवादी गीत गाउने गर्थे । यसले उनी पनि पढाइ छाडेर हिँड्न मन लागेको तथा कक्षा ७ मा अध्ययन गर्दागर्दै कलाकार टोलीसँग १३ वर्षको उमेरमा भूमिगत रूपमा माओवादी पार्टीमा हिँडेका थिए । भुमिगत हुँदाको पार्टीको नाम “आदेश” हाल पनि पार्टीमा सोही

नामले परिचित छन् ।
घरको काँइलो दाइ झलक राई ‘विशाल’, सेनामा भूमिगत भएसँगै उनी भने कलाकार टोलीमा पे्ररित भएको बताए । केटाकेटी भएर होला रमाइलै हुन्थ्यो, सैद्धान्तिकभन्दा पनि तत्कालीन समयले लोभ्याएर माओवादी कलाकार टिममा हिँडेका थिए । कैले जंगलको वास, कैले भोकै, कैले रातभरि अनिदो हिँड्दा पनि खुसी नै भएको उनले जनयुद्धको अनुभव सुनाए । खोटाङलाई समेटिनेगरी सांगठिक रूपमा पार्टीको लालकिरात जनसाँस्कृतिक परिवारमा रहेर पार्टीको सदस्यका रूपमा उनले योगदान गरेका थिए । उक्त समयमा कलाकारितालाई चुस्त बनाउन तथा त्यस क्षेत्रमा कलाको तालिम दिन समयसमयमा विज्ञ कलाकारहरू पनि आउँथे । गायक रूपकुमार राई, मणि पौड्यालसँगको बसाइ र सिकाइ अझै बिर्सेका छैनन् ।

देशमा शान्ति कायमपश्चात् राजनीतिक माहोल नयाँ शिराबाट सुरु भएसँगै संगीतलाई थप मजबुत बनाउन २०६४ सालदेखि २०६७ सालसम्म आस्था कला केन्द्रमा महाराजगन्ज काठमाडौंमा भोकल तालिम लिए । डक्टर किरात, कन्काइस्ट राई र रूपकुमार राईलाई गुरु मानेर संगीतलाई माझ्ने काम गरे ।
यसैगरी, २०७० सालमा भारतको इलाहवादबाट म्युजिक प्लस कोर्स पूरा गरेको शुभको “जिन्दगी” नामक गीतिएल्बम सार्वजनिक भइसकेको छ । हिजोआज म्युजिक भिडियो गर्ने तयारीमा छन् । नारायण गोपाल, बच्चु कैलाशबाट प्रभावित मान्सुङ भारतीय गायक जगजित सिंह मन पर्ने बताउँछन् । जीवनको हरेक पलमा संगीत आवश्यक पर्ने हुनाले संगीतलाई निरन्तरता दिने बताउँछन् । पार्टीमा लाग्दा कक्षा ७ मा विद्यालय छोडेका उनी शान्ति प्रक्रियासँगै सिधै प्रवेशिका परीक्षाका लागि भए । दोस्रो श्रेणीमा पास भई कक्षा ११ र १२ तथा स्नातक तहसम्म ब्रिलियन्ट बहुमुखी क्याम्पस चाबहिलबाट तथा हाल स्नातकोत्तर तह दोस्रो वर्षमा मानविकी क्याम्पस प्रदर्शनीमार्गमा अंग्रेजी साहित्यमा अध्ययन गर्दै छन् । यसको साथै राजनीतिलाई सँगै लगिरहेका छन् । उनी माओवादी केन्द्र जिल्ला समिति सदस्य हुन् ।
‘सृजना आफैंमा सृष्टि पनि हो । मान्छे जन्मिछ, अर्को मान्छे पनि जन्मिन्छ । मान्छेलाई अर्को मान्छे जन्मियो भनेर तुलना गर्न मिल्दैन,’ ,’ शुभले सुनाए, ‘संगीत हृदयको अनुभूति हो । चिच्याएर आवाज निकाल्दैमा राम्रो गीत हुँदैन । गीत राम्रो हुन जिन्दगी जीवनसँग जोडिएको हुनुपर्छ । तर पनि सबै गीत सृजना हो । सृजनालाई राम्रो वा नराम्रो आफंैमा हुँदैन । त्यो हेराइको दृष्टि र भावनामा भर पर्छ ।’
कलाकारको अधिकार संविधानमा स्थापित गर्ने आन्दोलनक्रममा गायक शम्भु राईले एक अन्तर्वार्तामा भन्नु भएको थियो, हरेक व्यक्ति, समाज र हरेक क्षणमा कलाकार र संगीत चाहिने तर तिनै कलाकारलाई किन राज्य र राजनीतिक दलले उपेक्षा गर्दै छन् । यसकारण कम्तीमा कला क्षेत्रमा लागेका तथा यसलाई विधाका रूपमा प्रयोग गर्ने सबै निकायले जसमा एफएम, टीभीलगायत सबैबाट एक महिना संगीत नबजाऔं त ! संगीतविनाको देश, समाज कस्तो हुँदोरहेछ । परीक्षण पनि गरी हेरौं । तर, संगीतमा लागेका कलाकार नै एक हुन नसक्दा त्यो आन्दालनले मूर्त रूपमा लिन सकेन । हालसम्म पनि कलाकारलाई राज्यले पहिचान दिन सकेको छैन । आफूलाई खुसी लाग्दा त्यही संगीत सुन्ने, पिरमर्कामा पर्दा त्यही संगीत सुन्ने, मन शान्त पार्न पनि संगीत सुन्ने तर त्यही संगीत गर्ने संगीतकार, गीतकार, गायक को हो भनेर थाहा नपाउने हाम्रो मनस्थिति कस्तो छ ? यो विडम्बना हो । कुनै कलाकार राष्ट्रिय कलाकारका रूपमा स्थापित भएको छ र उसले कला क्षेत्रमा मात्र पेसा अँगालेको छ भने उसलाई कात्रो किन्ने पैसा हुँदैन । उनै कलाकारको सन्तान सामान्य विद्यालयमा जान सक्दैन, कोठाभाडा तिर्न सक्दैन ।

मानव समाजको विकाससँगै उसले आफूलाई हरेक वस्तुहरूको आपूर्ति गर्दै २१औं शताब्दीमा आइपुगेको छ । सर्वप्रथमत गाँस, वास र कपासको आवश्यकता महसुस गर्ने मानव समुदाय क्रमिक रूपमा आफ्ना आवश्यकता स्वस्फुर्त रूपमा बढ्छन् । अर्थशास्त्रको निमयअनुसार मानवीय आवश्यकता असीमित र असंख्य छन् । जति आवश्यकता पूर्ति हुँदै जान्छ सोहीअनुसार अर्को आवश्यकता बढ्दै जान्छ । गायक शुभ भन्छन्, ‘मानवजीवनमा, मानव समाजमा मानवले सँगाल्दै आएको संगीत, कला पनि एक हो । संगीत त्यस्तो परिवेशमा स्वीकार गरिन्न, जहाँ त्यस्तो स्वीकार गर्ने कुनै स्थान नै छैन । यसकारण संगीतको भावनमा मानव समाज केही क्षणभर पनि बस्न सक्दैन ।’ केटाकेटी, युवा, बूढापाका सबै संगीतमा मोहित हुन्छन् । फरक यतिमात्र हो, उमेर र भौगोलिक, सामाजिक विविधताअनुसार फरक–फरक संगीत रुचाइन्छन् ।

‘संगीत आफैंमा अथाह सागर हो । जहाँ रम्न नसक्ने कुनै संसार छैन,’ उनले थपे, ‘संगीतलाई माया नगर्ने व्यक्ति हुनै सक्दैन । जो संगीतविना जीवन पूर्ण मान्न सक्छ । फरक यतिमात्र हो, कला सृजना गर्नेले संगीत कलाको सृजना गर्छ । उनीहरूलाई कलाकारको नामले चिनिन्छ । त्यसको मज्जा कलाकारले भन्दा श्रोताले लिन्छन् ।’ आजको विश्व समाजमा कुनै कलाकार त्यस्तो जन्म्यो, जो उसले आफूले सृजनाको गरेको संगीत कलाले आत्महत्या गरेको सुनेको पाइँदैन । तर कलाकारले सृजना गरेको कला संगीतले धेरै मानिसले आत्महत्या गरेका छन् । यसकारण सृजना भावनात्मक, संवेदनशील, आक्रामक, ईष्र्यालु सबै प्रकारका हुन्छन् । संगीतले सज्जन मानिसलाई पागल बनाउँछ, पागललाई सज्जन बनाउँछ ।

मानवीय जीवनमा जन्मदा, विवाह हुँदा, मर्दामात्र होइन हरेक जीवनमा गरिने क्रियाकलापसँग खुसी, हाँसो, रोदनसँग संगीत जोडिएको हुन्छ । संगीतविनाको संसार कल्पना पनि गर्न सकिन्न । यतिमात्र होइन, जनयुद्धकालमा कलाकारले ठूलो भूमिका निर्वाध रूपमा खेलेको पाइन्छ । समाजलाई संगीतले प्रभाव पार्ने, संवेदना दिने जुझारु योद्धा निर्माण गर्ने यावत् काम संगीतबाटै भएको थियो । सोहीअनुरूप उनी पनि संगीतमार्फत जनयुद्धमा लागेका हुन् । त्यहींबाट आफ्नो योगदान परिवर्तनका लागि दिन सफल भए । राज्य र संसार या त सांगीतिक माहोलले तताएको हुन्छ, या राजनीतिले । यसकारण सकिन्छ सबै युवा तथा मानव समुदायले राजनीति गर्नुपर्छ, सकिँदैन बुझ्नुपर्छ । यसकारण मानव जीवनको असीमित आवश्यकता पूरा गर्न नसके पनि अर्थपूर्ण जीवन जिउन, समयको परिवर्तनसँगै २१औं शताब्दीको मागसँग युवालाई शिक्षा, संगीत र राजनीतिलाई एकीकृत गर्दै जीवनको सुनौलो भविष्यतिर लम्कन सफल मान्सुङ र सफल बाटोको सुरुवात गरेको हुनाले सच्चा मानवको अर्थपूर्ण जीवनतिर लम्किरहेको पाइन्छ । स्मरण रहोस् समयलाई व्यवस्थापन गर्नुमात्र चुनौती हो अन्यथा राजनीति, संगीत, शिक्षा र अन्य पेसासँगै लैजान सकिन्छ । यो नै सफल व्यक्तिको पहिचानका निम्ति मूलबाटोको सुरुवात हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार